Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

नैतिकताको मूल्य र अनैतिक राजनीतिमा भइरहेको बृद्धि

०३ मंगलबार , मंसिर २०८२६ घण्टा अगाडि

नैतिकताको मूल्य र अनैतिक राजनीतिमा भइरहेको बृद्धि

कुनै पनि समाजको नैतिक चरित्रले त्यहाँको राजनीतिको गुणस्तर निर्धारण गर्छ । जहाँ सत्यनिष्ठा, ईमानदारीता र सामाजिक जिम्मेवारीलाई सम्मान गरिन्छ, त्यहाँ राजनीति पनि ती नैतिक मूल्यहरूलाई प्रतिबिम्बित गर्छ । तर जब नैतिकता परित्याग गरिन्छ वा कमजोर पारिन्छ, राजनीति लोभ, भ्रष्टाचार र आपराधिक गतिविधिको माध्यम बन्छ । आज नेपाल र भारत पनि यही यथार्थका जीवित उदाहरणहरू बन्न पुगेका छन्—जहाँ समाज स्वयं नै नैतिकताप्रति उदासीन बनेपछि राजनीति झनझन् अनैतिक बन्दै गएको छ । यो रोग अमेरिका जस्तो मुलुकसम्म पनि फैलिएको छ—जहाँ राजनीतिक जीवनमा नैतिक मूल्यहरूको गहिरो महत्व छ, र शक्तिशाली राष्ट्रपति समेत महाभियोगद्वारा पदमुक्त हुन सक्छन् ।
एक स्वस्थ लोकतन्त्रमा, मतदाताहरू भ्रष्टाचार र आपराधिक पृष्ठभूमि भएका उम्मेदवारहरूलाई अस्वीकार गर्छन् । तर जब समाजको नैतिक स्तर खस्कन्छ, त्यहाँ भ्रष्टाचारी, लुटाहाँ, हत्यारा, ठग, भ्रष्ट र अपराधीहरूले समेत चुनाव जित्न सक्छन् । जब मतदाताहरूले इमान्दार, नैतिकवान, योग्य, दक्ष, समाजसेवीलाई जनसेवाका आधारमा मत नदिई पैसा, सम्बन्ध र पहुँचको आधारमा मत दिन्छन् त्यहाँ अनैतिक, अयोग्य, भ्रष्टाचारीहरूले मत जिल्छन् । परिणाम स्वरूप, राजनीतिक दलहरूले गुणस्तर र सिद्धान्त होइन, पैसा र पावर खोजेर खुलेआम डन, कालोबजारीकर्ता र भ्रष्ट व्यापारीहरूलाई आफ्नो पार्टीमा ल्याउँछन् ।
नेपालको पछिल्ला दशकहरूको राजनीतिक इतिहासमा थुप्रै दुखद उदाहरणहरू छन् । चरी, घैंटे, मनाङ्गे जस्ता कुख्यात अपराधीहरूलाई ठूला राजनीतिक दलहरूले खुलेआम काखीच्यापी अपनाएको इतिहास छ । यी पात्रहरू अँध्यारो कुनामा लुकेर बस्ने अपराधी होइनन्—यी सार्वजनिक रूपमा परिचित अपराधीहरू हुन्, जसलाई जनताको प्रतिनिधित्व गर्ने दलहरूले स्वागत गरे । जब अपराधीहरूलाई नेताको रूपमा सत्कार र सम्मान गरिन्छ, त्यहाँ राजनीति सेवा होइन, शोषणको व्यवसाय बन्छ ।
यो खतरनाक नैतिक पतनले व्यापक कुशासन र असफल शासन प्रणालीलाई जन्म दिएको छ । भ्रष्टाचार हरेक संस्था र निकायमा फैलिएको छ । राज्य अनगिन्ती घोटाला र काण्डहरूले थिचिएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा शक्तिशाली नेताहरू र कर्मचारीहरूले असहाय नागरिकहरूको पीडालाई व्यापार बनाए, जबकि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा भ्रष्टाचार काण्डले नेपालको अन्तर्राष्ट्रिय छविमा गम्भीर धक्का पु¥यायो—यो सिंगो व्यवस्थाको लाजमर्दो अवस्था हो ।
