
संविधानअनुसार समानुपातिक प्रणालीको मूल मर्म भनेको १६५ जनाको प्रत्यक्ष चुनावमा जान र जित्न नसक्ने तर राष्ट्रिय जनजीवनको विविधताको प्रतिनिधित्व गर्नैपर्ने व्यक्तिहरुका लागि सुरक्षित सिट मानिन्छ । यसरी लाउके र अगुवा नै समानुपातिकमा बस्दा सीमान्तकृत समुदायको अवसर खोसिने गरेको छ ।
पहिले गजेट र बजेट मिलाएर भ्रष्टाचार गरिन्थ्यो, चुनाव नहुँदै समानुपातिकमा कानुन मिलाएर राजनीतिक नैतिकता, समावेशिता र नेतृत्वको उत्तरदायित्वमा भ्रष्टाचार सुरु भइसकेको छ ।
जेनजी पुस्ताले नेपोटिजमप्रति भदौ २३, २४ मा कडा प्रहार गरेर कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका नै ध्वस्त पारिसक्दा पनि धेरै नेताहरु चुनावभन्दा समानुपातिकमा बसेर संसद पुग्न आतुर देखिन्छन् ।
समानुपातिकको पहिलो नम्बरमा को को छन् ?
जो बुढो उही बाटो... भनेझैं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै खसआर्य पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा बसेका छन् । २०५६, २०६४, २०७०, २०७९ मा निरन्तर प्रत्यक्ष प्रतिनिधिसभामा निर्वाचित केसी संघीयताको बिरोधी अभियन्ता पनि हुन् । न्यायको आवाज उठाउँछन् । तर यो समानुपातिक सूचीले उनलाई नैतिकहीन दर्जामा पुर्याएको छ ।
अर्को प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को पाँच जनाको अध्यक्ष परिषद्का दुई दुर्गा सोब र सन्तोष परियार नै समानुपातिकमा दलित महिलातर्फको क्लस्टरमा पहिलो नम्बरमा र परियार दलित पुरुष क्लस्टरको पहिलो नम्बरमा बसेका छन् । सोब दलित महिला संघ (फेडो) की संस्थापक अध्यक्ष पनि हुन् । जसले दलितका लागि ३५ वर्षदेखि आवाज उठाउँदै आएकी छिन् । अहिले...?
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन समानुपातिकमा नाम पार्न सफल व्यक्ति हुन् । निर्वाचन आयोगमा बुझाएको ११० नाममध्ये यिनले आफूलाई पहिलो नम्बरमा राखेका छन् ।
बुद्धिजीवी मानिएकी नेपाल लोकतान्त्रिक पार्टीकी अध्यक्ष गीता राणा क्षेत्रीले आफ्नो नाम पहिलो नम्बरमा राखेकी छिन् ।


