
जेनजी– ब्रम्हास्त्र हो, ब्रम्हास्त्र असफल हुनसक्दैन किनकि देशमा स्थापित पुस्ता असफल भएपछि निकास खोज्ने जेनजी पुस्ताले हो ।
कि त स्थापित पुस्ताले अपेक्षा र आकांक्षा संवोधन गर्नुपर्छ, नगर्ने हो भने उकुसमुकुस स्थितिले निकास खोज्छ । त्यो निकास खोज्ने पुस्ता भनेकै जेनजी पुस्ता हो । देशका कर्णधार हुन् ।
समयले भन्छ– जेनजी पुस्ताले के गर्ने, कसो गर्ने र निकास खोज्ने । जब निकास खोज्ने प्रकृया सुरू हुन्छ, त्यतिबेला असन्तोष आँधी बन्छ । आँधी भनेजस्तो गरेर आउँदैन । आँधीको आफ्नै नियम हुन्छ, आँधीले जे पनि बिगार गर्न सक्छ । यसैले त भन्ने गरिन्छ– राजनीति समाज सुधार्ने प्रकृया हो । समाजलाई बदल्न सक्दैन र आफै बदलिन्छ भने त्यो राजनीति स्वार्थ बन्छ । स्वार्थका विरूद्ध बिद्रोह हुन्छ हुन्छ ।
विश्वराजनीतिमा अनेक बिद्रोह देखा परेका छन् । दक्षिण एसियाकै बिद्रोह हेर्ने हो भने बंगलादेशकी प्रधानमन्त्री जो भारतमा निर्वासित छिन्, झुण्डिन पर्ने अवस्थामा पुगिसकिन् । भारतका प्रधानमन्त्री मोदी सर्वशक्तिमान छन्, नेपालका परिर्तनका बाहक भनिएकाहरू जनताबाट कोसौं दूर अलोकप्रिय छन् ।
सडकमा चिया बेच्ने नरेन्द्र मोदी २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए, २०२५ मा पनि प्रधानमन्त्री छन् । भर्खरै विहारराज्यको चुनाव भयो, यो चुनावले प्रमाणित गरिदियो– मोदीको क्रेज झन बढेको छ । भारत मोदीमय बनेको छ । यद्यपि भाजपा धर्मवादी पार्टी हो ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना विद्यार्थी आन्दोलन थेग्न नसकेर भागिन्, भारतमै छिन् ।
तिनै शेख हसिना जो १९९६–२००१, २००९ देखि २०२४ जुलाईसम्म बंगलादेशकी प्रधानमन्त्री थिइन्, शक्तिशाली थिइन्, बिद्यार्थी आन्दोलनमा राज्य दमन गर्दा विद्यार्थी बिद्रोह थेग्न नसकेर सेनाको सहयोगमा भाग्नु परेको थियो । उनीमाथि अदालतमा मुद्दा प¥यो र अदालतले उनलाई मृत्युदण्डको सजाय तोकेको छ ।
विद्यार्थी आन्दोलन हुँदा सयौं विद्यार्थी मारिएका थिए, अझै कति मारिए भन्ने निश्चित छैन । राष्ट्रसंघको अनुसन्धानअनुसार १४ सय नागरिक मारिएका थिए । १४ हजारभन्दा बढी घाइते भएका थिए । २०२४ को अगस्तमा भारत भागेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगलादेश फर्कन र अदालतमा प्रतिरक्षा गर्न अस्वीकार गरेकी थिइन ।
न्यायाधीश गुलाम मुर्तजा मोजुमदारका अनुसार शेख हसिनाविरूद्ध उत्तेजना फैलाएको, विद्यार्थी मार्न आदेश दिएको र अत्याचार रोक्न उदासीन रहेको अपराध पाइएको छ । अराजक शासन र मानवता विरूद्धको अपराधको सजाय मृत्युदण्ड नै हो । पूर्वप्रधानमन्त्री हसिनासँगै अदालतले पूर्व गृहमन्त्री अशाउद्दीन खान कमल र पूर्व आइजीपी चौधरी अब्दुल्ला अल मामुनलाई पनि मानवताविरोधीका रूपमा मृत्युदण्डको फैसला भएको छ । यो फैसलापछि शेख हसिनाको अवामी लिग पार्टीले फैसलाको बिरोधमा आन्दोलन सुरू गरेको छ । जसका कारण बंगलादेशमा गृहयुद्ध चर्कदो अवस्थामा पुगेको छ ।
बंगलादेशले भारतमा कूटनीतिक नोट पठाएर शेख हसिनालाई बंगलादेशको सुपूर्द गर्न आग्रह गरेको छ । यो विषयमा भारतको प्रतिक्रिया छ– शेख हसिनाविरूद्धको फैसला नोटिसमा राखिएको छ । स्मरणीय छ, पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री कमल दुबै भारतमा निर्वासित छन् ।
भारतमा रहेकी शेख हसिनाले बंगलादेशी अदालतको फैसला अस्वीकार गर्दै भनेकी छिन्– म डराएकी छैन । त्यसैले मैले अन्तरिम सरकारलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) समक्ष यी आरोपहरू ल्याउन बारम्बार चुनौती दिएको छु ।
अब हेर्नुछ, भारतले बंगलादेशी पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई कसरी र कतिञ्जेल बचाउन सक्छ ?
