
नेपाल अहिले यस्तो मोडमा आइपुगेको छ, जहाँ सत्ता, विपक्ष, र विचारधारा सबै एकठाउँमा धुम्मिएका छन्। बाँचिरहेको छ केवल एउटा साँचो प्रतिपक्ष, जनता। राजनीतिक दल, संगठन, मोर्चा वा संघसंस्था जुनसुकै नाममा चले पनि, स्वार्थ, विदेशी प्रभाव, र सत्ता लोभको घेराभित्र ती सबै एउटै अनुहारका रुपान्तरण हुन्।
प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच शितल निवासमा भइरहेको छलफल यही सत्यको प्रमाण हो। विघटित प्रतिनिधि सभाका प्रतिनिधि र सबै दलका नेताहरू भेला भएर आसन्न मध्यावधि चुनावबारे छलफल गरिरहेका छन्, तर त्यो छलफल जनताको भविष्यका लागि होइन, आफ्नो अस्तित्व जोगाउनका लागि हो। फागुन २१ मा हुने भनिएको निर्वाचन एक राजनीतिक नाटक मात्र देखिन्छ, जहाँ भूमिकाहरू फेरिएका छन्, तर स्क्रिप्ट उही पुरानो छ।
जेनजेड आन्दोलनले जनताको मौनता भङ्ग गर्यो। त्यसपछि प्रतिनिधि सभा विघटन भयो, नयाँ सत्ता संयोजन भयो, तर जनता फेरि बाहिरै रहिरहे। जनताका माग र नेताका मनबीच अब कुनै सम्बन्ध बाँकी छैन। जनताले देश खोजिरहेका छन्, नेताहरू पद र स्वार्थ। यही कारण नेपाल आज “रानो हराएको मौरी” जस्तो दिशाविहीन बनेको छः आवाज छ, तर उद्देश्य हराएको।
यो चरित्रगत पतन केवल वर्तमान दलहरूको कारण होइन। यो दशकोंदेखि भइरहेको राष्ट्रिय अस्मिताको क्षयको परिणाम हो। जब देशको राजनीतिमा विदेशी निर्देश, स्वार्थका ठेक्का र व्यक्तिकेन्द्रित सत्ता संस्कृतिको बोलबाला हुन्छ, तब राष्ट्रको आत्मा नै कमजोर हुन्छ। आज त्यो अवस्था नेपालमा चरममा पुगेको छ।
पश्चिमी सोच, भारतीय नीति र विदेशी लगाममा बाँधिएका पात्रहरूले नेपालको राजनीतिक मेरुदण्ड भाँचिदिएका छन्। माओवादी आन्दोलनको नाममा जनतालाई जुन देशभक्ति र क्रान्तिकारी भावनाबाट उठाइएको थियो, त्यसलाई योजनाबद्धरूपमा विखण्डन गरियो। जनताको आक्रोश र प्रतिरोधबाट डराएर प्रचण्ड समूहले मोहन वैद्य ‘किरण’ समूहलाई छुट्यायो, ताकि असली क्रान्तिकारी स्वर विष्फोट हुन नपाओस्। त्यसपछि जब त्यो ढोंग पर्दाफास हुन थाल्यो, योजनाबद्ध रूपमा नेत्र विक्रम चन्द ‘विप्लव’ समूहलाई फुटाइयो। जब त्यो पनि निष्प्रभावी बनाइयो, धर्मेन्द्र बास्तोला समूह छुट्याइयो, नाटकको नयाँ दृश्य जस्तै। यसरी एकपछि अर्को फुट मार्फत देशभक्त जनताको मनबाट क्रान्तिकारी भावना र राष्ट्रिय निष्ठा क्रमशः सिथिल पारियो।
विदेशी शक्तिहरूले यो प्रक्रियालाई नियाल्दै आफ्नो स्वार्थअनुसार नेतृत्व छनोट गर्दै गए। पश्चिमीले नेपालमा आफ्नो रणनीतिक प्रभाव विस्तार गर्नका लागि सधैं यस्तो नेतृत्व खोज्यो, जो कमजोर होस्, तर आदेशपालक। यही सन्दर्भमा पुष्पकमल दाहाल, शुशील कोइराला, शेरबहादुर देउवा र माधवकुमार नेपालजस्ता पात्रहरूलाई प्रयोग गरियो। उनीहरू नीतिबाट होइन, निर्भरता र निर्देशनबाट चले। जब परिस्थिति नियन्त्रणभन्दा बाहिर गयो, अनि जनता विकल्प खोज्न थाले, तब केपी शर्मा ओलीजस्तो आत्मनिर्णय गर्ने र विदेशी दबाब अस्वीकार गर्ने पात्रलाई अस्थायी रूपमा स्विकार गरियो र प्रधानमन्त्रीका लागि मानियो किनकि त्यसबेला उनीहरूसँग अर्को विकल्प थिएन।
