धर्मरत्न श्रेष्ठ- पूर्वराजा परिवारसहित टर्की, रोमतिर लागे, यता अविश्वासको प्रस्ताव ल्याएर केपी ओलीलाई सत्ताबाट सडकमा खगारे, माओवादी कांग्रेसले। नाती नातिनासमेत बोकेर रोमतिर हिडेका पूर्वराजाले यी बालकहरुलाई कुन शिक्षा दिन त्यता लगेका हुन्, त्यो स्पष्ट त छैन तर नेपाल र विश्व सभ्यताको ज्ञान भने यी बाल मष्तिष्कमा राम्रै प्रभाव पार्ने अनुमान गर्न सकिन्छ। मूल कुरा पुरातात्वीक महत्व, रोम बन्नुको इतिहास हेर्न, सिक्न र सिकाउने लक्ष्यसहित पूर्वराजा पारिवारिक भ्रमणमा निस्केका हुन्। यो भ्रमण नितान्त पारिवारिक भ्रमण हो।
ओली फालिए, प्रचण्ड प्रधानमन्त्री बन्नासाथ पूर्वराजाको नेपाल आगमन साइत जुर्नेछ। किनकि २ हप्ते भ्रमण पूरा हुनै लागेको छ। पूर्वराजाका सचिव डा.फणि पाठकले नेपालको राजनीतिक उतारचढावसँग यो भ्रमणलाई जोड्नु गलत हुनेछ। यो नितान्त व्यक्तिगत र पारिवारिक भ्रमण हो। सबैले अनुमान गरेका छन्– छोरा बिग्रिएकाले नातिनातिनालाई सुसंस्कार दिन पूर्वराजा बढी व्यस्त र चिन्तित हुनेगरेका छन्। यो भ्रमण पनि त्यही उद्देश्यको एक कडी हो। हृदयन्त्र नाति हुन् र उनलाई राजर्षी ज्ञान दिइदैछ। नेपालको स्थिति र अवस्थ्ाको मूल्यांकन गर्नेहरु यी नेताहरुले लोकतन्त्र चलाउन सक्दैनन्। यिनीहरु स्वार्थका पुतला हुन्, स्वार्थपूर्ति यिनको ध्येय हो। नेपाली जनमानसमा राजतन्त्र फर्कने विश्वास बढेर गएको छ। जनताहरुको मान्यता स्थापित भइसकेको छ कि योभन्दा त राजतन्त्र भएकै बेश। यसो हुनुमा नेताहरुले जनताको पीडा संवोधन गर्न नसक्नु मुख्य दोष हो।
पूर्वराजाले भनेका छन्– जनताले खोजे म यहीँ छु। जनताले भन्छन् भने राजनीतिमा आउन पनि तैयार छु। प्रचण्डको सरकार अन्तिम पनि हुनसक्छ, त्यसपछिको राजनीतिक बबाल थामिनसक्नु हुनेछ र नेपालमा हिन्दूराष्ट्रको नाममा राजतन्त्र फर्कनसक्छ। किनकि प्रचण्डको यो दोस्रो इनिङ हो। दोस्रो इनिङमा पनि उही जनतामारा नीति र द्वन्द्व बढाएर पीडितलाई न्याय नदिने नीति लिइयो भने नेपालको राजनीतिमा अन्तर्राष्ट्रिय शक्तिको प्रवेश हुनेछ। त्यतिबेला स्थितिलाई सम्हाल्ने राजनीतिक नेतृत्वको नितान्त अभाव हुनेछ।यी सबै परिदृश्य हेर्दा र विश्लेषण गर्दा पूर्वराजा राजनीतिक सत्ता परिवर्तनको खेलको छिटा आफूमाथि नपरोस् भनेर पनि भ्रमणमा हिडेका हुन्।