नेपालमा जेनजी आन्दोलन र राज्यदमन
गत भदौ २३ र २४ गते नेपालमा जेनजी आन्दोलन भयो । २७ घण्टामा जेनजी आन्दोलनले नेपालको राज्यसत्ता ढालिदियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक थिए, तिनको आदेशमा ७६ जनाभन्दा बढी मारिए । यो आन्दोलनमा राज्यदमन पिठ्यूँमा पुस्तक बोकेका र स्कुले युनिफर्ममा रहेका बालबालिकाको समेत हत्या गरियो । मारिएका बालबालिकाको टाउको, घाँटी, छातीमा गोली हानिएको थियो । त्यतिबेला पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भनेकी थिइन्– यो मानवताविरोधी दमन हो । यस्ता शासकमाथि हत्याको आरोपमा कारवाही हुनुपर्छ । घटनाक्रमले यिनै सुशीला कार्कीलाई भदौ २७ गते प्रधानमन्त्री बनायो, त्यसपछिका दिनमा प्रधानमन्त्री सुशीला कार्कीले यो हत्याकाण्डमा कुनै कारवाही अगाडि बढाएको देखिदैन । छानबिन आयाग गठन भएको छ तर कानुनी कारवाही नहुनु र कसैलाई दण्डित नगरिनु आश्चर्यको विषय बनेको छ । आफूले फागुन २१ मा चुनाव गराउने म्याण्डेट पाएको बताउने यी प्रधानमन्त्रीले चुनाव नखलबलियोस् भनेर बालबालिकाको हत्याको जिम्मेवार कसैलाई नबनाएको, मानवताविरोधी र अराजकता मच्चाउने राज्यपक्षका केहीलाई सीमा हद तोक्ने बाहेक केही निर्णय लिन नसकेको आक्षेप लाग्न थालेको छ । छिमेक भारतमा मोदीजस्ता सशक्त शासक छन् । बंगलादेशमा सशक्त न्यायाधीश देखिए । तर नेपालमा न राजनीतिमा स्वच्छ र सशक्त कुनै व्यक्तित्व छन्, न सशक्त न्यायाधीश ? नेपालमा त नागरिक समाजसमेत विवेकहीन छन्, जो न्यायका पक्षमा प्रष्ट बोल्न सक्दैनन् ।
जुन आन्दोलनले अराष्ट्रिय, जनविरोधी, अन्यायको संरक्षण गर्ने र भ्रष्टाचार तथा अपराध बढाउने संविधान, सत्ता, संसद सबै ध्वस्त पारिदियो, त्यो आन्दोलनमा सरिक जेनजी पुस्तामाथि कारवाही अगाडि बढाएर शास्ती र यातना दिन थालेको छ । जनविरोधी पुरानो सत्ता र शक्ति पुनर्ताजकीकरण हुने वातावरण सिर्जना गराउने षडयन्त्र भइरहेको छ । २ महिनामा विकसित भएका यी सबै घटनाक्रम देख्नेहरू भन्न थालेका छन्– सतीको सरापबाट नेपाल मुक्त हुनसकेन । घुम्दै फिर्दै रूम्जाटार भन्ने उखानजस्तो अवस्था देखिन थाल्यो ।
बहुदलपछिको ३७ वर्ष, लोकतन्त्रपछिको १७ वर्षमा आस्था र विश्वास जगाउने, समाज परिवर्तन गर्ने राजनीतिक व्यक्ति कोही जन्मिएनन् । अराजकता, भ्रष्टाचार र अस्थिरताको धुवाँमा धुमिल छ नेपाल । जनयुद्धको बन्दुक थामियो, बन्दुक बोक्ने हातमा लालीगुराँस देखियो, बारूद पड्केको छैन तर शान्ति र स्थिरता नेपोटिजम, नेपोबेबीइजम, अपराधी नेताकै बन्धकमा छन् । लोकतन्त्र लोकको आँखामा भ्रमको कसिंगर हाल्न सफलता हासिल गरिरहेको छ । बधुवा अमलेख भइसक्यो, अपराधी राजनीतिको बन्धकमा परेको हामी नेपालीको आकांक्षा अमलेख हुने कहिले ? यो प्रश्नको जवाफ दिने नैतिक बल कुनै शासक, प्रशासक, राजनीतिज्ञमा छैन ।
