शाश्वत शर्मा-
राट्रभक्तहरु क्रमश... 'निराश' हुँदै जाँदोछन्। एक समयमा खासगरी पूर्वराजा र केही राजावादीहरु सक्रिय हुँदा उत्साहित राष्ट्रभक्तहरु पुनः निराश हुन थालेका हुन्। सतही र देखिने राजनीतिलाई मात्र बुझ्ने बहुसंख्यक नेपाली जनतामा हिजोको व्यवस्था नै ठिक थियो भन्ने भावना पलाउँदा पलाउँदै पनि हालका दिनहरुमा राष्ट्र र राष्ट्रियताका लागि केही पनि कामहरु नभइरहेका बेलामा निराशा उत्पन्न हुनु स्वभाविक पनि हो। एकथरि भन्छन्– पूर्वराजा देशाटनमा निस्कदा मात्र पनि हामी राष्ट्रभक्तहरुमा उर्जाको सञ्चार हुन्छ। पूर्वराजाले केही बिोलिदिदामात्र पनि अव त मुलुक बाँच्ला कि भन्ने आशा जागेर आउँछ। अरु त अरु, हालै खप्तड क्षेत्रको भ्रमण गरेर फर्केका पूर्वयुवराज पारशले त्यहाँका स्थानीयवासीहरुसँग गरेको सम्वाद, अनि राष्ट्र र राष्ट्रवासीहरुप्रतिको आफ्नो सोच, आफ्ना मित्र एवम् सहयोगीहरुमार्फत सार्वजनिक गरिदिदा राष्ट्रभक्तहरुमा थप खुशीयाली सञ्चार भएको थियो। तर अहिलेसम्म कुरा मात्र ज्यादा भयो। नतिजा केही पनि देखिएन, बुझिने गरी। मुलुक झन झन अधोगतितिर जाँदो छ। सच्याउने प्रयासहरु अझै सुरु भएका छैनन्।
कांग्रेसका सभापति शेरबहादुर देउवाले 'संविधान सच्याउनुपर्छ' भन्ने अनि उता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले 'संविधान कार्यान्वयन नहुने खतरा बढ्दै गएको छ, संविधान कार्यान्वयन नभए ०४६ साल पूर्वकै अवस्थामा पुगिन्छ भनेका कुराले रनभुल्लमा परेका नेपालीहरु अव के हुन्छ त? भन्ने मा नै घुमिरहेका छन्। एकथरि अवको एकवर्षमा केही न केही राजनीतिक परिवर्तन हुन्छ भन्ने ज्योतिषको भविष्यवाणीबारे चर्चा गरिरहेका छन् भने अर्काथरि चैं देशको चिन्ता गर्ने पूर्वराजा यसरी बोलेर, लुकेर बसेर पनि हुन्छ, जनतासमक्ष खुलेर आउनुपर्यो नि राजधानीका सडकमा भन्दै असन्तुष्टि पोखिरहेका देखिन्छन्। असन्तुष्टिको संवोधन हुनसकेको छैन।
२०६२–६३ को जनआन्दोलनपछि दिशाहीन बनेको मुलुक गतवर्षको असोज ३ मा नयाँ संविधान जारी गरिएपछि झन अन्यौलग्रस्त बन्न पुगेको छ। कार्यान्वयन नै नहुने पनि संविधान हुन्छ र? यसैवीच वर्तमान ओली नेतृत्वको बहुमतीय सरकारको भविष्य बारे चर्चा चुलिदो छ। बजेट पास हुने बित्तिकै सरकार परिवर्तन हुनुपर्छ भन्ने आवाज फेरि उठ्न थालेका छन्। ओली अभद्रतामा उत्रिएपछि माओवादीमात्र किन भद्र सहमति च्यापेर बस्ने? अर्थात प्रचण्ड कुद्ध छन् र सरकार परिवर्तनका लागि कांग्रेस र माओवादी एमालेलाई पछार्ने रणनीति बनाउन थालेका छन्।
पुराना सम्पूर्ण संरचनाहरु भत्काएर बनाइएको नयाँ नेपालबाट अव नेपालीहरु झन झन निसास्सिदै छन्। तर पनि जाने बाटो कता हो? लक्ष्य के हो? र नेतृत्व कसले लिने हो? त्यो नै स्पष्ट छैन। पूर्वराजाको दौडादौड केका लागि थियो र भइरहेको छ? भन्ने नै राम्रोसँग बुझाउन सकिएको छैन। उता राजा र हिन्दूधर्मलाई भजाएर सत्ता सुख प्राप्त गरिरहेको राप्रपा नेपाल धन्यवादका पात्र हुन् कि आलोचनाका? त्यो पनि बुझ्न र बुझाउन सकिएको छैन। अर्थात् सबैतिरबाट मुलुक अस्तव्यस्त छ। गणतन्त्रवादीहरु अन्यौलमा, राजतन्त्र र हिन्दूवादी पनि अन्यौलमा, संघीयता र परिवर्तनवादीहरु पनि अन्यौलमा छन्। संविधान निकास नबनेर संकट बन्दै गएपछि संविधान निर्माताहरुले नै यो संविधानलाई फालेर हिड्नुपर्ने वातावरण बनिसकेको छ। मुलुक नै नबच्ने हो कि भन्ने आतंक फैलिन थालिसकेको छ।
सत्तासीनहरु स्थानीय र संसदको चुनाव गर्नुपर्छ भनेर घोषणा गर्न पुगेका छन्। मधेसी र जनजातीय २८ दलको संघीय मोर्चा खुलामञ्चमा सत्याग्रह गरिरहेको छ। नामांकन, सिमांकनको काम बाँकी नै छ। अर्थात संविधान जारी भएपछि मुलुक झन ठूलो संक्रमणमा फस्न पुगेको छ। हिसाव नै गर्ने हो भने स्थानीय, प्रान्तीय, संसद, राष्ट्रियसभा र राष्ट्रपतिको चुनाव गर्न चानचुन डेढवर्षको समय बाँकी छ। राजनीतिक बहस, बिबादको माखेसांग्लो झन बढी कस्सिएर जाँदो छ। बाधा पाइलैपिच्छे छन् र बाधा हटाउने ताकत सत्तालोलुपहरुमा देखिदैन। अचम्म छ, राजतन्त्र र हिन्दूधर्मलाई मास्न एक हुनेहरु हतारमा जारी गरेको संविधानले सिर्जना गरेका संकटहरु सुलह गरेर गणतन्त्र संस्थागत गर्न सकिरहेका छैनन्। गणतन्त्रका नाममा नेतातन्त्र चलाउनेहरुले हुँदै नभएको गणतन्त्र कसरी संस्थागत गर्ने र?
बेला यही हो, कथित गणतन्त्रवादीहरुले घोषणा गरेको निरंकूश, भागबण्डातन्त्रको भण्डाफोर गर्ने। यही हो समय, यो गणतन्त्र नाम दिइएको भाँडतन्त्रलाई यथार्थ लोकतान्त्रिक अभ्यासबाट विस्थापित गर्ने। त्यसका लागि सबै देशभक्तहरु देखिने गरी अगाडि आउनुपर्छ। जनताको अपेक्षा, देशको आवश्यकता र आफ्नो देशभक्ति देखाउन अव लुकेर हुँदैन, खुलेरै आउनुपर्छ। पार्टीमय भइसकेको राष्ट्रलाई नेपालमय बनाउने इच्छाशक्ति र हौसला छ भने जनता साथ दिन तैयार छन्, निराश हुन थालेका जनतालाई हौसला दिने बेला यही हो। देश बचाउने बेला यही हो।