
प्रेम सागर पौडेल--------------
हामी नेपाली हौं, हाम्रो गौरव इतिहास हो, हाम्रो अस्तित्व सम्पदा हो। यो लुट्न, जलाउन, मास्न पाइँदैन । नेपाल हजारौं वर्षको सभ्यता बोकेको देश हो। यहाँका मन्दिर, दरबार, गुम्बा, पुराना इँटा र पत्थरहरूले हामीलाई हाम्रो इतिहास सम्झाउँछन्। सिंहदरबार र सर्वोच्च अदालत ती सम्पदाहरूमध्ये केवल दुई हुन्। ती भवनहरू ईँटाको संरचना मात्र होइनन् – ती राष्ट्रिय अस्तित्वका प्रतीक हुन्। तर आज, जब यी ऐतिहासिक धरोहरहरू जलेका छन् ।
जेनजेड, तपाईंहरु राष्ट्रका एक जिम्मेवार युवा हो। तपाईंहरुले अनेक नेताहरूको अकर्मण्यता, भ्रष्टाचार र विफलतामाथि प्रहार गर्दै जनताको पक्षमा आवाज उठाउँदै आउनुभयो। जो जायज थियो। तपाईंहरुले भन्नुभयो – ‘केपी ओलीले राष्ट्रको ढुकुटीमा ब्रह्मलूट गरे, त्यसको हिसाब किताब गरिन्छ।’ साच्चै, ती भ्रष्ट नेताहरूले देशलाई लुटे। बर्बाद गरे र गर्दैथिए। तर अब प्रश्न तपाईंहरुप्रति पनि छ – तपाईंहरुको नेतृत्वमा सिंहदरबार, राष्ट्रपति भवन अर्थात शितलनिवास र सर्वोच्च अदालत लगायत जले, जुन दुःखद छन् ।
सिंहदरबार र शितलनिवास नेपालको प्रशासनिक इतिहासको मुटु हो। एकसय वर्षभन्दा पुरानो यी संरचना नेपालको आधुनिक शासन प्रणालीको साक्षी हो। त्यसैगरी सर्वोच्च अदालत – न्यायका लागि हजारौं नेपाली जनताले आशाको दृष्टिले हेर्ने संस्था। यी दुई भवन जलेपछि तपाईं भन्न सक्नुहुन्न हामी अनभिज्ञ थियौं ? प्रश्न उठ्छ – सुरक्षा संयन्त्र कहाँ थियो ? यसरी जलेर खरानी हुनुलाई केवल संयोग मान्ने कि नियोजित ?
यदि आज तपाईं चुप बस्नुहुन्छ भने, भोलि भत्काइने पालो वसन्तपुर दरबार, हनुमानढोका, कृष्ण मन्दिर, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको पनि हुनसक्छ। चेत रहोस् ।
जब भ्रष्टाचारका विरुद्ध तपाईंहरुले आन्दोलन गर्नुभयो, देशभरिबाट समर्थन पनि पाउनुभयो। तर तपाईंहरुको नेतृत्वमा सरकारले राष्ट्रिय सम्पदामाथि यति ठूलो प्रहार गर्न दिँदा – जनताले तपाईंलाई छुट दिने कि जवाफ माग्ने ? यदि केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा लगायतले राज्यकोष लुट्दा त्यो अपराध हो भने, सिंहदरबार र सर्वोच्च अदालत जल्दा ?
आज जुन रूपमा राष्ट्रिय सम्पदाहरू नष्ट हुँदै छन्, त्यो केवल वास्तुकलाको विनाश होइन, त्यो नेपाली पहिचानको समाप्ति हो। यस्तै गतिविधिहरूबाट सिक्किम भारतमा गाभियो। जनताको आवाज दबाइयो, पहिचान मासियो, अनि इतिहासलाई फरक तरिकाले लेखियो। जको नेपाल त्यही बाटोतर्फ नलागोस् । विचार गरौं ।
जब राज्यका प्रतीकहरू जलाइन्छन्, जब इतिहासलाई अनावश्यक भनिन्छ, जब राष्ट्रको आत्मा हटाइन्छ, अनि जनतालाई नचिनेका संरचना र शैलीमा बस्न बाध्य पारिन्छ, त्यो देश बिस्तारै बिस्तारै अलग्गै देश बन्छ। यसबारेमा चेत रहोस् ।
नेपालको सम्पदा जलाउँदा त्यो केवल संरचना हराउँदैन, त्यसको साथमा हराउँछ एक पुस्ताको इतिहास। राष्ट्रहरूको पतन आक्रमणले भन्दा पनि भित्रबाट सुरु भएको यस्तै क्रियाकलापले हुन्छ। जेनजी, तपाईंहरुले के ती सम्पदालाई ‘बाँकी नेपालले बुझ्न सक्दैन’ भनेर जलाउन दिइयो ? वा तिनलाई हटाएर कुनै ‘नयाँ नेपाल’को सपना देखाउँदै हुनुहुन्छ ? नयाँ नेपाल बनाउने नाममा पुरानो नेपालको आत्मा जलाएर मात्र सम्भव छैन भन्ने ज्ञात रहोस् ।
हिजो भ्रष्ट नेताहरूले जनताको सम्पत्ति लुटे। यस्तो दोहोरिनु हुँदैन ।
तपाईंहरु जनताको भावना हुनुहुन्छ भने, तपाईंहरुको पहिलो धर्म जनतालाई जवाफ दिनु हो। सिंहदरबार जल्दा तपाईंले केवल ुदुर्भाग्यपूर्णु भनिरहनु हुँदैन, तपाईंहरुले भन्नुपर्छ, हामी यसको सम्पूर्ण जिम्मेवारी लिन्छौं । तपाईंहरुले त्यसको अनुसन्धान गर्नुहोस्। दोषीलाई कारवाही गर्नुहोस्। यदि तपाईंहरु स्वयं जिम्मेवार हुनुहुन्छ भने – जनताको अगाडि स्पष्ट हुनुस्। किनभने जनताले तपाईंहरुलाई विश्वास गरेर साथ दिएका थिए। अब त्यही जनता तपाईंहरुलाई हेरेर भन्छन्–अब तपाईंहरुको पालो हो जवाफ दिने।
सिंहदरबार, सर्वोच्च अदालत र अन्य सम्पदाहरू जलाउनु केवल आगोको ताप होइन, त्यो हामी नेपालीको मुटु जल्ने पीडा हो। यसको अन्त्य चुप लागेर हेरिरहने जनताले गर्दैनन्। हामी सोध्नेछौं, लेख्नेछौं, किनभने यो केवल हाम्रो सम्पत्ति होइन, यो हाम्रो अस्तित्व हो।
जेन–जेड, तपाईंहरु आफैँले नेताहरूलाई कटघरा उभ्याउने हिम्मत देखाउनु भयो, आज तपाईंहरुलाई पनि त्यो कटघरामा उभिनुपर्ने समय आएको छ। तपाईंहरुले जवाफ दिनु पर्छ– सिंहदरबार, शितलनिवास किन जल्यो ? संसद भवन, सर्वोच्च अदालत किन खरानी बन्यो ?