स्वयम्भुनाथ कार्की- सामान्यतया राजनैतिक दलहरुलाई जनताले आफ्नो अधिकार उपभोग तथा कर्तव्य निर्वाहनको औजार भनेर मान्ने गरिन्छ। अझ बहुदलीय व्यवस्थामा त जनताको यो काम राम्रोसँग गर्ने अनि जनताप्रति उत्तरदायित्व निर्वाहनको प्रतिस्पर्धा हुन्छ भन्ने मान्यता राखिन्छ। तर यो मान्यता केवल विभिन्न विचारधारा स्विकार गर्ने पद्धतिको निमित्त मात्र हो। केही समयदेखि छलफलमा आउने गरेको बहुलवाद र बहुदलको आधारभूत भिन्नता पनि यसैमा रहेको छ। जव आस्था वा सिद्धान्त भन्दा दलहरुमा व्यक्तिपुजा सुरु हुनथाल्छ तव बहुलवादको अन्त्य र केवल बहुदलको मात्र बर्चश्व हुन थाल्छ। दलको आधारभूत सिद्धान्त गौण हुन थाल्छ। समयको माँगको बहानामा दलहरु जोडिन वा तोडिन लाग्दछन्। अनि यो कुरा गर्ने नेतालाई यो सैद्धान्तिक विचलन हो कि हैन भन्ने प्रश्न हुँदैन त्यहाँ नै बहुलवादको मृत्यु हुन्छ र तानाशाहको विजारोपण हुन्छ। उदाहरणको निमित्त नाजीको सर्वमान्य नेता हिटलर, फासिष्टको पुज्य नेता मुसोलिनी कै नाम पर्याप्त हुन्छ।
क्याडरवेस' दल एक पटक सदस्यता लिए पछि सजिलै छोड्न नमिल्ने किसिमको दल हो। 'नोट अफ डिसेन्ट' भनिने गरेको राय बझाउने पद्धति यस्तै दलहरुको हो जहाँ कुनै निर्णय सर्वसम्मत मात्र हुन्छ, चित्त नबुझे राय बझाउने सुविधा दिईएको हुन्छ। जो कि विद्रोह जन्माएर दल विभाजनमा कि आत्मसमर्पणमा समाप्त हुने गर्दछ। कुनै पनि हालतमा दलभित्र वैचारिक विविधता कायम रहन सक्दैन। जति वेलासम्म रहन्छ गुटवन्दी रहने गर्दछ। यस्ता गुटहरुको संघर्ष 'प्रेम र युद्धमा सबै उचित छ' शैलीको हुने गर्दछ। बिना मनभेदको मतभेद यहाँ संभव नै हुन सक्दैन। यस्ता मनभेदको उपचार रक्तरंजित भएका उदाहरण पनि इतिहासमा छरपष्ट छन। 'मासवेस' भनेर कुनै वर्ग समूहको प्रतिनिधित्व गर्ने दलमा यस्तो सर्वसम्मत सम्भव छैन, न कुनै नेताको व्यक्तिपूजा सम्भव छ। त्यसैले 'मासवेस' दलहरुको नेतृत्व यस्तै 'क्याडरवेस'को आकर्षणमा जाँदैछ। त्यसैले धेरै दलहरुमा बैठक कुनै पर्व जस्तै हुन थालेको छ, त्यो पनि 'जुठो', 'सुतक' आदिले थुनिने किसिमको पर्व।
जव सम्पूर्ण जनतलाई कुनै न कुनै दलमा आवद्ध हुनैपर्ने वातावरण पैदा हुन्छ त्यसवेला जति नै ठूलो स्वरले फलाके पनि जनताको अधिकार कुन्ठित नै रहन्छ। दलहरु जनताको अधिकार उपयोग गर्ने हतियार नरहेर जनताको अधिकारको ठेकादार बन्न पुग्छन्। आफ्नो सर्वोच्चता र सार्वभौम अधिकार दलहरुले प्रयोग गरेको टुलुटुलु हेर्न बाहेक अर्को विकल्प रहदैन। केवल मतदान मात्र जनताको प्रजातान्त्रिक अधिकार