रोशन कार्की - १७ भाइ राणाहरुले रोलक्रम राखेजस्तो छ नेपालको सत्ताराजनीति। भन्नलाई लोकतन्त्र भनिन्छ तर आलोपालो सिस्टम बसिसक्यो। ९ महिनामा ओलीले छाड्नुपर्ने र बजेट पास गरेपछि प्रचण्ड सरकारमा एमाले सामेल हुनुपर्ने भद्र सहमति ओलीले तोडेपछि प्रचण्ड कांग्रेससँग मिलेर सत्ता निर्माण गर्दैछन्। प्रचण्ड सरकार पनि ९ महिने हो। ९ महिनापछि प्रचण्डले देउवाका हातमा सत्ता सुम्पने भद्र सहमति भएको छ। अहिले सत्ता निर्माण गर्दा प्रधानमन्त्री, जुन जुन मन्त्रालयहरु कांग्रेस र माओवादीले सम्हाल्नेछन्, ९ महिनापछि स्वाट्टै साटासाट हुने सहमति गरेर आश्चर्यमा पारेका छन्।लोकतन्त्रमा के नहुने रहेछ। ठूला पार्टी मिलेपछि लोकतन्त्र भनेको त्यही हो।
माओवादीले अहिले अर्थ, उर्जा, सञ्चार, भौतिक योजनाका मन्त्रालयहरु लिनेछ भने कांग्रेसले गृह, परराष्ट्र, स्थानीय विकाससहितको १३ मन्त्रालय लिनेछ। ९ महिनापछि माओवादीले सम्हालेको प्रधानमन्त्रीसहितका मन्त्रालय कांग्रेसले र कांग्रेसले अहिले सम्हालेका मन्त्रालयहरु माओवादीवीच साटासाट हुनेछ। यसरी साटासाटतन्त्र स्थापित मान्यता हुनलागेको छ। लोकतन्त्रका मर्म र मर्यादाको घोर उल्लंघन हुँदैछ।
एमाले सरकारले जनतालाई के दियो, अव बन्ने माओवादी र कांग्रेसको सरकारले जनताका अपेक्षा संवोधन गर्छ कि गर्दैन? यी प्रश्नमा घोत्लिने हो भने जनताका लागि सत्ताको ो साटफेर सिण्डिकेट कौवालाई बेल पाक्यो हर्ष न बिष्मातका घटना हुन्। वर्षा, हिउँद र फेरि वर्षा चरम उत्कर्षमा छ। भूकम्पको घाउमाथि बाढी पहिरोको मार थपिएको छ। जनताका यी बिपतका घडीमा साथ र सहयोग गर्ने सरकारको आवश्यकता रहेका बेलामा राजनीतिक लेनदेन र साटफेरको सरकार बन्न लागेको छ। यसरी पनि लोकतन्त्र चल्ने रहेछ, लोकतन्त्रको झ्याली पिट्न सकिनेरहेछ।
गणतन्त्र आएपछि के के न पाइन्छ भन्ठान्ने यो युवापुस्ताले के पाए? बुढो पुस्ताका नेताहरुको सत्तालिप्सा र सत्ताका लागि भइरहेका अपवित्र गठबन्धन। यो गठबन्धन पनि स्वदेशी भए त सहन सकिन्थ्यो, विदेशी चलखेलका गोटी बनेका छन् नेताहरु। यी नेताहरुले युवा पुस्तालाई दिने देन लाग्छ केही पनि छैन। स्वार्थन्धहरुको भीडले वर्तमान पुस्ता ध्वस्त भइसक्यो, भावी पुस्ताले समेत गौरव गर्ने ठाउँ नरहने निश्चित भयो।