
३६ वर्षमा आठ पटक चुनाव, खर्बौं रूपैयाँ सकिँदा भएन देश विकास !
जेनजी आन्दोलनको बलमा बनेको सुशीला कार्की नेतृत्वको सरकारले आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनावको मिति तोकेको छ । चुनावसँगै पुनः ठूलो खर्च जुटाउनुपर्ने भएको छ । चुनावमा २७ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ । त्यो रकम जनताले तिरेको कर र वैदेशिक ऋणबाट जोहो गरिँदैछ ।
अबको चुनावबाट विजयी भएर आउने जनप्रतिनिधिको काम गर्ने अवधि पाँच वर्षको हुन्छ । एक जना सांसद्को तलब, भत्ता र सेवासुविधामा मासिक झण्डै तीन लाख रूपैयाँ रूपैयाँ खर्च हुन्छ । २०४६ मा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्था पनि फालेर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याइयो ।
फागुन २१ सहित यो ३६ वर्षको अवधिमा आठौं पटक चुनाव हुँदैछ । २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४, २०७९ सालमा निर्वाचन भयो । निर्वाचनको इतिहास पल्टाउँदा नेपाली काँग्रेसले दुई पटक बहुमत ल्याएको छ । माओवादीले एक पटक प्रत्यक्ष १२० क्षेत्रमा निर्वाचन जित्यो । कांग्रेस, एमाले, माओवादीले आलोपालो शासन गरे, भ्रष्टाचार मात्र गरे ।
२०७४ सालमा नेकपा एमाले र माओवादीले गठबन्धन गरेर चुनाव लडेको थियो । दुई पार्टीले एक भएर दुई तिहाई नजिकैको मत प्राप्त गरेको थियो । यो पनि चलेन । रोचक प्रसंग के भने, अहिलेसम्म पुरै कार्यकाल अर्थात पाँच वर्ष निर्वाध रूपमा संसद् चलेको छैन । कहिले संसद् विघटन हुन्छ, कहिले के ?
जसका कारण जनताले तिरेको कर, दुःख गरेर हालेको मत खेर जाने गरेको छ । निर्वाचन गर्दाको खर्बौं लगानी पनि वालुवामा पानी हुन्छ । लक्ष्यअनुरूप ऐनकानुन पनि बन्दैन । यसरी चुनावपछि चुनाव गरेर के उपलब्धि भयो ? यो चुनाव भइहाल्यो भने पनि हुन्छ ? जित्ने यिनै भ्रष्टले हो, आशा कम छ ।
जसका कारण जनताको यी नेता र चुनावमाथिबाट विश्वास उठ्दै गएको छ । चुनाव आएसँगै नेताहरू पुनः उही पुराना नारा लगाउन थालेका छन् । ‘हामीलाई एकपटक फेरि विश्वास गर्नुस्, हामी देश बनाउँछौं’, यो नारा अहिले व्यापक सुनिन थालेको छ । ३६ वर्षसम्म केही नगरेकाहरूले अब केही गर्छन् ?
जनताले पटकपटक मौका दिए । तर, किन केही गरेनन् ? फेरि जनतालाई भ्रमित बनाउने प्रयास हुँदैछ । २०४८ सालदेखि ८२ सालसम्म डडेल्धुराबाट निरन्तर शेरबहादुर देउवाले निर्वाचन जितिरहेका छन् । आठौं पटक पनि चुनाव लड्ने घोषणा गरिसके । उनी पाँच पटक त देशको प्रधानमन्त्री बनिसके ।
दुई पटक उनले पार्टीको सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा २०४८ देखि नेमकिपाको रजगज छ । न नेमकिपा सरकारमा जान्छ, न विकास गर्छ । तैपनि, उसैलाई जिताउने काम भइरहेको छ । अब जनताले नेताको अनुहार हेरेर होइन, क्षमता हेरेर मत दिऔं । भक्तपुरे अथवा देशैभरि यस्तो निर्णय होला ?
