
केवल प्रतिभा, विचार, वा स्रोत, साधनको कमीले मात्र राष्ट्रको पतन हुँदैन । जब नागरिकहरूले विशेषगरी नेताहरूले, समाजका अग्रणीहरूले राष्ट्रहित भन्दा व्यक्तिगत स्वार्थ र अभिलाषालाई प्राथमिकता दिन थाल्छन्, तब राष्ट्र पतनको यात्रा सुरू हुन्छ । राजनीतिक व्यवस्था तब भत्किन्छ जब मानिसहरू जिम्मेवारी भन्दा आफ्नै स्वार्थ, सहुलियत, सुविधा, पद, प्रतिष्ठाको पछाडि दौडिन्छन् र समस्या समाधान गर्नभन्दा आफ्नै मात्र स्वार्थ पुरा गर्न अघि सर्छन् । लोकतन्त्रको उपादेयता र प्रतिष्ठा राजनीतिक दलहरूको संख्यामा होइन, तिनका नेताहरूको इमानदारी, अनुशासन र एकतामा निर्भर हुन्छ । दल स्थापना र दल विभाजन सजिलो गर्न सकिन्छ तर राष्ट्र–निर्माणको लागि ज्ञान, बुद्धि बिबेक, निस्वार्थ सेवा मेहेनत र परिश्रमको आवश्यक पर्छ ।
इतिहासले देखाउँछ—अत्यधिक विभाजनले सभ्य, बलियो, सबल समाजलाई पनि कमजोर बनाइदिन्छ । जब प्रत्येक व्यक्ति नेता बन्न चाहन्छ, प्रणालीहरू टुक्रिन्छन् । जब राजनीतिक दर्शन र क्रियाकलाप व्यक्तिगत फाइदाको साधन बन्छ, संस्थाहरू भित्रभित्रैबाट खोक्रा हुन्छन् । जब मानिसहरूमा सेवाभन्दा शक्तिको लालसा बढ्छ, देशहरू अधोगतितिर बग्छन् । यो केवल भनाइ मात्र होइन—धेरै उदीयमान राष्ट्रमा पनि देखिएको दुर्गतिको चित्र हो । हाल नेपालमा यस्तो चित्र छर्लङ्ग देखिएको छ ।
नयाँ दलहरूले स्थापनाको बखत मुलुकमा गरिनुपर्ने सुधार, जवाफदेहिता र नयाँ राजनीतिक संस्कृतिको प्रतिज्ञा गर्छन् । यसैले हाम्रा भ्रष्टाचार, कुशासन र यथास्थितिको असफलतालाई चुनौती दिन नयाँ राजनीतिक दलहरू उदाउँदा आशाको किरण देखिन्छ । ती दलहरू– लोकतान्त्रिक, कम्युनिस्ट, राजावादी, क्षेत्रीय वा जिल्लावादी कुनै पनि होउन् । तर तिनै दलहरू जव सानातिना कुरामा भिन्नताको निहुपारी नेतृत्व हत्याउने दाउमा समान विचारधाराका दलहरूमा विभाजित हुन्छन्— सुरूमा स्थापना कालमा देखिएको ऊर्जा चाँडैनै त्यो व्यक्तिगत महत्वाकांक्षामा विलीन हुन्छ । अनि तिनै दलहरू नामका, बिना कामका बन्छ्न् । हाम्रो मुलुकमा धेरै दलहरूको स्थिति यस्तै छ ।
