Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, माघ २०८२9th January 2026, 2:05:00 am

पार्टी संगठन नेताको बपौति हुँदैन

०७ मंगलबार , माघ २०८२२ घण्टा अगाडि

पार्टी संगठन नेताको बपौति हुँदैन

नेपाली कांग्रेस किन फुट्यो र उनीहरूको फुटले कसलाई फाइदा पुग्ला ? भविष्य आफै बोल्ने छ । तर यसले दिएको सन्देश सकारात्मक छ । कुनैपनि राजनैतिक पार्टी कसैको बपौति (प्याउते) हुँदैन । नीजि सम्पत्ती बनाउन खोजेपछि त्यहाँ विद्रोह हुनसक्छ, भयो ।
गगन थापा र विश्वप्रकाश कति देशभक्त छन् वा विदेशीको हितमा काम गर्नेछन् त्यसबारेमा अहिले नै भन्नु ठिक नहोला । उनीहरूको बारेमा विगतमा थुप्रै टिकाटिप्पणी त भएकै छन् । खास गरेर जेन्जी विद्रोह पछि जनआक्रोसको सिकार देउपा दम्पती भएका थिए । त्यसको लगत्तै गगन थापा समूहले विशेष महाधिवेशनको माग गर्दै आएका थिए । जुन आवाज संस्थापनले सुनेन । नेतृत्व सक्षम, निष्पक्ष र निस्कलङ्क हुनुपर्छ । राष्ट्रियता र जनताको हितमा अग्रसर र भिजन भएका ब्यक्तीको हातमा हुनुपर्छ । त्यो तन्नेरी होस् वा बुढा, त्यसले कुनै अर्थ राख्दैन । कांग्रेसमा यही अभाव देखिएकोले बिद्रोह भएको हो ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका लागि शेरबहादुर स्वयमको प्रयास हुनुपर्दथ्यो । त्यसोगरेको भए पार्टी फुट्नबाट जोगिने थियो । पार्टीको विधान अनुसार करिव ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष अधिवेशनको माग गरेको थियो । विधानअनुसार अनदेखा गर्नुहुँदैनथ्यो ।
विशेष महाधिवेशन सकिएपछि गगन थापा र विश्वप्रकाशमाथि संस्थापन पक्षले ५ वर्ष पार्टीबाट निकाला गर्ने निर्णय गर्नपुग्यो । जुन अतिवाद नै थियो । गुट र फुट, विधिको माग र नेतृत्व हस्तान्तरण र पुस्तान्तरण कैयौँ दलहरूमा देखिएको रोग छ । पार्टी सकियोस्, नेतृत्वमा पुगेकाहरू पद छाड्न मान्दैनन् । बुझ्नै पर्ने कुरा पार्टी बिभिन्न ब्यक्ति कार्यकर्ता र जनताको सहयोगबाट चलेको हुन्छ ।
पदमा बसेका नेताहरूमा एउटा भ्रम के हुन्छ भने यो पार्टी मेरो प्याउते हो, कार्यक्रता मेरा रैती हुन । मैले जता मोडेपनि पार्टीलाई सबैले सहयोग दिनुपर्छ । मेरो विचार अब्बल छ । मैले गरेको गलती अरूले ढाक्नुपर्छ र अरूले गलती गर्नुहुँदैन । यही भ्रमले भएका निर्णय कार्यन्वय हुँदैनन् । पार्टीले समाज परिवर्तनको दायित्व बिर्सन पुग्छ । परिणाम बेलबखतमा पार्टी भित्र बिष्फोट आउने गरेका हुन्छन् । यो विद्रोहले सबैखाले पार्टीका शिर्ष नेताहरू सचेत हुनुपर्ने सन्देश दिएको छ ।
देशको राणाकालीन अवस्थामा संघर्षको बिडा थामेको पहिलो प्रजातान्त्रिक शक्ति भनेको नेपाली कांग्रेसनै हो । तर समयनुसार पार्टी कहिले भारतको नजिक कहिले शामन्ती दरबारको नजिक झुक्दै आएको छ । 
नेपाली काÞग्रेसको झण्डै ८ दशकको इतिहास छ । वीपी कोइरालाबाट २००३ साल अश्विन १६ गते अर्थात २ अक्टोबर सन् १९४६ मा भारतको पटनाबाट प्रकाशित हुने द सर्च लाइट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई संगठित गर्ने उदेश्यले नेपालको अखिल भारतीय संगठन निर्माणका निमित्त गरेको आह्वानबाट यसको जन्म भएको भनिन्छ । यो कार्य भारतिय नेता जयप्रकाश नारायण र राम मनोहर लोहियाको सहयोगमा भएको थियो । नेपालीहरूले भारतको राष्ट्रवादी आन्दोलनमा सहयोग पुराएकोले भारतिय नेताहरू पनि नेपालमा राणा विरोधी आन्दोलन प्रति सहयोगी देखिन्थे । बनारसमा बस्ने नेपालीलाई संगठित गरी वीपीका पिता कृष्णप्रसाद कोइराला तथा समकालीन देवीप्रसाद सापकोटाको सभापतित्वमा यसको स्थापना भयो । त्यो बेला भारतमा अंग्रेजी हुकुमत र नेपालमा राणाको निरंकूश शासन व्यवस्था थियो ।
पछि राणाहरूले भारतीय अंग्रेजहरूको इसारामा कृष्णप्रसाद कोइरालालाई राम मनोहर लोहिया लगायतका नेताहरूलाई लुकाएको आरोपमा जेल भित्र थुनेका थिए । कोइराला परिवारको प्रजान्त्रमा ठूलो योगदान पनि छ । नेपाली काग्रेसले सशस्त्र क्रान्तिको सञ्चालन गर्ने सम्मको आँट राखेको राजनैतिक पार्टी पनि हो ।
समयक्रममा कांग्रेस कोइरालाहरूको पारिवारिक पार्टी जस्तै हुँदै आयो । उनीहरूले भारतकै हितमा कार्यगर्दै पनि आए । वि.स. २०१५सालको पहिलो निर्वाचनमा उनीहरूको सरकार पनि बन्यो । २०१७ पुष १ को घटना भए पनि वीपीले राजतन्त्र र प्रजातन्त्रको लाइन त्यागेनन् । उनीहरूले भारतको सहयोगमा पद लिने र राजतन्त्रलाई प्रहार गर्ने कार्यपनि गर्दै आए । गुट र फुट कांग्रेसको दीर्घरोग हो । दाजुभाइ वीपी र मातृकाले पार्टी फुटाएका थिए, देउवा र गिरिजा फुटे, अहिले देउवा र गगनहरूले पार्टी फुटाएका छन् । 
गगन थापा नेतृत्वको कांग्रेस पुष २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन सम्पन्न गरेर फुटेको हो । निर्वाचन आयोगले मान्यता यसैलाई दिइसकेको छ । देउवाको संस्थापन पक्षको बेहाल अवस्था भयो ।
स्वयम शेरबहादुर पक्षले गगन थापा सँग हामी एक हौं भन्ने दिन आउन पनि सक्छ । गगन समूह यही चाहन्छ । देउवा समूह घमण्ड त्याग्नैपर्ने बाध्यतामा पुगिसकेका छन् । कांग्रेसभित्रको बिद्रोहको सफलतापछि आफूलाई पार्टीको मालिक सम्झिनेहरूमा चेत खुल्न जरूरी छ । अब विवेकको बिर्को खुलेको देखिन्छ, राजनीतिमा धर्म हुन्छ, राजनीति समाज बदल्ने औजार हो भन्ने मान्यता स्थापित हुने आशा गर्न सकिन्छ ।