
अनुसा थापा---------------
स्वस्थ र खान अयोग्य खाद्य सामानले जनताको स्वास्थ्य र पैसा सकिदाँ सरकारलाई हाइसञ्चो हुन्छ हो ? पानीपुरी भुरादेखि बुढासम्मले खान रूचाउँछन् । झन् युवायुवती पानीपुरी भनेपछि हुरूक्कै हुन्छन् । जसले गर्दा पछिल्लो समय पानीपुरी, चटपटे र चाट पसल जताततै देख्न सकिन्छ । कतिपयले ठेलागाडामा त कतिपयले सटर नै लिएर पानीपुरी बेच्न राखेका छन् ।
खाजाको अर्को रूचाइने परिकार डोनट, बटारे, निम्की, आलु चिप्स, आलु चप हो । डोनट पसल पनि छ्याप्छ्याप्ती देखिन्छ । तर अति लोकप्रिय यी खाद्य सामग्री कति स्वस्थकर छन्, यसको नियमन हुनसकेको देखिदैन ।
यी खानेकुरा जनताको पेटमा जान्छ । के यी खानेकुरा स्वास्थ्यका लागि लाभदायक छ ? छैन । माथि उल्लेखित खानेकुराहरू केमिकल र स्वास्थ्यलाई हानिकारक हुने सामग्रीको प्रयोग गरेर बनाइन्छ । पानीपुरी मैदाले बन्छ । एउटै तेलमा सयौं पटक पानीपुरी फुराइन्छ । कुहिएको आलु र हड्डी खियाउने अजिनामोटोको अधिक प्रयोग हुन्छ । फोहर पानी, अखाद्य रङ, मसला हालिन्छ । सफाइमा ध्यान दिइदैन । भाडाकुँडा सफा हुँदैन । हातमा पञ्जा हुँदैन, पानीपुरी र चटपटे बनाइन्छ, बेचिन्छ । रोचक प्रसंग के भने, चटपटे र पानीपुरी खाने अधिक शिक्षित वर्ग छन् । बिहान खानाको सट्टा पनि पानीपुरी र चटपटे खानेहरू छन् ।
कसले अनुगमन गर्ने ? मान्छेको महत्वपूर्ण भित्री अंग बिगार्न सक्छ । यस्ता खाने अधिकांश बालबालिका, युवायुवतीको जमात हुन् । अस्पतालमा गम्भीर बिरामी बढ्नुको कारण यस्तै खानेकुरा हुन् । जन्मदिनमा केक काट्ने चलन बढेको छ । यसमा कुहिएको अण्डा हाल्ने गरिन्छ ।
पप, पाउरोटी, बम, क्रिम रोल पनि खाजाकै परिकार हो । त्यो कसरी बन्छ ? पाउरोटीमा केमिकल हालिन्छ भन्नेमा कुनै शंका छैन । मिठाइमा पनि न्यूनतम मापदण्ड पालना गरेको देखिदैन । मिठाइ पसल फोहोर र दुर्गन्धित देखिन्छन् । मासु पसलमा मरेका कुखुरा, बाख्रा, खसी, भैंसी, राँगासमेत बेचिरहेको अवस्था छ । मम पसलदेखि डेरीसम्म अस्वस्थकर र मिसावट उस्तै हुन्छ । तरकारी र फलफूलमा विषादीको प्रयोग हुन्छ । जेमा पनि अत्यधिक केमिकलको मिसावट हुन्छ । जस्तो सामान बेचे पनि अनुगमन हुँदैन, सरकार कहाँ छ, के गर्छ ? अभिभावक गम्भीर हौं ।


