स्वयम्भूनाथ कार्की- राजा महेन्द्रले परम्परा र संस्कृतिलाई आधार बनाएर बसालेको निर्दलिय पञ्चायती व्यवस्थामा तीन आधारभूत र महत्वपूर्ण तत्व थिए। भूगोल, परंपरा र भावनाले बनेको नेपाल देश, यसका जनता र यीनलाई भावनात्मक रुपले गौरवपुर्वक जोडेर राख्ने राजसंस्था। कसैलाई यो कुरा मन नपर्न सक्छ, तर त्यसो हुँदैमा वास्तविकता बदलिदैन। नेपाल राष्ट्र यहि तीन तत्वले बनेको छ र नेपालको राष्ट्रवाद यीनैको आधारमा रहेको छ। २०६३ देखिको गणतन्त्रको अभ्यासमा यो कुरा सावित पनि भएको छ। नेपाल त्यसै वेलादेखि बडामहाराज पृथ्वीनारायण शाहले एकिकरण शुरु गर्नुभन्दा पहिलेको अवस्थामा जाने क्रममा छ। अर्थात एक वृहत नेपाल हैन फेरी बाईसे चौविसे रजौटाको रुपमा।
नेपालको अस्तित्व पृथ्वीनारायण शाहदेखि शुरु भएको हैन। महाभारतमा पनि उल्लेख भएको नेपाल देशको प्राचीनता संभवत विश्वकै पुरानो हो। तर बीचमा अनेकौ टुक्रामा विभाजित भएर सानासाना राज्य भएका थिए। ती मध्ये कसैको नाम पनि नेपाल थिएन, तर तै पनि नेपाल भन्ने भावना कायम थियो। कुनै समयमा हामी एकै थियौ भन्ने भावना कायम थियो। राज्य भाई अंश लगाएर काठमाण्डु खाल्टो मै पनि अनेकौ राज्य थिए। पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेका हैनन बरु यसरी टुक्रिएको नेपाललाई एकिकरण गरेका हुन। वर्तमानले फेरी त्यो एकिकरण भन्दा पहिले कै अवस्थामा लैजान चाहानेलाई अग्रगमनकारी भन्दैछ। यो भन्दा लज्जास्पद कुरा अरु के हुन सक्छ?
नेपाल देश कायम छ, नेपालका जनता कायम छन तैपनि नेपालको विखण्डनको खतरा देख्नेहरु बढ्दैछन। राजसंस्था कायम हुँदा नेपाल विखण्डन हुने कुरा सोच्न पनि सकिदैन थियो भने अहिले यो कुरा हरेक गल्ली, चौतारी, गोष्ठि, सभा आदिमा उठने गरेको छ। केवल राजसंस्थाको राजनैतिक अनुपस्थितिले मात्र यो खतरा देखिन्छ भने नेपाल सबै किसिमले जोडेर राख्ने राजसंस्था नै रहेछ भन्ने थप प्रमाण खोज्नु पर्छ र? निर्दलिय पञ्चायती व्यवस्थामा गरिएको परिकल्पना नै नेपाल राष्ट्रका यी तीन आधारभूत र महत्वपूर्ण तत्व माथि अरु कोही हावी नहोस भन्ने नै थियो। औलामा गन्न सकिने नेताहरुको मर्जिमा पुरा मुलुकले विवशतापुर्ण नाच नाच्न नपरोस भनेर निर्दलियताको कल्पना थियो।
