
चुनावका माध्यमबाट सरकारमा पुग्न र देशको अवस्था सुधार्न कम्मर कसेर अघि बढेका छन्– रवि लामिछाने र वालेन साह । यो जोडीमा कुलमान घिसिङ पनि १२ दिन सहभागी भए, टिक्न सकेनन् र अलग भए । त्यसपछि संशय उठेको हो– यो जोडी कति चिरस्थायी होला ? चुनावसम्म हो कि ?
नेपाली राजनीतिको केन्द्रमा छन् रवि लामिछाने र वालेन साह । सकारात्मक, नकारात्मक दुवै थरिका चर्चा समाजमा व्याप्त छन् । रविमाथिका विदेश र स्वदेशका मुद्दा, सरकारले फिर्ता लिएको मुद्दा र पुनः सर्वोच्चमा पुगेका रिट तथा वालेनमाथि सिंहदरवार जलाएको, सेटिङमा गरिएको जेनजी आन्दोलन र विदेशी शक्तिको रणनीतिका बारेमा समेत समाजमा चर्चा व्याप्त छ । राजनीतिक र कूटनीतिक बृत्तसमेत यिनै दुईको बारेमा छलफल चलेको सुनिन्छ ।
मुख्य सवाल– सहकारी ठगीबारे के हुन्छ ? सहकारी पीडितले न्याय पाउलान् कि नपाउलान् ? सहकारी ठगहरूलाई दण्ड होला कि नहोला ?
गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनमा भएको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका खरानी भएको बारेमा ठूला दल, नेता र सुरक्षा निकाय मौन छ, जुन रहस्यमय हो ।
माओवादीले ०५२ फागुन १ गते जनयुद्ध सुरू गरेपछि मारिने डरमा ०५६ सालमा रवि अमेरिकातिर लागेका थिए । ०६६ सालमा नेपाली नागरिकता त्यागेर अमेरिकाको ग्रिन कार्ड लिएका रवि अनेक काण्डमा फसेकाले ०७१ मा नेपाल फर्केर पत्रकारिता गरे र ०७९ असारमा आफ्नै पार्टी खोले । ४ महिनाकै अवधिमा राष्ट्रिय पार्टी बनाउन सफलता हासिल गरेका व्यक्ति हुन् । ‘जनतासँग सिधाकुरा’ नामक कार्यक्रममार्फत सफलता हासिल गरेका रविले सहकारी ठगीदेखि अनेक धन्दा चलाएको भनिन्छ । उनका मालिक थिए– जीवी राई । राई मलेसियातिर छन्, रविमाथि सहकारी ठगी, सम्पत्ति सुद्धिकरण, फौजदारी मुद्दा लागेको थियो । जेनजी सरकारले उनलाई सहकारी ठगी बाहेकका मुद्दाबाट बरी गरेको छ, यसबारे सर्वोच्चको फैसला आउन बाँकी छ । तर चुनाव लड्न र सरकार बनाउने मार्ग भने खोल्न तत्काललाई सफलता हासिल गरेको देखिन्छ ।
नेपालमा एकले अर्कोलाई आरोप लगाउने परम्परा पुरानै हो । रविमाथिमात्र होइन, वालेनमाथि समेत अमेरिकी इसारामा काम गर्ने आरोप लगाइने गरेको छ । यथार्थ के हो, कोही बोल्दैनन् । यतिमात्र होइन, हालै दुई टुक्रा भएको र नेपाली कांग्रेसको हकदार भएको सभापति गगन थापा र उपसभापति विश्वप्रकाश समेत अमेरिकी लाइनमा काम गर्ने व्यक्ति भनेर डामिएका छन् । लोकतन्त्र असफल भयो, लोकतन्त्र सफल पार्छु भन्ने रास्वपाका हर्ताकर्ता रवि, वालेन र कांग्रेसका सभापति, उपसभापति बनेका गगन र विश्वप्रकाशलाई कति सफलता मिल्छ, यिनले सुशासन कति कायम गर्न सक्षम हुनेछन्, त्यसका लागि केही समय प्रतिक्षा गर्नैपर्छ ।