राजा फालियो, हिन्दुधर्मको आस्थामा धर्मनिरपेक्षता थोपरियो, कार्यकर्ता नेता पाल्न संघीयताको भारी बोकाइयो, प्रजातन्त्रको निधारमा गणतन्त्र घोषणा गरियो, संविधानसभाले एकथान संविधान लेख्न दुईथान निर्वाचन गराउँदा पनि जनताले विश्वास गरे, संविधान घोषणापछिको दुई आवधिक निर्वाचनले पनि शान्ति, स्थिरता, सुशासन, जनताप्रति जवाफदेहीताको मान्यता स्थापित गर्न सकेन । संविधान असफल भयो, राजनीति असफल भयो, कानुनव्यवस्था लथालिङ्ग हुनपुग्यो । राष्ट्रको जीवनमा शान्ति स्थापित हुनसकेन । विश्वासका धागाहरू चुँडिदै गए । असन्तोष बढ्दै गयो । युवाहरू बुढा बाबुआमा, दुधे बालबालिका, नाताकुटुम्बलाई असरल्ल छाडेर आफ्ना गरा त्याग्दै विदेशी धरामा रोजगारी खोज्न विदेशीन बाध्य पारिए । देशभित्रका उद्योगधन्दा बन्द गराउनेले देशलाई आत्मनिर्भरताका ठाउँमा परजीवीपन रोप्दै र खोप्दै गए । यसैको परिणाम थियो– जेनजी आन्दोलन ।
२०४६ को परिवर्तनपछि नेता उही छन्, सत्तामा उनैको राइँदाइँ थियो । २०८२ भदौ २७ गते जुन परिवर्तन भयो, व्यक्ति परिवर्तन भए पनि प्रवृत्ति परिवर्तन हुनसकेको छैन ।
यो ३७ वर्षमा राष्ट्रलाई कङ्गाल बनाउनेहरू जो छन्, तिनीहरू पराजीत भएका छैनन् । खासगरी प्रजातन्त्रवादी शेरबहादुर देउवा, समाजवादी भन्न रूचाउने केपी ओली, कम्युनिष्ट हुँ भन्ने प्रचण्ड, डुक्रिन थालेका छन् । कांग्रेस, एमाले, माओवादीभित्रका होनहार नयाँ पुस्तामा विवेक छ, विवेकशील चरित्र देखाउन अझै हच्किरहेका छन् ।
इतिहासमा मगध साम्राज्यका महानन्दजस्ता क्रुर लाग्छन्, यी नेताहरू । चन्द्रगुप्त मौर्यजस्ता राजनेता बन्नलायक गुण कसैमा देखिदैन ।
हाम्रा नेताहरू जनयुद्ध र जनआन्दोलनजस्ता राजनीतिक यज्ञबाट खारिएका त हुन् तर आत्मरतीमा रमाउन पुगे । स्वार्थको जालोमा जेलिनाले विदेशी ताकतको तोक्मा टेक्न पुगे, विदेशीकै भिटामिन पाएर खाएर यिनीहरू स्वदेश, स्वराज, स्वाभिमान र नैतिकता गुमाउँदै गए । स्वस्थानी कथामा नवराजलाई विष्णु भगवानरूपी हात्तीले बरण गरेर लावण्य देशको राजा बनाएझैं विदेशी शक्तिले यिनलाई लोकतान्त्रिक नेपालको मौजा बकस दिएका रहेछन् भन्ने प्रमाणित गर्दै गए । फलतः भदौ २३ र २४ को जेनजी आन्दोलन हुनपुग्यो ।
अफगानिस्तान, श्रीलंका र बंगलादेशका घटनाक्रमबाट यिनीहरूमा चेत खुलेन । यिनीहरू यतिसम्म स्वार्थको बशमा लाचार छन् कि देशमा गृहयुद्धको कारण रोप्दैछन् । मानौं यी यदुवंशी हुन्, जो आफ्नै कारणले सखाप हुने मार्गमा छन् । यिनमा वर्तमान र भविष्यप्रतिको कुनै चिन्ता र चासो छैन ।
०६३ साल वैशाख ११ गते जब राजाले मरेको संसद ब्युँताइदिए, त्यसपछि यिनीहरू भष्मासूर बनेका हुन् । भष्मासूरको बिनासलीला शास्त्र यिनले पढे सुसुप्त चेतना जागृत हुनेथियो ।