त्यस्तै, सहकारी घोटालाले पनि नागरिकहरूको भरोसामा गहिरो चोट पु¥यायो ।लाखौं लाख सर्वसाधारणले पसिना बगाएर जम्मा गरेको बचत—जीवनको सुरक्षाको आशामा राखिएको रकम—शक्तिशाली राजनीतिज्ञ र उनीहरूको नजिकका व्यक्तिहरूले लुटे । उनीहरूको दुःख, पीडाको लागि अहिले सम्म  देशमा सरकार रहेको महसूस भएको छैन ।  यी घटनाहरू एक्ला–एक्ला काण्ड होइनन्, बरू गहिरो नैतिक रोगका संकेतहरू हुन् ।
यस नैतिक क्षयको परिणाम भयावह छः विरोजगारी, ध्वस्त अर्थतन्त्र र आफ्नै देशमा आशाविहीन बन्न पुगेको युवापुस्ता । त्यसैले आज नेपाल एक राष्ट्रिय पलायनको संकट झेलिरहेको छ—हजारौँ शिक्षित, दक्ष, अदक्ष र ऊर्जावान युवाहरू हरेक दिन देश छोडिरहेका छन्, केवल इज्जतपूर्ण जीवन र अवसरको खोजीमा । उनीहरूलाई यस्तो राजनीतिक व्यवस्थामा अब भरोसा छैन—जहाँ योग्यता होइन, पहुँच र पार्टीको भक्ति मात्र सम्मानित हुन्छ ।
जब देशका युवाहरू विदेशमा श्रमिक बन्न बाध्य हुन्छन् र नेताहरू आफ्नै देशमा करोडपति बन्छन्, त्यो समाज गहिरो रूपले बिग्रिएको हुन्छ । जब योग्यहरूलाई छायामा पारिन्छ र अयोग्य चाकरीवाजहरूलाई सत्तामा पु¥याइन्छ, समाजका स्तम्भहरू चिरा परिरहेका हुन्छन् । जब नेतृत्वका लागि नैतिकता महत्वपूर्ण रआवश्यकतामा पर्दैन, भ्रष्टाचार शासनको सामान्य शैली बन्छ ।
यो अवस्था एकैपटक उत्पन्न भएको होइन । यो केवल भ्रष्ट नेताहरूको दोष होइन । यो समाजले नै नैतिकता मापदण्डको रूपमा कायम राख्न नसकेको दोष पनि हो । जब मतदाताहरू पटकपटक अनैतिक, अयोग्य उम्मेदवारलाई जिताउँछन्, अनैतिकतालाई वैधता दिन्छन् । जब नागरिकहरू अन्यायको विरूद्ध मौन बस्छन्, सिङ्गो व्यवस्था बिघ्रन थाल्छ । फोहर नैतिक माटोबाट सफा शासन उत्पादन गर्न सकिँदैन ।
नेपाललाई केवल नयाँ नेताहरू होइन, नयाँ चेतना र नैतिक पुनर्जागरण चाहिएको छ । हामीले सामूहिक विवेकलाई पुनःनिर्माण गर्नुपर्छ । परिवारहरूले इमानदारीको मूल्य बुझ्ने सन्तान हुर्काउनुपर्छ । विद्यालयहरूले केवल रोजगारमुखी शिक्षा होइन, नागरिक नैतिकता सिकाउनुपर्छ । समुदायहरू भ्रष्टाचारको विरूद्ध एकजुट हुनुपर्छ र सबैभन्दा महत्वपूर्ण कुरा, मतदाताहरूले प्रतिनिधि मात्र होइन, लोकतन्त्रको आत्मा जोगाउने मूल्यहरूको रक्षकको रूपमा आफ्नो मताधिकार प्रयोग गर्नुपर्छ ।
यस्तै नैतिकताको जग वसाली पुरा नैतिकताको आधारमा संविधान र राज्य सञ्चालन प्रणालीको व्यवस्था नगरेसम्म नयाँ नेपाल निर्माण हुन सम्भव देखिन्दैन । यदि जनताले नैतिक नेतृत्वको माग गरे र न्यायको उपहास गर्नेहरूलाई अस्वीकार गरे, राजनीतिक संस्कार परिवर्तन हुन बाध्य हुनेछ । त्यस दिनसम्म हामीले सम्झनुपर्छः अनैतिक राजनीति रोग होइन—यो त रोगको लक्षण हो । वास्तविक रोग त त्यो मनमा लुकेको छ, जसले नैतिकताको मूल्य भुलिसकेको छ ।