यो भविष्यवाणि हो राप्रपा नेपालका अध्यक्ष कमल थापाको। त्यतिबेला एमाओवादी मोर्चाले ४० हजारको भीड जम्मा पारेर सिंहदरवार कब्जा गर्न सक्छन्। ती सबैलाई गोलीहान्न त मिल्दैन होला? पहिले गृहमन्त्री भइसकेका थापाले भने– त्यो क्षमता एमाओवादीले राख्छ। कांग्रेस र एमालेले नभुलुन्– एमाओवादी बन्दुकबाट जनयुद्ध सुरु गरेर यहाँसम्म आइपुगेका हुन्। कमल थापाको भनाई यस्तो छ–
म एउटा कुरा टड्कारो रुपमा के देखिरहेको छु भने कांग्रेस र एमालेको अदुरदर्शिता, स्वेच्छाचारिता र दम्भका कारण फेरिपटक प्रजातन्त्र ध्वस्त हुने हो कि? मैले यस्तो सम्भावनाका संकेतहरु प्रष्ट देखेको छु। \u000aपहिलो– माओवादी, मधेसवादी दलको मोर्चा र कांग्रेस र एमालेको सत्तारुढ गठवन्धनको बीचमा संविधानका अन्तरवस्तुहरुमा त्यति धेरै ठूलो सैद्धान्तिक मतभेदहरु देखिँदैनन्। मतभेदहरु त आधारभूत रुपमै हामीसँग छ। तर, माओवादी,मधेसी मोर्चा र सत्तारुढ दलहरुका बीचमा शासकीय स्वरुप, न्याय प्रणाली र निर्वाचन प्रणालीका बारेमा करिव करिव सहमति बनिसकेको हो।
राज्य पुनःसंरचनामा पनि कतिवटा प्रान्त बनाउने र तराईर्का ५ जिल्लालाई कहाँ राख्ने भन्ने मतभेद हो। यो ठूलो सैद्धान्तिक मतभेद होइन। जसलाई केही घन्टा अथवा केही दिन धैर्यतापूर्वक छलफल गरेको भए शायद सहमतिको विन्दुमा पुग्न सकिन्थ्यो। तर, त्यसको विपरीत अहिले मुलुक ठूलो द्वन्द्वको भूँवरीमा फस्न लागेको अवस्था छ।
दोस्रो– अप्रत्याशित ढंगबाट माघ ८ को आसपास र त्यसपछि बाहृय शक्तिहरुको चलखेल तीब्र रुपमा बढेर गयो। भित्र कोठामा भेट्दा प्रक्रियाबाट अगाडि बढ भन्ने, सार्वजनिकरुपमा सहमति गरेर मात्र संविधान बनाउने भन्ने। यो द्वैध चरित्र प्रदर्शन भइरहेको छ।
तेस्रो– राप्रपा नेपाल, जसले आफ्नो एजेण्डा स्थापित नभए पनि विधि र प्रक्रिया मान्छु भनेर सकारात्मक रुपमा अगाडि बढेको पार्टीलाई अनायाश असंवैधानिक र अप्रजातान्त्रिक बखेडा झिकेर संविधान निर्माणको प्रक्रियाबाट अलग गर्न खोजिएको छ।
यी तीनवटै घटनाक्रमलाई हेर्दा म के देख्छु भने संविधान निर्माण 'सेबोटेज'मा पर्यो। अब संविधान बन्ने सम्भावना कम हुँदै गयो। बन्यो भने पनि टिक्न नदिने खेल सुरु भयो जस्तो मलाई लाग्छ। राप्रपा नेपालले जुन जनआन्दोलनको सम्भावना देखेको हो, त्यसको व्यापक परिवेश छ। त्यो ढीलो–चाँडो अवश्यम्भावी छ। त्यो जनआन्दोलनको चरित्र कस्तो हुन्छ, म अहिले भन्न सक्दिँन। ध्वंसात्मक हुन पनि सक्छ। नबिर्सौं, जनयुद्ध भरुवा बन्दुकबाट सुरु भएको थियो। हाम्रो स्टेट मेसिनरी यति कमजोर र राजनीतिकरण भइसकेका छन् कि त्योबेला कोल्याप्स हुन्छ र काम गर्न छाड्नसक्छ ।