
दिल्ली पुगेका दुर्गा प्रसाई फर्कदा एयरपोर्टमा पौने घण्टा केरकार गरिएछ । नेपाल सरकारको ग्रिन सिग्नलपछिमा उनलाई नेपाल फर्कन अनुमति दिएको रहेछ । यदि यो खबर सत्य हो भने दिल्लीले प्रसाईको दाहिना होइन भन्ने बुझ्नुपर्छ । यदि म भारत परस्त होइन भन्ने देखाउनका लागि नाटक मञ्चन गरेको हो भने बिस्तारै प्रष्ट हुँदै जाला । स्मरणीय छ, मंसिर ७ गते देखि दुर्गा प्रसाईले यो व्यवस्था फाल्ने आन्दोलनको घोषणा गरेका छन् । यसकारण पनि दुर्गा प्रसाई चर्चाको शिखरमा छन् । नेपाली सेनाले समेत जेनजी आन्दोलनपछि दुर्गा प्रसाई, रास्वपालाई समेत स्टेक होल्डरको रूपमा महत्व दिएपछि दुर्गा प्रसाईको चर्चा बढेको हो । यद्यपि गत चैत १५ को आन्दोनलपछि दुर्गा प्रसाईको चर्चा चुलिएको थियो । उनको संगठन बिस्तार भएर देशैभरि भएपछि उनले गर्ने व्यवस्थाविरोध आन्दोलन यतिबेला अन्य पार्टीको भन्दा बढी चर्चित बनेको छ । दुर्गा प्रसाईले भारतबाटै मान्छे ल्याएर भए पनि आन्दोलन चर्काउने कुरा पार्टीहरूले गरेका छन् । यो बदनामी गरेको वा दुर्गा प्रसाईलाई बदनाम गराएको ?
प्रश्न छ, मंसिर ७ गते देखि दुर्र्गा प्रसाईले नेपाल ठप्प पार्लान् त ? उनले सबै नेपालीलाई चुकोचौकोका सामग्रीको बन्दोबस्त समयमै गर्न समेत सुझाएका छन् । पहिले कात्तिक १५ भन्थे, पछि मंसिर ७ को साइत जुराएका छन् । धेरैले मंसिर ७ पछि उनले अर्को समय बताउने छन् भन्नेहरू पनि बाक्लै भेटिन्छन् ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की सरकारले वार्ता वार्ता भनिरहेको छ । शान्तिपुर्ण चुनाव हुन्छ भनिरहेको छ । एमाले चुनावै हुन्न भन्छ, अन्य दलहरू पनि आन्तरिक बिबादमा छन् । चुनाव आयोग पनि निर्णय लिन सकिरहेको छैन । चुनाव हुन्छ वा हुन्न ? स्पष्ट जवाफ छैन । जब पार्टीहरू नै कस्सिदैनन्, चुनाव कसरी होला र ? सुरक्षा निकायको हौसला बढेको छैन, यो पनि ठूलो समस्या हो । केही जेनजीहरू चुनावका पक्षमा देखिएका छन् र चुनावपछि बन्ने सरकारले जेनजीका सबै मागहरू पूरा गर्ने बताउन थालेका छन् । त्यसैले अहिले चर्चा गरिएको मंसिर ७ देखिको आन्दोलन भइहाल्छ भन्नेमा ढुक्क हुने स्थिति छैन । फेरि दुर्गाले भनेझैं आन्दोलन भइहालेमा पनि त्यो सफल हुन्छ कसरी ? कति जनताले साथ देलान् ? भदौ २३ र २४ को जनेजीको आन्दोलनमा गणतन्त्रवादीहरू हावी भइसकेका छन् । राजावादी जनेजीहरू ओझेलमा छन् । राजावादी र हिन्दुवादीले त्यतिबेला आवाज उठाउन सकेको भए स्थिति अर्कै हुनेथियो । पूर्वराजाले पनि सबै पार्टीको समर्थन खोज्नाले पनि गणतन्त्रवादीले खेल्न पाए । हम्मर हान्ने फलाम तातेकै बेलामा हो । पछि हम्मरले भनेजस्तो फलाम भनेजस्तो बनाउन सकिन्न । जेनजीको आक्रोशले संसद बिघटन गरायो । संविधान बिघटन हुनसकेन । अन्यौलग्रस्त जेनजीहरू, जो आन्दोलनमा हावी भए, तिनीहरू भ्रष्टतन्त्रको संविधान बिघटन गराउनतिर लागेनन् । आन्दोलनमा बिजयी भए, बिजयको ताजपोस गणतन्त्रवादीले नै लगाए, जेनजी पुस्ताको हातमा केही भएन । अहिले जेनजी पुस्तामाथि यही तन्त्रले दण्डित गर्न थालेको छ ।
