- शाश्वत शर्मा -
प्रचण्ड नेतृत्वका सरकारका उपप्रधानमन्त्री कांग्रेसी नेता विमलेन्द्र निधि प्रचण्डको हलकारा बनेर दिल्ली पुगेका थिए। उनले संविधान संशोधन, तराई मधेसको संवोधन गर्ने प्रम प्रचण्डको प्रतिवद्धताप्रति राष्ट्रपति र प्रधानमन्त्री प्रणव मुखर्जी र नरेन्द्र मोदीलाई आश्वस्त पार्नासाथ मोदीले प्रेस नोट नै प्रकाशित गरेका थिए। मोदीले पहिले नेपालका प्रधानमन्त्रीको भारत भ्रमण हुनुपर्छ भनेपछि भदौ ३१ को मिति तय भइसकेको छ। ओली सरकारको विघटन र प्रचण्ड सरकारको गठनपछि उपप्रम निधिको भ्रमण भारतका प्रधानमन्त्री, विदेशमन्त्री सुषमा स्वराज, गृहमन्त्री राजनाथ सबैलाई खुशीको उपहार बनेको छ। आश्चर्य त के पनि छ भने भारतले नेपालको संविधान संशोधन गर्न सघाउने अभिव्यक्तिसमेत सार्वजनिक गरेको छ।
नेविसंघको निर्वाचनमा प्रहरी हस्तक्षेप गराएको विरोधमा विद्यार्थीहरुले निधिको नामै किटेर भारतीय दलाल मूर्दावादको नारा लगाएका थिए। तिनै मूर्दावाद निधि दिल्लीमा जिन्दावाद बन्न सफल भए। भारतीय दलालको ट्याक बोकेर दिल्ली हान्निएका प्रचण्डका विशेषदूत प्रचण्डलाई सफल भए। ९१ प्रतिशत सांसदले निर्माण गरेको संविधानको संशोधनको विषयमा भारतले सघाउनेछ भनेर निधिले बताएका छन्। असन्तुष्टपक्षको माग संशोधन गर्न गरिने संविधानको संशोधनको अर्थ भारतले मधेसी मोर्चालाई मनाउने ठेक्का लिएको छ। यसबाट दुई प्रश्न उठेका छन्– नेपालको आन्तरिक मामिला भारतलाई जाहेर गरेर प्रचण्डले आफूलाई भारतवादी सावित गरेका छन् र मधेसी मोर्चाका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, महन्थ ठाकुरहरु नेपालका नेता कि भारतका कार्यकर्ता? यसबाट भारत नेपालको अन्दरुनी मामिलामा माओवादीको सवारी चढेर मजाले पसेको छ।
म पहिला चीन जान्छु भनेर राष्ट्रवादी पल्टेका प्रचण्डलाई भारतले फलाम गालेझैं गालेर रड बनाइदिएको छ। भदौ ३१ मा दिल्लीमा वार्ताको टेबुल सजाइसकियो, त्यो टेबुलमा प्रचण्डले नेपालको स्वाभिमान लम्पसार पार्ने खतरा अहिले नै देखिन थालेको छ। यसकारण भारत समर्थित प्रचण्ड सरकारसँग चनाखो हुनुपर्ने धेरैकारणहरु छन्। जनयुद्ध र त्यसपछि प्रचण्डले गरेका सबै अराजनीतिक, गैह्रकानुनी, अमानवीय र अराष्ट्रिय क्रियाकलापहरुलाई विचार गर्दा सत्ता थाम्न र जनयुद्धकालीन मुद्दालाई मेलमिलापका माध्यमबाट फर्स्यौट गर्न यहाँ जे पनि हुनसक्ने र जे पनि गरिन सक्नेछ। प्रचण्ड कसरी परिवर्तन हुँदै आए, त्यो विचार गरौं। प्रचण्डले जसरी कांग्रेसलाई साथ लिएर पूर्वराजालाई थाङ्नामा सुताए, त्यसरी नै अन्य विरोधीहरुलाई सुताउने तानाबाना बुनिरहेका देखिन्छन्। वास्तवमा कथनी र करनीमा कहिल्यै एकरुपता नभएका प्रचण्ड अविश्वसनीय कमरेड मानिन्छन्। विगतमा लिइएका अडान प्रचण्डले छाड्ने र मधेसी मोर्चालाई साथमा लिएर नेपाल ठगिने सन्धिसम्झौता गर्न सक्छन्।
भारतको सहयोगमा संविधानको संशोधन र मधेसको संवोधन प्रक्रिया सुरु भयो। अरु छुटफुटलाई लिएर प्रचण्डले अरु कस्तो करामत देखाउने हुन्? चीनको सक्रियता, भारतको पकडमा नेपालले गुम्सिनुपर्ने त होइन?