पूर्वराजाले जानेनन्, यिनलाई पालैपालो सत्ताको अफर गरेको भए, आफै लडेर सिद्धिने रहेछन्। त्यो विद्रोही माओवादीको पनि एक दुई माग पूरा गरिदिएर सिंहदरवारभित्र हुलिदिएको भए ज्ञानेन्द्र शाहलाई हाइसन्चो, सुनमा सुगन्ध हुनेरहेछ। के गर्ने? अघि राँडीले जानिन, पछि राँडीले मानिन, बाघ लाग्यो घिच्याउन, राँडी लागि चिच्याउन। यही लोकोक्तिजस्तो भयो मुलुकको स्थिति परिस्थिति।
अहिले चलिरहेको सत्तको लडाईलाई देखेर लज्जित सच्चा बुद्धिजीवीहरु यस्तै विचार व्यक्त गर्दैछन्। हुन पनि सत्ताको लागि पार्टी पार्टीका वीच मात्रै होइन, एउटै पार्टी अनि सिद्धान्त एउटै भएकाहरुवीच पनि, सत्ताको चरम तानातान चलिरहेको छ। एमालेभित्र ओली गूट भर्सेज झलनाथ र माधव नेपालको जुहारी नै चलेको छ। त्यस्तैगरेर कांग्रेसमा देउवा भर्सेस रामचन्द्र, सुजाताहरुको लडाई झन चर्को देखिन्छ। माओवादीभित्र त्यस्तै छ। माओवादी केन्द्र र विप्लव माओवादीको घोरघमासन आरोप प्रत्यारोप सुनिन्छ भने एमाले र माओवादीभित्र त महाभारत नै भइरहेको छ। मधेसी मोर्चाका उपेन्द्र यादव र संघीय लोकतान्त्रिकका गच्छदारवीच पनि स्थिति असामान्य भइसकेको छ। कारण देशहित र जनहित होइन, सिंहदरवारमा त्यो बस्नेभो, म बस्न नपाउने भएँ। यत्ति हो कारण।
सत्ताको बागडोर सम्हालेका र एमाले पार्टी अध्यक्ष केपी ओली विरुद्ध त झलनाथ र माधव नेपालले गुटकरण गरेको संसदमै आरोप लगाए। ओलीका विशेष सहयोगी वामदेव गौतमले प्रचण्डको खुलेर प्रशंसा गरे। अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा संसदभित्र जे देखियो, सुनियो, यसबाट विभिन्न पार्टीका नेताहरुले सिद्धान्तमाथि, मान्यतामाथि बलात्कार त गरे गरे, लोकलज्जाको सीमा नाघेर उभिएको देखियो। मानौं, अव संसदभित्र वैचारिक मतभेद छैन, सत्ता राजनीतिको नाङ्गो चलखेलमात्र बाँकी छ। सबैभन्दा बढी अप्रिय उवाल झलनाथ र माधव नेपालले देखाए। आफूलाई राष्ट्रपति नबनाएर आफू निकटकी विद्या भण्डारीलाई राष्ट्रपति बनाएको झोंक फेरे झलनाथ खनालले। अनि दक्षिणको इच्छाविपरित खोक्रो राष्ट्रवादी पल्टिएकोमा ओलीको धुवाँधार बिरोध गरे माधवकुमार नेपालले। जसजसले संसदमा बोले, सबैले आत्मप्रचार बढी गरे।
असरल्ल मुलुकलाई कसरी सम्हाल्ने, अस्थिर अवस्थालाई कसरी स्थिर पार्ने र सहमतिको निकास पहिल्याएर भूकम्पको विपतपूर्ण स्थितिबाट कसरी उकासिने भन्ने चिन्ता र चासो कुनै नेताले पनि देखाएनन्। सबै सत्ताको वरिपरि, छताछुल्ल आक्रोस पोखेर मपाईंवादमात्र देखाए। कसैमा पनि राष्ट्रवाद पटक्कै देखिएन।
एमालेले नौटंकी नै देखायो। कांग्रेसका अमरेशकुमार सिंहले डाक्टरको हवाला दिएर केपी ओलीको मानसिक अवस्था ठिक नभएको टिप्पणी गरेपछि शीर्ष नेता कोही प्रतिवादमा निस्केनन् तर ओलीपक्षधर युवाहरु सडकमा निस्केर अमरेशकुमारलाई देश निकाला गर्नुपर्छ भन्ने नारा लगाए। अध्यक्ष ओलीले कस्ता कार्यकर्ता तैयार गरेका रहेछन्, नेतृत्वतह कुन स्तरको रहेछ, प्रष्ट भएन र?
जेहोस्, राष्ट्रिय सहमतिको नाममा गठन हुने बहुमतीय प्रचण्ड नेतृत्वको सरकारको गठनपछि मुलुक अझ अस्तव्यस्त, अराजक हुनेमा शंका नगरे पनि हुन्छ। किनकि मुलुकमा के गर्ने भन्ने एजेन्डा नै स्पष्ट छैन। सत्ता हत्याउनेमात्र लालसामा बनेको सरकारले गरोस् पनि के? हेर्दैगए हुन्छ– हनिमुन पिरियडसम्म पनि माओवादी कांग्रेसको मिलाप हम्मे हम्मेमा बित्नेछ। कांग्रेसभित्रको द्वन्द्व चर्को छ। बाधा अड्काउ फुकाएर सरकार त बन्ला, विमतिमा बनेको ठूला दुई पार्टीको (९ महिने) अस्थायी गठबन्धन बलियो भएर हिड्छ भन्नु गलत हुनेछ। राष्ट्रपति एमालेबाट, प्रधानमन्त्री र सभामुख माओवादीबाट र ठूलो पार्टी कांग्रेसवीच तिक्तताको भण्डार नै भएकाले समन्वय र सद्भावको कल्पना पनि गर्न सकिन्न।
बेला यही हो मुलुक बचाउने मार्ग खोल्ने। अर्काका लागि धेरैपटक सडकमा उत्रियौं, अव आफ्नो मुलुक, पहिचान र अस्तित्वका लागि एकपटक उत्रिनै पर्ने भयो। ताते बाँच्यौं, सेलाए सिद्धियौं, आमनागरिकमा
चेतना भया।