Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

म भ्रष्टाचार गर्दिन“, गर्न दिन्न कति मीठो भाषण

२८ मंगलबार , श्रावण २०८२६ दिन अगाडि

म भ्रष्टाचार गर्दिन“, गर्न दिन्न
कति मीठो भाषण

हाम्रा नेताहरू किन मीठो मह दलेको भाषण गर्छन्, भाषणअनुसारको व्यवहार देखाउँदैनन् ? प्रधानमन्त्रीले पटक पटक भनेकै हुन्, शपथ खाएकै हुन् – म भ्रष्टाचार गर्दिन, गर्न दिन्न । गरेको देखेँभने टिपेर फालिदिन्छु । म देशका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु । यति भनिसकेपछि प्रधानमन्त्री चोखा छन्, सशक्त छन् । समृद्ध नेपाल, सुखी नेपालीका लागि प्रतिवद्ध छन् । यसमा शंका गर्नु जरूरी छैन ।
प्रधानमन्त्रीको सचिवालदेखि गाउँपालिकासम्मकै ७ सय ६१ सरकारहरूका कार्यालयका ढोकामा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने साइनबोर्ड झुण्ड्याएको देखिन्छ । यो साइनबोर्डले दुई तिहाइको सरकार प्रमुखलाई गिज्याइरहेको जस्तो लाग्छ । किनकि भ्रष्टाचार व्याप्त छ । प्रधानमन्त्रीले सल्लाहकार नराख्नु भन्दा मन्त्रीस्तरको निर्णय भन्दै उपसचिवस्तरका पचासौं सल्लाहकार नियुक्त भएका छन्, दलाली गर्दैछन् । यतिसम्म कि मन्त्रीका सल्लाहकारसमेत हाकिम बनेर कमिशन आउने फाइल सदर गर्न थालेछन् । 
हरेक कार्यालयका ढोका–ढोकामा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने साइनबोर्ड झुण्डिएका छन् तर हरेक फाइलमा कमिशनको लेनदेन भइरहेको छ । टेबुलमुनीबाट घूस दिने र लिनेको चक्कर चलिरहेकै छ । प्रधानमन्त्रीलाई यो सब भ्रष्टाचारी क्रियाकलापको जानकारी छ, के गर्नु– न नियमन हुन्छ, न नियन्त्रण गर्न सकिन्छ । जे भइरहेको छ, भइरहोस्, तैं चूप, मै चूपको स्थिति देशभरि रहेको छ । भ्रष्टाचार निरन्तर भइरहेकै छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन नपुगेका एकाध खुजुरामुजुरा मुद्दाहरू अख्तियारले दायर गरेका छन् । त्यसबाट पनि थाहा हुन्छ, भ्रष्टाचारको बढोत्तरी भएको छ । लोकतन्त्र आएको १८ वर्षमा सबैभन्दा बढी गत आर्थिक वर्षमा भ्रष्टाचार मुद्दा दर्ता भएछन् । जब कि ठूला ठूला मुद्दाहरू सेटिङमा मिलाउने गरिएको छ । कारवाही नगण्य भएका छन् ।
अख्तियार प्रमुखमाथि नै उजुरी परेको छ । कसले गर्ने छानबिन ? अख्तियार कार्यपालिकाको अंगजस्तो भयो भन्ने आरोप पनि लागेको छ । मूल मुद्दामा अख्तियार मौन बस्ने गर्छ । अख्तियार भन्छ– सक्रियता बढेको छ, भ्रष्टाचार बढेको छ, मुद्दा बढेका छन्  । यो सुशासनको द्योतक होइन । कर्मचारीबर्ग जे शपथ खान्छन्, पालना गर्दैनन् । पालना नगर्ने शपथको के अर्थ रह्यो र ? देश भ्रष्टाचारमय बनेको छ । सत्य यही हो । जतिसुकै लुकाए पनि फोहर गनाउँछ, भ्रष्टाचारको गन्ध फैलिएको छ ।
अख्तियारका अनुसार अकुत सम्पत्ति, घूस, नक्कली सर्टिफिकेट, आर्थिक अनियमिततालगायतको मुद्दा विशेष अदालतमा दर्ता भएका छन् । अचम्म त के छ भने अख्तियारका आयुक्त पाठक नै अकुत सम्पत्तिमा मुछिए, प्रमुख आयुक्तमाथि नै उजुरी पर्नु र छानबिन नहुनु आश्चर्य हो ।  भ्रष्टाचारमा नमुछिएका कुन पदासीन छन् ? यतिबेला अख्तियारमा कार्यरत समेत रंगेहात मुछिएका घटना भएका छन् ।
अख्तियारमा स्वच्छता छैन भने अन्त कसरी सुशासन हुन्छ ? अख्तियार सुधार गरिरहेको छैन । अख्तियार कमजोर हुनु व्यभिचार बढ्नु हो । अख्तियारले मुद्दा कमजोर बनाएर पेश गर्ने गरेको आरोप छ । अख्तियारको ‘अनुचित कार्य’माथि अनुसन्धान गर्ने क्षेत्राधिकार कटौती किन भयो ? भ्रष्टाचारका मुद्दामा अख्तियारले कारबाही गर्न नसक्दा धेरै उजुरी अलपत्र छन् । के काम लाग्यो म भ्रष्टाचार गर्दिन, गर्न दिन्न भन्ने भाषण ?