एमाले सडक बिद्रोहको शंखखोस गरेको छ । दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेका छन् । माओवादी एकता गर्दैछ । अन्य कम्युनिष्टहरू केन्द्र बनाउन लागेका छन् । प्रजातन्त्रको बिडा उठाएको कांग्रेस हुरीको चरो बनेर अन्यौलग्रस्त छ । दुर्गा प्रसाईसँग आन्दोलन गर्ने साहस, सामल र समर्थन छ । कतै आफ्ना केही माग पूरा गराएर मुख्य माग संवैधानिक राजतन्त्र छाड्ने त होइनन् भन्नेहरू पनि समाजमा देखिएका छन् । चुनावपछिको सरकारले जे गर्छ गर्छ भनेर थुमथुम्याउने प्रयास जोडतोडले भएका छन् । यस्तै प्रयासमा जेनजी पनि जिल्लिएका छन् ।
प्रष्ट छ, यो संविधान रहेसम्म, यस्तै गणतन्त्रवादी सरकार रहेसम्म, बुढा पुराना नेताहरूले पुस्तान्तरण नगरेसम्म राजतन्त्र र हिन्दुराष्ट्रको माग पूरा हुनेवाला छैन । देशै कब्जा गरेको र २७ घण्टामा सत्ता पल्टाइदिएको, स्थापित दलका नेता–राज्य सञ्जालका अगुवाहरू भागेर लुक्न बाध्य पारेको आन्दोलनले संविधान फेर्न सकेन, दुर्गा प्रसाईको आन्दोलनले संविधान खारेज गराउन सक्ला ? दुर्गा प्रसाईसँग जेनजी पुस्ताले गरेको आन्दोलनजस्तै गर्ने ताकत होला र ? भदौ २४ पछि जे भयो, साह्रै गाह्रो तरिकाले भएका छन् । दुर्गा प्रसाई र उनले गर्ने आन्दोलन जेनजी आन्दोलन हुनसक्दैन । जनअसन्तोषलाई आक्रोशमा परिणत गरेर देशैभरि आन्दोलनको ज्वारभाटा उठाउन सके कुरो बेग्लै हो । राजनीतिक दलहरू टाउको उठाउन थालिसकेका छन् । देशमा अराजकता, अस्थिरता बढेको छ । यो अवस्थामा आन्दोलन त होला, कतै यही आन्दोलनको नाममा विदेशी हस्तक्षेप भयो भने रोक्ने कसले ? त्यसै पनि भूराजनीतिको गोलचक्करमा नेपाल परिसकेको छ । सम्हाल्ने कोही छैन, सुशीला कार्कीको सरकारलाई पार्टीहरूले समेत विश्वास गरिसकेका देखिदैनन् । विश्वासको संकट छ । जबसम्म विश्वासको संकट कायम रहन्छ, संवाद, सहमति र सहकार्य सम्भव छैन । सहकार्य नभएपछि चुनाव, स्थिरता परको कुरा हो ।
धेरैथरि जेनजीहरूले दुर्गा प्रसाईसँग सम्पर्क गर्न थालेको सवाल पनि महत्वपूर्ण छ । जेनजीहरू धेरै टुक्रामा बाँडिएको यथार्थले पनि भदौ २३ को जस्तो आन्दोलन नहुनसक्छ । दुर्गा प्रसाईले गर्ने आन्दोलनले परिवर्तन होइन, विद्यमान अस्थिरतालाई मात्र बढावा दियो भने के अर्थ रह्यो र ? आन्दोलन होला नहोला, एकदिन आन्दोलनमात्र हुनगयो भने, आन्दोलन सफल होला नहोला ? हो, यो जेनजी को आन्दोलनपछि बनेको सरकार हो । तर अराजकता बढ्यो भने यो सरकारले पनि हान्ने अश्रुग्यास र गोली नै हो । त्यसै पनि जेनजी पुस्ताका ७६ को ज्यान लिएको पद्धति हो । यो पद्धतिले अझै अरूको रगत पिउनसक्छ भन्ने नभुलौं । आन्दोलन नै गर्ने हो भने गोलीको जवाफ दिनसक्ने जनमतको, जनसमर्थनको लागि तैयारी गर्नु पर्ने देखिन्छ । नेपालभरि नै प्रदर्शन गर्न सकियो भने सुशीला कार्कीको सरकार ढल्नेछ । यो सरकार ढालेपछि हुने के ? सम्हाल्ने कसले ? त्यसपछि सहमतिको सरकार बन्न सक्छ कि सक्दैन ? प्रसाईलाई साथ दिन केही जेनजीहरू अगाडि सरको भनिन्छ । राजतन्त्रवादी, हिन्दुवादी किन मौन बसेका छन् ।
दुर्गा प्रसाईले उठाएका मागहरू न्यापूर्ण छन् । आमजनताका मागहरू हुन् ती । सफल आन्दोलनपछि कार्यान्वयन प्रति संशय छ । यसकारण राजतन्त्रवादी, हिन्दुवादी, भ्रष्ट गणतन्त्र फाल्नैपर्नेहरू धेरै आशावादी नहुँदा बेश ।