भ्रम के हो, सत्य के हो, यसको परीक्षा सुरू भइसकेको छ । तथापि चुनाव हुन्छ र भन्ने संशय अझै बाँकी छ ।
अचम्मको दृश्य के छ भने झापा ५ बाट बालेन साह चुनाव उठ्ने तैयारीमा जुटेका छन् । यो क्षेत्र एमाले अध्यक्ष केपी ओलीको सुरक्षित क्षेत्र मानिन्छ । पूर्व प्रम ओली र काठमाडौंका मेयर बालेन साहको चुनावी प्रतिस्पर्धा भयो भने यो सर्वाधिक चर्चामा हुनेछ ।
वालेन साहलाई रास्वपाले भावी प्रधानमन्त्री भनेर चुनावी माहोल तताइरहेको छ । वालेन साह तराईवासी हुन् र इतिहासमै तराईवासी प्रधानमन्त्री भएका छैनन् ।
रवि लामिछानेलाई इसाई भन्नेहरू पनि छन्, यद्यपि रास्वपाको चुनाव चिन्ह घण्टी राखिएको छ । ०७९ को चुनावमा हामी सरकारमा जाँदैनौं भनेर चुनाव लडेका रवि लामिछाने गृहमन्त्री नै बने । यसकारण पनि रास्वपा पनि सत्तालोलुप पार्टी हो भन्ने आक्षेप लागेको छ ।
३२ दिनमै रवि लामिछाने अनागरिक भन्ने रहस्य खुलेपछि पदबाट बाहिरिए, पार्टी सभापति पद गुमाए । त्यसपछि सहकारी ठगीदेखि अनेक मुद्दामा फस्न पुगे । उनले जितेको चितवन २ मा भएको ०८० वैशाखको चुनावमा रविले फेरि चुनाव जिते । फेरि गृहमन्त्री बनेका थिए । सहकारी ठगीको मुद्दामा उनलाई ५ जिल्लामा फसाइयो, फसे । उनी जेल चलान भए, उनलाई धरौटीमा रिहा हुन लामो समय कुर्नुप¥यो । बुद्धिजीवीहरूले रवि लामिछानेसँग राजनीतिक प्रतिषोध साधेको अनुभूति गरियो । अदालतले फैसला भन्दा पनि मुद्दा लम्ब्याउने काम गरिरह्यो । रवि लामिछाने ठग हुन् कि होइनन्, फौजदारी अभियोगमा दण्डित हुनुपर्ने हो कि होइन, यसबारे पनि मुद्दा विचाराधीन नै छ । अदालतले कुनै मुद्दालाई तत्कालै फैसला दिने र कतिपय मुद्दामा राजनीतिक प्रभावमा परेर वर्षौं लम्ब्याउने गरेको भनिन्छ ।
पुरानाले देश र जनतालाई लुट्नुसम्म लुटे । रास्वपा केबल देश र जनता लुट्न आएको हो कि राजनीतिलाई समाज परिवर्तन गर्ने माध्यम बनाएको हो ? रवि टोली सेवा गर्न आएको हो कि मेवा खान ? अहिले रवि लामिछाने झण्डै ४ करोड धरौटीमा रिहा भएका हुन् ।
रविले सफाइ पाइसकेका छैनन् । भ्रम छरेर स्वार्थपूर्ति गर्न पल्केकाहरूको असली रूप अझै पनि जनताले नबुझे पीडा झनै बढ्नेछ । रास्वपाका प्रतिस्पर्धीहरू भन्छन्– वालेन र रविको लोकप्रियता घट्दो छ । तर जेनजी पुस्ताको ठूलो जमात यिनलाई रोलमोडल मान्छ, मानिरहेको देखिन्छ । यसको मूख्य कारण बहुदलदेखि गणतन्त्रसम्म हाँक्ने नेताहरूको असक्षमता, नेपोटिजम, नेपोवेविइजम, राजनीतिक अपराधिकरणका कारणले भएको विश्लेषकहरू भन्छन् । अब परीक्षा मतदाताको विवेकको हुनेछ । चुनावमा सही नेतृत्व चयन गर्न सके राहत, नभए आहत बेहोर्नुपर्नेछ । मतदातामा चेत रहोस् । thaparusha80@gmail.com