किन कि, देश लथालिङ्ग बनिसकेको छ । कोही देशमा बस्न चाहँदैन । १२ पास अथवा १८ वर्ष पुग्नेबित्तिकै सबै विदेश गइरहेका छन् । यहाँको जनशक्ति पनि सकियो, देश पनि रित्तियो । बुढाबुढी, केटाकेटी मात्रै देशमा बाँकी भएका छन् । न यहाँ रोजगार छ, न स्वास्थ्य र शिक्षा । जनताले तिरेको कर, विदेशबाट पठाएको रेमिट्यान्स, वैदेशिक ऋणमा भ्रष्टाचार मात्र हुन्छ । कहीँकतै विकास भएको देखिँदैन । देशको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापालगायत पञ्चायती व्यवस्थामा पटकपटक प्रधानमन्त्री बने । बहुदलीय व्यवस्था आएपछि दलपतिहरू पटक पटक प्रधानमन्त्री बने । पञ्चायत खराव थियो, बहुदल कालरात्रि बन्यो, लोकतन्त्र लुटतन्त्रले बदनाम भयो ।
२०६५ जेठ १५ गते देशबाट राजतन्त्रको अन्त्य भएर लोकतन्त्र गणतन्त्र स्थापना भएको हो । जनताको छोरा डा रामवरण यादव गणतन्त्रको पहिलो राष्ट्रपति बने । पुष्पकमल दाहाल पहिलो प्रधानमन्त्री नियुक्त भए । केही गर्न सकेनन् । दुईठाउँबाट चुनाव हारेका माधव नेपाल प्रधानमन्त्री बने, एमालेका झलनाथ र माओवादीकै बाबुराम पनि प्रधानमन्त्री बने, केही गर्न सकेनन् । माओवादीको सिफारिसमा २०६९ चैत १ गते प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाइयो । उनले २०७० सालमा चुनाव गराए । विश्वकै इतिहासमा सबैभन्दा महगो र दुईपल्ट संविधानसभाको निर्वाचन गराएर २०७२ मा फास्ट ट्रय्राकबाट संविधान जारी गरियो । आवधिक निर्वाचन पनि भयो । तर नतिजा ? निरन्तर गठबन्धनको सरकार, दुईपल्ट संसद बिघटन । न राजतन्त्र खराव थियो, न बहुदल । लोकतन्त्रसमेत असफल भयो । यसको मूल कारण थियो, नेतामा नैतिकता र जवाफदेहीताको अभाव थियो ।
अलोकतान्त्रिक कार्यशैलीले भदौ २३, २४ को दुर्घटना निम्त्यायो । लोकतान्त्रिक गणतन्त्रले ७८ जनाको रगत पियो । ज्यान लियो । नरसंहारको जिम्मेवारी कसैले लिएनन् । जेनजीको नाममा बनेको सरकारले कसैलाई जिम्मेवार बनाएन ।
अन्तरिम सरकारले फागुन २१ गते चुनाव गराउने भनेको छ । ऋण लिने, खर्च गर्ने, सत्तामा टिक्ने काममात्र भइरहेको छ । न शान्ति, न स्थिरता, न सहमति ? चुनाव भएरमात्र के हुन्छ ? चुनावका लागि चुनाव गर्नुको अर्थ र औचित्य के हुन्छ ?
बहुदल होस् कि लोकतन्त्र, राज्यका जग्गा माफियाकरण गर्ने, राज्यका खरिदमा कमिशन खाने, नीतिगत भ्रष्टाचार गर्ने, सुनकाण्ड र अने काण्डहरू मच्चाउने यिनै नेता र प्रशासकहरू नै हुन् । प्रचण्ड ३ पटक, ओली ४ पटक, देउवा ५ पटक, माधव नेपाल–झलनाथ खनाल–बाबुराम भट्टराई–खिलराज रेग्मी प्रधानमन्त्री बने । के गरे ? जनताले विश्वास गरे, मौका दिए । जनतालाई शासना र सकसमात्र दिए ।
अब हामी गर्छौं भनेर रवि लामिछाने, वालेन साहहरू निस्किएका छन् । पुरानाले लुटे, नयाँले गर्ने आधार र विश्वास दिलाउन सकेका छैनन् । नयाँलाई सत्ता चाहिएको हो कि देश बनाउने, विधि बसाल्ने, न्याय दिने, विकास गर्ने एजेण्डा पनि छ ?
नयाँमा सुशासन दिने हो, भ्रष्टाचारको अन्त्य गर्ने, अपराधीलाई दण्ड दिने हुटहुटी छ भने ह्वाइटपेपर सार्वजनिक गर्नुपर्छ । पोल खोलाखोल गरेर एकदोस्रालाई नङ्ग्याउँदा सबै नाङ्गैजस्तो देखिन्छ । कोही त होलान् वीरका सन्तान् ? सही र सच्चा हुन् भने मुखुण्डो देखाउने होइन, सक्कली अनुहार देखाउनु पर्छ । हिजो नेपोटिजम, नेपोबेबीइजम सर्वत्र कायम भयो, अब हुँदैन भन्ने प्रत्याभूति जनताले पाउनुपर्छ ।
जो पुराना छन्, तिनको नियत खराव थियो । जो नयाँ छन्, तिनको नियत र स्वच्छ छवि देखिनुपछै । जनतालाई भ्रमित पारेर देश सिध्याउने साजिस नगरौं ।