यो घटना नेपालका एनजिओ संस्कृतिसँग मेल खान्छ । एक समय नेपालमा उपत्यकाका बागमती नदी मात्र सफा गर्ने अभिप्राय र उद्देश्य लिई स्थापना र सञ्चालन भएका २०० भन्दा बढी एनजिओ र आईएनजिओहरू रहेको इतिहास छ । अहिले कति छन्, थाहा छैन । तर हामी सबैलाई थाहा छ– हाम्रा नदीहरूमा फोहर, दुर्गन्ध र प्रदुषण उस्तै छ । यो कुराबाट स्पष्ट गर्छ– संस्थाहरूको वृद्धि मात्रले समाधान ल्याउँदैन । जब ती मध्ये धेरै व्यक्तिगत वा सीमित समूहको स्वार्थ, प्रतिष्ठा, धन, वा प्रभावका लागि बन्छन् । हाम्रा दैनिक बढ्दो राजनीतिक दलहरूको संख्याले पनि यस्तै स्थिति प्रदर्शन गरेको छ
प्रकाशित समाचार अनुसार २०८२ मार्ग १५ सम्म नेपालमा १४३ राजनैतिक दलहरू दर्ता भएका छ्न्– लोकतान्त्रिक, कम्युनिस्ट, र राजावादी, आदि । प्रायः धेरैजसो दलहरू उही राजनैतिक नारा र सिद्धान्त लिए पनि थुप्रै गुट र नामका दलहरूमा विभाजित भई स्थापना भएका छन् । यो राष्ट्रहित र जनहितको आवश्यकता र चाहना होइन । यसमा ब्यक्ति वा समूह विशेषको दलको नेताको नाम सम्मको पद, प्रतिष्ठा पाउने इच्छा र चाहना वाहेक अरू देखिन्दैन । प्रत्येक विभाजनले राष्ट्रिय ऊर्जा क्षय गर्छ, मत विभाजित गर्छ र अस्थिरता गहि¥याउँछ । यो निसन्देह लोकतन्त्रको विनाशको संकेत हो ।
यो कुरा संयुक्त राज्य अमेरिकासँग तुलना गरौँ— यो नेपाल भन्दा पचास गुणा ठूलो देश, तर यहॉ केवल दुई प्रमुख राष्ट्रिय दल– डेमोक्राटिक र रिपब्लिकन् मात्र प्रतिस्पर्धा र सत्ता सञ्चालनमा छन् । त्यहाँ पनि केही नगण्य साना दलहरू छन् तर अस्तित्व वा प्रभावमा छैन । स्थिरता र समृद्धि धेरै दल भएर होइन, स्पष्टता र संस्थागत अनुशासनबाट आउँछ ।
हाम्रो देशमा दलहरूको असिमित बृद्धिले एउटा सरल सत्य उजागर गर्छ—नेता धेरै, नेतृत्व कम । देश धेरै राजनैतिक दलहरूको आवाजहरूको कमीले होइन, ती आवाजहरू राष्ट्रको समृद्धि र विकासको लागि आवश्यक मूल उद्देश्यका लागि एक हुन नसकेर पीडित छ ।
सत्य भन्नेनै हो भने हाम्रो देशको विकास र प्रगतिको लागि दलहरू संख्या कममा कम हुनुपर्छ । तर दलहरू गतिला र बलिया हुनुपर्दछ । राष्ट्रको विकास र जनकल्याण सर्वोपरी राख्ने व्यक्तिगत स्वार्थ भन्दा माथि उठेका नेताहरू हुनुपर्दछ । त्यस्तै राष्ट्र उत्थानका लागि पवित्र र निःस्वार्थ भावनाका दलका अनुयायीहरू मुलुकमा हुनुपर्दछ । गुण्डा र हुल्याहाँहरू होइनन् । यस किसिमको परिवर्तन बिना दलहरूको दैनिक बढ्दो विभाजन र बढी स्वार्थी दलहरूको बृद्धिले मुलुकलाई अझ बढी पतनतिर धकेल्छ । यसले हाम्रो लोकतन्त्रवाट फल पाउने आशा झन निराशातिर पु¥याइ दिन्छ । हाम्रो देशमा यस्तै भइरहेको छ । यसमा ध्यान दिन जरूरी छ । तर ध्यान दिने पो कसले ?
narayanshanti70@gmail.com


