Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ओली: दुस्साहसको तहसम्मका सहासी

०३ सोमबार , श्रावण २०७३९ बर्ष अगाडि

स्वयम्भूनाथ कार्की - जीवनको उत्तरार्धमा सत्ताको नेतृत्व गरेका खड्गप्रसाद ओली बहुदल यताका सबैभन्दा साहासी प्रधानमन्त्री देखिए। उनको इतिहास जेजस्तो भए पनि यसवेला उनले बहुदलका अन्य प्रधानमन्त्री भन्दा ज्यादा राष्ट्रप्रेम देखाए। हुनत उनको यो राष्ट्रप्रेम प्रकट गर्ने क्रममा केटाकेटीपन नदेखिएको हैन, तैपनि ४६ यता भएका प्रधानमन्त्री भन्दा ज्यादा राष्ट्रवादी देखिए। यसको अर्थ उनका सबै कामहरुले राष्ट्रवादको नै पक्ष लिएको छ भन्ने भने होईन। केही कामले मधेश र पहाड बीच विभाजनको रेखा कोर्‍यो, यो उनको व्यक्तित्वमा लागेको सबैभन्दा ठूलो दाग हो।

अवका संभावित प्रधामन्त्रीहरुमा पहिलेको अनुभव पनि छ। उनीहरुको क्षमता, सोच सबै जनताले बुझेका छन्। उनीहरु जति कार्य कुशल भए वा नभए पनि राष्ट्रप्रेमको तत्व भने देखिएको छैन। ४६ पछिका सबै सरकारहरुले जनतालाई मौरी ठानेका छन्। जसरी मौरीले मेहेनत गरेर जम्मा गरेको मह काढेर घार खाली गरिन्छ त्यसै गरेर जनताको मेहेनत काढेका छन्। यो कुरा गोप्य पनि छैन, पहिलेको उनीहरुको आर्थिक अवस्था सम्झना भएकाहरुले अहिलेको अवस्थासंग दाँजेर हेरे हुन्छ। कतै यस्तो चमत्कारिक सम्पन्नता आउन कतै खाल्टो पर्नै पर्छ। यसको पुष्टि वर्तमानमा जनताको अवस्था अनि धनी र गरिव बीचको खाडलको चौडाई हेरे पुग्छ।

यसको विपरित ओलीको राष्ट्रवादी चिन्तन विस्तारै परिष्किृत हुँदै गएको छ। उनमा राजा महेन्द्रको झल्को देख्नेहरु पनि छन्। राजा महेन्द्र राष्ट्रवादका शिखर चिन्तक र अभियन्ता थिए भन्ने कुरा अहिले सबैले मानेका छन्। हो कोही खुलेर भन्छन, कोही लुकेर सिमित व्यक्तिहरु सामु मात्र। शिक्षक, कर्मचारी आदिले राजनीति गर्ने होईन सम्पुर्ण क्षमताले आफ्नो काम गर्ने हो भन्ने कुरा अहिले आएर ओलीले बुझेका छन्। बुझेका मात्र होईन प्रकट पनि गरेका छन्, यो दुस्साहसको हदसम्मको सहास हो।

सम्पूर्ण नेपाल एक हो भन्ने कुरा ओलीले बुझ्दै गएका छन्। यसै गरेर उनी सम्पूर्ण नेपाली पनि एक हुन र वरावरका हुन भन्ने कुरा केही समयमा बुझ्ने थिए भन्ने आश गर्न सकिन्छ। बुझ्ने मात्र होईन यो स्थापना गर्न काम पनि गर्ने थिए भन्ने सोचलाई उनले प्रकट गरेको दृढताले बल पुगेको छ। बहुदल र गणतन्त्रले मुलुक बाहिर पुर्‍याएको चावी फिर्ता ल्याउने आशा राष्ट्रवादीहरुमा जगाएका पनि छन्। वल्ल उनको सहासले नेपालको केही भलो गर्छ कि जस्तो देखिएको वेला सरकार परिवर्तनको कुरा आएको छ।

नेपालमा अचम्मका धेरै कुरा भईसकेका छन। कामचलाउ प्रधानमन्त्रीले लामो समय 'काम चलाएको' नेपालीले भोगी सकेका छन्। संक्रमणकालमा संविधान संसोधन गर्न नहुने भन्ने संविधानको भाव बुझ्न कुनै कानुनवेत्ता हुनै पर्दैन। संविधानको भाग ३३ (संक्रमणकालिन व्यवस्था) अन्तरगत रहेको धारा ३०५ नै प्रयाप्त छ। केवल संक्रमणकालमा (२०७४ माघ ७ सम्म) मात्र प्रयोग हुने बाधा अड्काउ फुकाउने अधिकार संविधान संसोधनको सट्टामा प्रयोग गर्न व्यवस्था भएको हो। तैपनि संविधान संसोधन गरेर शुरुमै यसलाई घाईते बनाई सकिएको छ।

यदी यसलाई आवश्यकताको सिद्धान्त मान्ने हो भने मुलुक नै विघठन होला कि जस्तो अवस्थामा त्यो जोगाउन गरिने हरेक काम पनि आवश्यकताको सिद्धान्त भित्र पर्दछन्। मुलुक जोगाउन भन्दा ज्यादा आवश्यकता अरु केही हुन्छ भनेर कसैले भन्छ भने कुनै धक नमानी त्यसलाई राष्ट्रद्रोही भने हुन्छ। राष्ट्र र जनता भन्दा अन्य कुरा नै ठूलो मान्नेहरु कसरी राष्ट्रप्रेमी हुन सक्छन्? विधी विधान, नियम कानुन जस्ता कुरा मुलुक भन्दा ठूला हुनै सक्दैनन्। यी सबै मुलुक र जनताको निमित्त हुन, मुलुक र जनता यीनका निमित्त हैनन। यो सत्य उद्घाटन गरेवापत भोग्नुपर्ने कुनै पनि परिस्थिति वा सजाय एक राष्ट्रवादीको निमित्त डरको हैन प्रेरणाको कारण हुन्छ।

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर देखाएको राष्ट्रप्रेम यदी नाटक हैन भने उनले अव दुस्साहस देखाउनै पर्दछ। मधेस र पहाड बीच बढदै गरेको फाटो सम्याउनै पर्दछ। किनभने यही भौगोलिक अनि जातिय विविधता नै सम्पुर्ण नेपाल हो। मुलुकाको माया गर्नेहरु सबैलाई एकस्थानमा ल्याउनै पर्दछ। राजा लगायत सबैसंग सहकार्य गरेर मुलुक बचाउन सकेनन् भने त्यो राष्ट्रप्रेम अभिनयमात्र हुनेछ। ओलीले साहस गरे भने सम्पूर्ण राष्ट्रप्रेमीको साथ उनले पाउने छन्। जे भए पनि नेपाली जनता केही अपवाद छोडेर राष्ट्रवादी छन् जो ओलीको साहसको पर्खाईमा छन्।