Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सामाजिक क्रान्तिको आरम्भ सत्रसाल

१७ सोमबार , श्रावण २०७३९ बर्ष अगाडि

स्वयम्भूनाथ कार्की- वर्तमानमा ठूलो स्वरले गरिने गरेको प्रश्न के हो भने विगतमा नेपालमा के भयो? सुगा रटान जस्तो एकोहोरो प्रश्न आजको युगमा वसेर गरिदैछ। त्यसैले कोहीकोही पञ्चायतको आवशान पछि मोवाईल इन्टरनेट आएको उदाहरण दिन पनि संकोच गर्दैनन्। यसबेला धेरै युवाहरु होमा हो मिलाउन उद्धत हुन्छन्, यस्तोमा वास्तविकतामा पुग्न ज्यादै कठिन हुन्छ। यो अरुले बोल्नै नपाउने 'ऋषी धमला संस्कृति'मा कठोर वास्तविकतामा पुग्न संभव नै हुँदैन। अनि यो सत्य लुक्न पुग्छ कि मोवाईल र इन्टरनेट हालसालैका आविष्कार हुन र नेपालमा पञ्चायत रहेको कालमा संसारको कुनै पनि कुनामा उपलव्ध थिएनन्।

त्यसैले नेपाल र अन्य मुलुकको तुलना गर्दा तुलना गरिने कालखण्डको शुरुमा भएको अवस्था र अन्तमा रहेको अवस्थाको तुलनात्मक विवेचन हुनु पर्दछ। संसार भरि ज्ञानको  ज्योति फैलाउने तक्षशिला, नालन्दा जस्ता ज्ञानपिठहरु भएका स्थान र अनकन्टार भिर पहरा, औलोले भरिएको जंगल र अत्यन्त न्यून संख्यामा  साक्षरता भएको स्थानको तुलना सिधा हुन सक्दैन। वर्तमानमा अध्यारो युगबाट अस्तित्व देखाउन सफल ठाउ कम विकसित देखिएमा पनि तुलनात्मक रुपमा विकसित भनिने स्थानभन्दा तिव्र गतिमा प्रगति गरेका हुन सक्छन्। एक अरवपति करोडपतिमा देखिनु र खाकपति लखपति देखिनुमा कसले प्रगति गरेको हो भन्ने जान्न कठिन छैन। तर पुरानो अवस्था नहेरी वर्तमान मात्र हेर्ने हो भने निश्चय नै उल्टो नतिजा प्राप्त हुन्छ।

सत्र सालसम्म नेपालमा सैकडौ राजनैतिक दल खुले, भद्रअवज्ञा लगायतका अनेकौ आन्दोलनहरु भए, राजनैतिक विकास अत्यन्त तिव्र भयो। यो कुरा सत्य हो अनि तुलना नै गर्ने हो भने राजनैतिक दल र विचारधाराहरुको विकास ४६देखि वर्तमानसम्म भन्दा ज्यादा भेटिन्छ। वीपी, पुष्पलाल, मनमोहन, गजेन्द्र नारायण, कृष्ण प्रसाद जस्ता नेपाली राजनीतिमा नाम कमाएकाहरु त्यसै कालमा देखा परेका हुन्। पछिल्ला कालमा मदनभण्डारी, प्रचण्ड जस्ता केही नाममात्र छन् जसको सबैले निर्धक्क नाम लिन्छन्। त्यसैले नेपालमा राजनीति, राजनैतिक विचारधारा तथा दलहरुको विकासको हालसम्मको उच्चतम गति त्यसैकालमा थियो भन्ने कुरा देखिन्छ।