हो भन्ने व्याख्या हुन थाल्छ। अनि विस्तारै पोलपोट, ईदिअमिन, चाउचेस्कु अवतरित हुन थाल्दछन्। वर्तमानमा नेपाल यही अवस्था भोग्दैछ। खाका स्पष्ट छैन, रुप पनि स्पष्ट छैन तर पोलपोट, ईदिअमिन हुनसक्ने कच्चा पदार्थहरु प्रचुर मात्रामा देखिदैछन्। जनताको कोखबाट जन्मेका यस्ता तानाशाहको मलजलको निमित्त हमेशा इतिहासलाई गाली गर्नु र त्यसलाई नकार्नु हुन्छ।
नेपाली मनले न कुनै 'क्याडरवेस' दल खोजेको छ , न 'मासवेस' नै। यस्ता दलहरुको कमीकमजोरी औल्याउने वित्तिकै आफुलाई गद्धार भनिने छ भन्ने थाहा छ। 'तँ फलानो समुदायको भएर फलानोको विरोध गर्ने, तँ गद्धार होस्' भन्ने कुरा नेपाली समाजमा देखिन थालेका छन्। यो कुरा कुनै वर्ग विषेशमा, कुनै समुदाय विषेशमा वा कुनै जाति विषेशमा मात्र सिमित छैन। सबैमा कुनै न कुनै यस्ता स्वघोषित मालिक पैदा भएका छन् जो आफ्नो कुरा नमान्नेलाई मध्ययूगिन बर्बर प्रथाले जस्तै जातीच्यूत, वर्गच्यूत गर्न पछि पर्दैनन्। हुक्कापानी बन्द गर्ने यस्तो प्रचलनलाई विश्वले कुप्रथा मानिसकेको अवस्थामा पनि यसैको डर देखाएर आफ्नो वर्चश्व सावित गर्ने यस्ता 'क्याडरवेस', 'मासवेस' समूहहरु अव नेपालीका हुन सक्दैनन्। नेपालीलाई चाहिएको छ आस्था आधारित, सिद्धान्त आधारित राजनैतिक समूह। समूहले आफ्नो आस्था सिद्धान्त कतिमात्रामा बोकेको छ त्यो निर्णय त्यो दलले हैन कि जनताले गरेर छान्ने हो।
नेपालीको दुर्भाग्य कि अहिलेसम्म यस्तो कुनै दल अस्तित्वमा आउन सकेको छैन। कुनैले कसैले आफु यस्तो हुँ भन्ने देखाउन खोजे पनि अलिकति मौका पाउने वित्तिकै उ पनि आफ्नो मतदाताहरु माथि, आफ्ना सदस्यहरु माथि स्वामित्व जनाउन नै खोज्दछ। यसरी बारंवार विश्वास गुमाउन पुगेका दलहरुलाई जनता आफ्नो अधिकारको निमित्त हैन त्यो दलले पुर्याउन सक्ने आफ्नो व्यक्तिगत फाईदा हेरेर मत दिन वाध्य छन्। घोर निराशामा अरु केही नभए अलिकति व्यक्तिगत लाभ नै भए पनि लिन जनता पछि पर्न चाहादैन। जनता संघर्ष गर्न तैयार छ, तर त्यो संघर्षले स्थापना हुने विकल्पले भरोसा दिन सकेको छैन। हरेक आन्दोलनमा साथ दिएर जनताले धेरै अभ्यास गरिसके, स्थायित्वले पैदा हुनसक्ने समृद्धि र सुखको बलिदान दिइसक्यो। विगतका आधा शताव्दि भरि अनगिन्ती आन्दोलन गरिसक्यो तर कुनैको पनि सुरक्षित अवतरण हुन सकेन। के यस्तोमा जनताको अधिकारको उपभोक्ता हैन जनतालाई अधिकार उपभोग गराउन तैयार आस्था आधारित दलहरु निक्लेलान? दल आस्था सिद्धान्तको निमित्त हो व्यक्तिपुजाको निमित्त हैन भन्ने कुरा कसैको मगजमा पस्ला?