स्वयम्भुनाथ कार्की -
सुदुर पश्चिममा बाढीले प्रलय मच्चायो, राजपरिवारको संलग्नता भएको हिमानी ट्रस्ट सहायता लिएर पुग्यो। तर खिलरराजको सरकारलाई त्यो अपच भयो। निर्वाचन आयोगको काँधमा राखेर बन्दुक चलाईयो। पिडितलाई सहायता दिँदा निर्वाचन आचार संहिताको उलंघन हुने भनियो। विपत्तिमा परेकालाई निर्वाचनको नाममा मानविय सहायता गर्न रोक लगाईनु मानवता विरुद्ध हुने कुरा गौण भयो। किनभने त्यसैवेला बाबुरामले दुर्वाच्य बोले। राजावादीहरु यो मानवता विरुद्धको कामको विरोध गर्न छोडेर बाबुरामको पुत्ला जलाउन लागे।
भुईचालोको वेलामा फेरी हिमानी ट्रस्ट सहायता लिएर पुग्यो। सरकारलाई गाह्रो भयो , त्यसवेला निर्वाचन थिएन। सिधै रोक लगाउन सक्ने अवस्था थिएन किनभने यो महाविपत्तिमा संसारभरको नजर नेपालमा थियो। त्यसैले सरकारले मात्र सहायता गर्ने भनेर हिमानी ट्रस्ट लगायत सबैको सहायता सामाग्री सरकारलाई बुझाउन भनियो। यस्तै सामग्री मध्येका कयौ टन खाद्यान्न सडाएर गाडियो। कैयौ टन अहिले निर्लज्जतापूर्वक बेचिदैछ। पिडितहरु आस गरेको गर्यै छन। तिनै पिडितको नाम लिएर घिनलाग्दो राजनिित गरिदैछ।
पहिलो प्रकरणमा राजाले 'राजा आउ देश बचाउ' भन्ने नारा रुचाएनन्। बरु 'जनता आउ देश बचाउ' नारा लगाउन अनुरोध गरे। आफुले मानविय सहयोग गर्न नपाउदा साथ दिन्छन भन्ने ठानिएका राजावादीहरुको अविवेकी कामले पछि हट्नु परेको पिडाको अभिव्यक्ति थियो। जनता भेट्दै हिंढेका राजा त्यसपछि लामो समयसम्म एकान्तवास जस्तै वसे। त्यसैले भुईचालो पिडित सहायता रोकिएकोमा कुनै प्रतिक्रिया गरेनन। राष्ट्र सोच्छन् भन्ने आशा गरिएकाहरुले पनि मानविय सहायता खेर फाल्ने सरकारी कदम संवेदनता हिन भएर हेरेको देख्दा मनमा चोट भने अवश्य पर्यो होला। \u000aपरिस्थितिले यस पटक राजावादीहरुलाई सहकार्य गर्ने मौका दियो। महेन्द्र मञ्जिलको आफुले व्यहोर्न पर्ने खर्च नव्यहोरेर उल्टै विजुली काटिएको कुरामा सर्वत्र विरोध भयो। यसपटक बाबुरमा प्रवृतिले ध्यान आफ्नो तर्फ तान्ने हिम्मत गरेन। त्यसैले जुन नामले भए पनि संगठित भएका सबै समुहले स्वत कार्यगत एकता देखाउने वातावरण वन्यो। जति समुह भए पनि, को ठूलो भन्ने विवाद भए पनि राजावादीहरुमा कार्यगत एकता हुनसक्ने संभावना र क्षमता रहेछ भन्ने सावित भयो। जनताले पनि यचित तरिकाले उठाएको कुरामा साथ दिने रहेछ भन्ने सावित भयो।
यो एकताबाट राजा पनि प्रफुल्लित भएको झल्को आएको छ धन्यवाद वक्तव्यको रुपमा। त्यसमा भनिएको छ 'जनताको दुःखमा राजाको र राजाको दुखमा जनताको साथ रहने परंपरागत मूल्य र मान्यता देशमा जीवित रहेको सन्दर्भका रुपमा पनि हामीले यसलाई लिएका छौ'। पछिल्ला घटनाहरुबाट राजाले मात्र गरिदिनु पर्ने र जनताले केही गर्नु नपर्ने सोच हो कि भन्ने निराशाबाट राजा मुक्त भएको छनक पनि हो। त्यसैले अगाडि भनिएको छ 'हामी बीचको सुसम्बन्ध भविष्यमा पनि स्थिर र थप मजवुत रहने विश्वास लिएका छौ'।
जसरी भए पनि त्यसवेला कायम रहेको कार्यगत एकताले निरन्तरता पाउला त? यो अहं प्रश्न हो। वरिष्ट र कनिष्टको खिचोलोमा १०, २० जनाले पनि एक समुह सञ्चालन गरिरहेका छन। एक्लाएक्लै पनि कृयाशिल छन। यो सबै स्वाभिमानी हिन्दू अधिराज्यको निमित्त नै हो। त्यसैले के यो लक्षको निमित्त कार्यगत एकता गरेर अभियान चल्न सक्दैन र? अवश्य सक्छ। तर सबै जसोले कार्यगत एकतालाई एउटै संगठन निर्माण गर्ने रुपमा बुझेका छन्। यसको आवश्यकतामा पनि कुनै द्विविधा छैन तर यसमा कसको स्थान के हुने भन्ने प्रश्नले ओठे अभियान भन्दा अगाडि बढ्न सकेको छैन।
यो बरिष्ट कनिष्टको समस्या हल नै हुन नसक्ने समस्या हो। त्यसैले एक संगठनको सपना देखियो भने त्यो मात्र सपना हुन्छ। केही गरेर जुटिहाले पनि फुट्न बेर लाग्दैन। त्यसैले अहिलेको आवश्यकता एक संगठन विल्कुलै होईन। लक्ष र कार्यक्रम निर्धारण गरेर त्यसको निमित्त हुने अभियानमा कार्यगत एकता आजको माग हो। यसो हुँदा सबैको अआफ्नो समुह र वर्चश्व कायम नै रहन्छ। बरिष्ट कनिष्टको समस्या पनि किनभने लक्षबाट विचलित नभई आफैले निर्धारण गरेको कार्य योजनामा काम गरिने हो। अभियानमा सामेल भएका अन्यहरुको कार्यक्रमा सहयोग गर्ने र सहयोग पाउने हो। केवल लक्षका आधारले भावनात्मक रुपले जोडिएर रहने भएकाले लक्षबाट विचलित हुनेहरु स्वत अभियानबाट बाहिर हुनेछन्। त्यसैले कसैले कसैबाट फाईदा लिने वा धोका दिने भन्ने आधार नै रहदैन, के राजावादीहरु कार्यगत एकता चलाउन सफल हुन्छन् त? अभियानको सफलता प्रारम्भले नै सुनिश्चित गरेको छ।