यति हुँदाहुँदै पनि नेपालमा अन्य क्षेत्रहरु भने उपेक्षित रहेको देखिने तथ्य भेटिन्छन्। १७ सालमा राजा महेन्द्रले शासन आफ्नो हातमा लिंदा साक्षरता दुई प्रतिशत भन्दा कम थियो। मुख्यतया ब्राम्हणवर्गलाई मात्र सिमित गरिएको संस्कृत शिक्षा पनि उच्चवर्गमा मात्र सिमित जस्तै थियो। राजनीति क्षेत्रमा तिव्र विकास भए पनि झारा तिराई जस्तो रुपले अन्य क्षेत्रमा काम भएको थियो, किनभने नेतृत्व वर्ग सत्ता र शक्तिको निमित्त हुने प्रतिस्पर्धामा व्यस्त हुनुपरेको थियो। एकमात्र कलेज भएको मुलुकमा उच्चशिक्षा हासिल गर्ने व्यक्ति थोरै त हुने नै भए।

जंगवहादुरको पालामा भएको जात जाती अनुसार फरक व्यवस्था भएको मुलुकी ऐन प्रतिस्थापन तर्फ ध्यान जान सकेको थिएन। त्यसैले नेपाल कानुनत मध्ययुग मै रहेको थियो। नेपाल भन्दा केवल काठमाण्डु मात्र भने बुझिने गर्दथ्यो। पहाड, तराई, मगरात, लिम्बुआन आदि शव्दले मुलुकको विभिन्न भागलाई जनाइने भएकाले नेपालसंग जोडिएको थिएन। नेपाली भाषा, नेपाली व्यवहार गर्नेहरुलाई सामन्तवर्गले हेयको दृष्टिले हेर्ने चलन थियो। अंग्रेजी, हिन्दी, उर्दु प्रयोग गर्नु प्रतिष्ठाको विषय हुने भएकाले नेपाली साहित्यमा धेरै थोरै मात्र साहित्यकार थिए। लोकसाहित्य, लोक नृत्य, लोकसंस्कृति जस्ता कुराहरु साना साना वर्गमा मात्र सिमित रहेको थियो।

खेतीमा आधारित भएकाले मन परेको वा नपरेको आधारमा जग्गा जोत्नदिने वा नदिने मर्जी जग्गावालाको भएकाले चरम शोषण थियो। मौजावालाहरु, जमिनदारहरुको  मनमौजीको अनेकौ स्मरणहरु वर्तमानमा पनि सुन्न पाईन्छ। अश्लिल लाग्ने समेतका अनेकौ यस्ता स्मरणहरु वर्तमानसम्म रहँदा सहजै अनुमान गर्न सकिन्छ कि यसको मात्रा कति थियो होला। केवल एक मात्र बैक रहेकाले सम्पुर्ण आर्थिक नियन्त्रण साहु महाजनको हालतमा थियो। सर्बसाधारण जनताले आफुलाई राष्ट्र सँग जोडन सकेको थिएन। तिव्र राजनैतिक विकास भएको मुलुकमा सामाजिक, आर्थिक आदि क्षेत्र उपेक्षित रहँदा मुलुकमा कस्तो विकराल स्थितिमा हुन्छ भन्ने कुराको केही अनुभव वर्तमामा पनि हुँदैछ।

यस्तो चौतर्फि अध्यारो अवस्थाबाट राजा महेन्द्रले आफ्नो बाँकी जीवनकालमा मुलुकलाई कुन अवस्थामा पुर्‍याएका थिए भन्ने कुरा यस आलेखमा अट्न सक्दैन। केही प्रतिकात्मक कुराहरु भने आवश्यक छ। समानताको आधारमा नयाँ मुलुकी ऐनले नेपाललाई मध्ययुगबाट आधुनिक युगमा प्रवेश गरायो। राजकिय प्रज्ञा प्रतिष्ठानले सहित्यकारहरुको मनोवल र संख्या वढायो। स्कुल कलेजहरुको स्थापनामा स्थानियहरुको चासो जगाएर शिक्षाको प्रसार भयो। लोकसंस्कृतिहरुको प्रोत्साहन र जगेर्नालाई ध्यानमा राखेर अनेकौ कार्यहरु भए। आधारभूत उद्योगहरुको स्थापना भए, जग्गामा श्रम गर्नेको रोजगारीको जगेर्नालाई भूमिसुधार लागु गरियो। यसरी उनको कार्यकालमा तिव्र सामाजिक क्रान्ति भयो।