
राज्यदमनले राजनीति धुवैंधुवामय भएको छ । राजनीतिक प्रदूषण यसरी बढेको छ कि यसमा विदेशलाई दोष दिएर यी तीन नेताले फुर्सद पाउँदैनन् ।
भदौ २३ र २४ गते कांग्रेस, एमालेको सरकारले बालबालिकामाथि गोली हानेर हत्या गरेकै हो । ७५ भन्दा बढी जेनजी पुस्ताले ज्यान गुमाए, दशैं तिहार भन्न पाएनन् । यो राज्य दमनप्रति विश्वले चीलका आँखाले हेरिरहेको छ, जिम्मेवारी लिन कोही तैयार छैनन् ।
यस्तो पनि लोकतन्त्र हुन्छ ?
१० वर्षे जनयुद्ध लड्ने प्रचण्ड पनि भ्रष्टाचारमा मुछिएका छन् । उनले देखाएको सपना पूरा गरिदिएका भए, आज जेनजी पुस्ता सडकमा आउनुपर्ने थिएन । उनी पनि ३ पटक प्रधानमन्त्री बने, सत्तामै रमाए । समाजवादी देउवा ५ पल्ट प्रधानमन्त्री बने, अझै सत्ताकै सपना देखिरहेका थिए । एमालेका ओली राजनीति मैले जानेको छु भन्थे, ४ पल्ट प्रधानमन्त्री बने, बालबालिकाको रगत पिएर कलंकिन हुनपुगे ।
यी तीन नेता ३७ वर्षदेखि नेपाली राजनीतिमा छाएका नेता हुन् । आलोपालो सत्तालाई उखु चुसेझैं चुस्ने नेता हुन् । तर राजनीतिक र सांसारिक जीवनको उत्तराद्र्धमा आएर कलंकिन हुनपुगे ।
तीन शीर्ष नेताका कारण देश रक्तकुण्ड बन्यो । राजनीति अपराधले बदनाम भयो । सुशासन रहेन, कानुनव्यवस्थामा अपराधिकरण गर्ने यिनै हुन् । यिनकै कारण देश शोकमा छ, देशैभरि पीडा छाएको छ । समाजमा असन्तुष्टि थियो, बालबालिकाको मृत्युले देश अशान्त बन्नपुगेको छ । यस्तो विषादपूर्ण स्थितिमा पनि यी नेताहरू जेनजी पुस्तालाई गिज्याइरहेका सुनिन्छन् । जुन दुर्भाग्यजनक हो । किनकि आफ्नो राजनीतिक जीवनमा कालो पोतिएको, नागरिकमा आफूप्रति घृणा फैलिएको यिनले चाल पाएर पनि बुझ पचाएका छन् ।
राजनीति शास्त्रमा यिनीहरू लज्जाहीन नेता हुनपुगेका छन् ।
खुशवन्त सिंहले भनेकै थिए– राजनीति बेश्यागिरिभन्दा निर्घिनी छ ।
पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजी पुस्ताले छाने, उनी प्रधानमन्त्री छिन् । उनले जेनजीको सपथ खाइनन्, संविधानको सपथ खाइन्, यसकारण जेनजी पुस्ताको जीत खोसियो । यिनै तीन षडयन्त्रकारीको फन्दामा राजनीति पुग्यो । यिनले अझै भन्न सकेनन्– हामी असफल भयौं, हामीले जनअपेक्षा पूरा गर्न सकेनौं, क्षमा माग्छौं । क्षमा मागेर जेनजी पुस्तालाई कर्तव्य पूरा गर्ने शिरोभारो सुम्पेको भए यी नेताको मनमा हरि रहेछ भन्ने देखिन्थ्यो । यो त सर्पको मुखमा परेको भ्यागुताले पुतली खान खोजेजस्तो भयो ।
समाज बिथोलिएको छ । शासन प्रशासन, कानुनव्यवस्था सबै लथालिङ्ग छ । भ्रष्टाचारीको के हुने, दमन र विध्वंशकारीलाई के गर्ने ? जाँचबुझ गरेर रिपोर्ट तैयार गर्ने कि घातकहरूलाई दण्डित गर्ने कि, चुनाव गराउने वातावरण मिलाउने ? सरकारमाथि दायित्व धेरै छ, अन्योल बढेको छ । ठूला पार्टी र यी तीन नेता आफू कसरी कारवाहीबाट बच्ने उपाय खोजिरहेका देखिन्छन् । जेनजी पुस्ता र आमनागरिक तत्काल कारवाही खोजिरहेका छन् । सरकार के गर्ने नगर्ने, अन्यौलमा देखिन्छ ।
बिध्वंशको जिम्मा कसले लिने भन्ने प्रश्नभन्दा पनि देशमा कसरी स्थिरता र सुस्थिरता कायम गर्ने भन्ने अहं सवाल उठेको छ । यथार्थमा जसरी गत चैत १५ गते सरकारले आन्दोलनकारीमाथि षडयन्त्र गरेको थियो, त्यस्तै षडयन्त्र बिध्वंशमा राजयले, पार्टीले गरेका छन् । मनोबल बढाउनु छ, अराजकता रोक्नुछ । यसका लागि यी तीन नेताले मार्ग प्रशस्त गरे भने त्यो सम्भव छ । परीक्षा यी तीन नेताको छ, यिनलाई सद्बुद्धि आओस्, देशले सुशासन पाओस् । – फणिन्द्र पन्त