राजा महेन्द्रको स्वर्गारोहण पछि केहीमा उहिलेका पाटनका छ भाई प्रधानले जस्तै सम्पुर्ण मुलुक आफ्नो ईशारामा नचाउने सोच आयो। तिनीहरुले आफैलाई महापञ्च घोषणा गरेर नेपालमा फेरी चाकरी, चाप्लुसी र चुक्लीको युग फर्काए। बेलाइतमा शिक्षित राजा वीरेन्द्रले देखेको अनुभव गरेको वेलाइती राजसंस्था थियो। उनी यसैलाई आधुनिक ठान्थे र यो स्वभाविक पनि थियो। किनभने उनको शिक्षा नै त्यही पद्धतिमा भएको थियो। त्यसैले आफ्नो कामको बोझ विसाउने क्रम शुरु गरे र यो नै महापञ्चहरुको त्यो सोचलाई बढाउने आधार बन्यो, संविधानको दोश्रो संसोधन २०३२ मार्फत।
जनमत संग्रह गर्ने आवश्यकता नै पर्ने गरेर पञ्चायतमा विकृति आउनुको कारण नै त्यही थियो। राजा महेन्द्रको सबै नेपाली समान र उनीहरुको अधिकार समान भन्ने सोच परोषरुपमा समाप्त गरे यीनै महापञ्चहरुले। देश बनाउन रगत पसिना बगाउने भावनाले संगठित युवाहरुको अत्याधिक दुरुपयोग र शोषण गरेर अन्तमा 'मण्डले' भन्ने गालीको आविष्कार हुने परिस्थिति पैदा गरे। जनमतको परिणाममा झिनो मतले पञ्चायत जोगिदा राजा वीरेन्द्र झस्के, आफ्ना बुबाले अपनाएको सबै नपाली बरावर भन्ने कुरा व्यवहारत नभएको अनुभूति गरेर। त्यसैले भने 'सबै पञ्च नेपाली र सबै नेपाली पञ्च'। अर्थात अव कुनै भेदभाव र फरक हुन दिईने छैन।
फेरी सोझा राजालाई भ्रममा पार्न पथभ्रष्ट महापञ्चहरु सफल भए। तेश्रो संसोधन त झन आफुले मनपराएकोले मात्र व्यवस्थामा प्रवेश पाओस् भन्ने गरेर आयो। भ्रमको पर्दा यतिसम्म बाक्लो थियो कि आफैले भनेको 'सबै पञ्च नेपाली र सबै नेपाली पञ्च' उलंघन भएको पत्तै भएन। चारलाखको झिनो अन्तर जहिले पनि समाप्त हुन सक्छ भन्ने सोच नराखी महापञ्चहरु विजयोन्माद भए। पञ्च र्याली र पञ्चभेला गरेर डुक्रन थाले। जनता रिझएर आउ भन्ने राजा महेन्द्रको दर्शनको उल्टो यनीहरु जनतालाई 'हामीलाइ रिझाउ' भन्न थाले। उनीहरुको यो पथभ्रष्टता नै वर्तमानको नेपालको दुर्दशाको बिउ बन्न पुग्यो।
जनताले अझैसम्म पनि यी महापञ्चहरु राष्ट्रवादको पहरेदार भन्ने भ्रम पालेकाले अस्तित्व कायम राखेका छन्। पञ्चायत खाए, बहुदलमा सरकार चलाए। राजसंस्था खाए गणतन्त्रमा सरकारमा सामेल भए। भोली राष्ट्रवाद खानेछन् अनि विखण्डित नेपालको कुनै राज्य चलाउने मनस्थितिमा छन्। अब त लाजै पचाएर केवल पञ्च भएको आधारमा दल एकिकरण गर्दैछन्, सिद्धान्तको कुरा पछि गर्ने गरेर। यो पहिले बिहे गरौं केटी पछि खोजौला जस्तै हो। जनता अव भ्रममा नपरे हुन्छ राष्ट्रवादको साइनबोर्ड मात्र राखेका हुन् व्यापार सत्ता र शक्तिको हो। त्यसैले राष्ट्रवाद मनसा, वाचसा र कर्मणा गर्न खोज्नेहरुले आफै नै राष्ट्रिय झण्डा उठाउनु पर्दछ यस्ता व्यापारीको भर गरेर हुन्न।