धर्मरत्न श्रेष्ठ- प्रचण्डले पटक पटक एमालेका यी तीन शीर्ष नेतालाई सडकबाट बोकेर प्रधानमन्त्री बनाए, तर तिनै जनाले प्रचण्डलाई धोका दिए। दुई स्थानबाट चुनाव हारेका माधवकुमार नेपाललाई मनोनित सभासद बनाएर प्रधानमन्त्री प्रचण्डले बनाए। तिनै प्रचण्डले आमहड्ताल गरेर माधव नेपालको सरकार ढाल्नुपर्यो। त्यसपछि झलनाथ खनाल, जसलाई बिना पिँधका लोटा भनिन्छ, प्रचण्डकै सहयोग र समर्थनमा प्रधानमन्त्री बने, उनले पनि प्रचण्डलाई गुणको बदला गुण तिर्न सकेनन्। किनकि १७ पटकसम्म रामचन्द्रसँग लडेर प्रचण्ड कायल भए, एमालेले उनलाई समर्थन गरेको थिएन। त्यतिबेला प्रचण्डले झलनाथ खनालको चयन गरेर सरकार गठन गराए। अहिलेका प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डकै पार्टीको समर्थनमा प्रधानमन्त्री बनाउने काम भएको हो। तर ओलीले आफैले गरेको भद्र सहमति तोडे, अभद्रता देखाए र प्रचण्डलाई कांग्रेससँग मिलेर अघि बढ्न बाध्य पारे। कम्युनिष्ट केन्द्र बनाउन हिडेका प्रचण्डलाई धोका दिएर ओलीले कम्युनिष्ट एकता असम्भव बनाइदिएका छन्।
राजनीतिमा जे पनि हुनेरहेछ। आफ्नै टाउकाको मोल तेाक्ने शेरवहादुर देउवाले हाँकेको कांग्रेससँग हातेमालो गरेर प्रचण्ड सरकार बनाउन अघि सरेका छन्। सबैभन्दा ठूलो समस्या यिनै तीन एमाले बनेका छन्। सहजरुपमा राजीनामा दिएर पद खाली गर्नुपर्ने ओली र उनको नेतृत्वको एमाले प्रचण्डको सम्भाबनालाई जसरी पनि खारेज गराउन उद्दत भएको देखिएको छ।
सत्ताको खिचातानीसम्म त ठिकै हो तर ओली र सिंगो एमालेले प्रचण्डलाई भारतको गोटी, दलाल भनेर प्रचार गर्दै ओलीभन्दा महान राष्ट्रवादी अरु छैनन् भनेर असार मसान्तका दिन ठूलै हल्लाखल्लासमेत गराउन पुगेका छन्।यसरी एमाले पटक पटक माओवादीको सहयोग लिने र प्रचण्डलाई धोका दिने पार्टीका रुपमा चिनियो। लाग्छ, एमालेको आफ्नै बुता र बल केही छैन।