तर अहिलेको भू–राजनीतिक खेल अझ जटिल हुँदैछ। पश्चिमी रणनीति नेपालमा सफल हुनका लागि दुईवटा अवस्था चाहिन्छ, भारत कमजोर हुनुपर्छ, वा भारतले नेपालमा पश्चिमी स्वार्थलाई पूर्णतः आत्मसात गर्नुपर्छ। यही सन्दर्भमा नेपाललाई परीक्षण भूमि बनाइँदैछ। देशका प्रायः सबै दल र नेताहरू अब एउटै शक्ति केन्द्रका प्यादाहरू बनेका छन्, जसको साझा लक्ष्य नेपाली भू–भागलाई चीनविरोधी भू–राजनीतिक पिँजडामा प्रयोग गर्नु हो।
राजा ज्ञानेन्द्र अहिले नेपालभित्र देखिएका अन्तिम प्रतिपक्षी पात्र हुन्, जो स्पष्ट रूपमा विदेशी दबाब र सेरेमोनियल भूमिकाको विरोधमा उभिएका छन्। उनले खुलेरै भनेका छन्, “म मरेपनि सेरेमोनियल हुँदिन, देशसँग घात गर्दिन।” यस्तो अडान नै उनको देशभक्ति हो, र यही कारण उनी अब पश्चिमी शक्तिहरूको अर्को टार्गेट बन्नसक्छन्।
राजनीतिका बाँकी सबै पात्रहरू, जति फरक–फरक रुप र नारामा प्रस्तुत भए पनि, एउटै बाह्य निर्देशनमा नाचिरहेका छन्। देशभित्र अहिले चलिरहेको सबै नाटकको अन्तिम उद्देश्य एउटै छ, नेपाललाई चीनविरोधी सिमानामा उभ्याउने र त्यसको माध्यमबाट दक्षिण एशियामा पश्चिमी प्रभाव सुदृढ पार्ने। तर भौगोलिक, सांस्कृतिक र भाषिक यथार्थ यस्तो छ कि नेपालमा हुने कुनै पनि देशविरोधी गतिविधिको ९५ प्रतिशत असर भारतमा र ५ प्रतिशत मात्र चीनमा पुग्छ। यही तथ्य पश्चिमीलाई पनि थाहा छ, र त्यसैले नेपाल अहिले प्रयोगशालाको रूपमा प्रयोग भइरहेको छ, जहाँ प्रयोग सफल भए भारत स्वचालित रूपमा नियन्त्रणमा आउनेछ। अफगानिस्तानको घटनाले यो सूत्र प्रमाणित गरिसकेको छ।
नेपालको वर्तमान समस्या केवल आन्तरिक नैतिकताको ह्रास होइन, राष्ट्रिय अस्तित्वकै संकट हो। सत्तामा रहेका सबै पात्र, विपक्षमा रहेका सबै मोर्चा, र विदेशी प्रभावमा फसेका सबै संरचना, सबै एउटै दिशा तिर तानिएका छन्। यो परिस्थिति त्यति बेलामात्र बदलिन्छ जब जनता जाग्छन्, जब देशभक्त शक्तिहरू पुनः एकजुट हुन्छन्, र जब राष्ट्रप्रेमले पुनः राजनीतिक मूलधारलाई प्रतिस्थापन गर्छ।
अबको लडाइँ पदको होइन, देशको पहिचानको हो। देशको आत्मा बचाउने यो अन्तिम क्षणमा नेपालीहरूले बुझ्नुपर्छ, देशभन्दा माथि कोही छैन, र राष्ट्रप्रेमभन्दा ठूलो धर्म पनि छैन। जतिसुकै स्यालहरू परिचालन गरिए पनि, जतिसुकै भ्रम फैलाइए पनि, जागृत जनता भने अब कहिल्यै परनिर्भर नहुने राष्ट्रिय स्वाधीनताको लडाइँ लड्नु पर्नेछ। नेपालको भविष्य अब विदेशी टेबलमा होइन, नेपाली मनभित्रबाट लेखिँनुपर्छ।