लोकतन्त्र, शान्ति, समृद्धि, सुशासन दिन्छौं, नयाँ नेपाल बनाउँछौं भन्ने यिनै हुन् जो बहुदल वा लोकतन्त्रपछि आजसम्म ल्हासा जाने कुतीको बाटो हिंडिरहेका छन् । योभन्दा ठूलो राजनीतिक अपराध केही हुनै सक्दैन । जेनजी आन्दोलन यिनीहरूले चटके बनेर देखाउने चटकमात्र हो भन्ने खुलासा थियो ।
भनिन्छ, सर्पको विष झार्न नजान्नेले सर्पलाई नचलाउनु । आफूले खडा गरेको भ्रष्टाचार र अनैतिकताको समस्या पहाड बनेर टाउकामा बज्रिएपछि हाम्रा नेताहरू काँचोवायु बर्बराएजस्तो बरबराउन थालेका छन् ।
विगतको एकदशक लामो जनयुद्ध गर्ने माओवादीले देखायो– मार्न सजिलो छ, बचाउन गाह्रो । बिगार्न सहज छ, निर्माण गर्न मुस्किल । १७ हजार मारिए, तिनका आफन्तजन आज पनि मुटु गाँठो पारेर ज्यूँदै मरिरहेका छन् ।
अन्यायका अनगिन्ति श्रृंखला छन् । ३७ वर्षमा ३४ सरकार बन्यो, न कुनै सरकारलाई दुखेको देखियो, न कुनै नेतालाई । न अधिकारकर्मी, न नागरिक समाज अथवा बुद्धिजीवीलाई । छिनछिनमा न्याय मरिरहेको छ, सबै मलामी बन्न तैयार छन् । मलाम गइरहेका छन् । यी सबैका लागि सत्ता पञ्चदेवलको हण्डी बनिरह्यो, सक्नेले हैसियतअनुसार लुटिरहे, खाइरहे, डकारीरहे । मुस्ताङको खच्चर चराउने गोठालोजस्तो भएर देश चल्दैन । गोवर भरिएको खप्परले लोकतन्त्र चलाउन सकिदैन । माओको देश चीनमा उदारवाद आइसक्यो, समाजवादी भारतमा ऐतिहासिक परिवर्तन भइसक्यो, हाम्रा नेताहरू जनतालाई भेडाबाख्रा चराएझैं चराउन खोज्दैछन् । यसकारण हरेक दलपतिहरू जनताको नजरमा घृणाका पात्र बनेका छन् । अझै यिनको आँखा खुलेको छैन ।
राजनेता बन्नुपर्नेहरू डन पाल्छन्, माफियागिरी चलाउँछन्, विदेशीसँग गुप्तगु गर्छन् । ढाँट्नुसम्म ढाँट्छन्, पेटभरि ढाँट्छन् र भन्छन्– लोकतन्त्र ज्यूँदो छ । ०४६ सालदेखि यही सुगा रटान जारी छ । ५४ हजार बर्गमाइलको मुलुकमा समाज परिवर्तनका लागि डाँफेले बेग हानेजसरी बेग हान्नुपर्नेहरू अनैतिकताको बेग हानिरहेका छन् । खोजेको शान्ति र प्रगति, यिनले दिए– बित्यास, अतास र बितण्डा ।
अन्तमा, मार्टिन लुथर किङको यो भनाई– ‘जबसम्म मानिस आफ्नो व्यक्तिगत स्वार्थको संकीर्ण दायराभन्दा माथि उठेर समग्र मानवताको बृहत् हितसम्म पुग्दैन, तबसम्म उसको जीवन सार्थक ठहर्दैन ।’ हाम्रो राजनीति मरिसक्यो, राजनीतिलाई समाज परिवर्तनको साधन बनाउने जिम्मा अव जेनजी पुस्ताको काँधमा आएको छ ।
जेनजीले जितेको युद्ध खोसिएको छ, जेनजी पुस्ता फेरि उठ्नुपर्छ, जित्नुपर्छ । जेनजी पुस्ता हार्न सक्दैन । ठेस लागेर लडेको मात्र हो, जेनजी फेरि उठ्नुपर्छ ।
जेनजी पुस्ता अजय शक्ति हो । शुदर्शन चक्र हो, यो शक्तिलाई हार्ने छुट छैन । यो ब्रम्हास्त्रले देशबाट अपराधलाई परास्त गर्नुपर्छ ।



