Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पूर्वराजा हिन्दूधर्म बोकेर देशभरि निस्किने भए – शाश्वत शर्मा –

२० सोमबार , भाद्र २०७३९ बर्ष अगाडि

समाचार छ– पूर्वराजाले हिन्दूधर्मको वा अझ भनौं नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भनेर नेपालभरि भ्रमण गर्ने भएका छन्। यद्यपि यो समाचारलाई पूर्वराजाको कार्यालयले पुष्टि गरिसकेको देखिदैन। तापनि यो समाचारले पूर्वराजाका समर्थकहरु फेरि हौसिएका छन्। यहाँनेर 'फेरि' भन्ने शव्दलाई यस निम्ति महत्व दिइएको हो कि यस्तै घटनाहरुलाई लिएर पूर्वराजाका समर्थकहरु खुशी हुने गरेका छन्। पहिले पहिले यस्तै देखिएको हो। नत्र भने, आशै आशमा मात्र अल्भि्कउकाहरु अव त केही हुन्छ कि भनेर मात्र बसिरहेको देखिन्छ झोक्राएर। केही दिन अघि नेपालगञ्जको वीरेन्द्रचोकमा स्व.राजा वीरेन्द्रको सालिक पुनर्स्थापना गर्दा बिजेता बनेका पूर्वराजावादीहरु भोलिपल्टै सिडियोले मध्यरातमा सालिक हटाएपछि पुनः निराश बनेका छन्। जब राज्य नै, राज्यका संयन्त्र नै ऐतिहासिक गौरवको विरोधी, इतिहास फाँड्नुपर्छ भन्ने विचारमा छ भने कसको के लाग्छ? 
राजनीतिमा र राष्ट्रिय गौरवपूर्ण इतिहास र संस्कृति मास्न विदेशी घुसपैठ भएको छ, यो घुसपैठ झन बढेर गएको छ। अव पूर्वराजाले हिन्दूधर्मका लागि देश भ्रमण गर्ने समाचार त आयो, उनले राजनीतिक दबाब थेग्न सक्लान् कि नसक्लान्? किनभने राजावादीहरु कोठामा फुइँकी हाँक्छन्, सामुन्नेमा बोल्ने हिम्मत गर्दैनन्, संघर्ष त तिनको चरित्र नै होइन। पूर्वराजाले यसअघि पनि धार्मिक भ्रमण गरेका हुन्। ती भ्रमणहरुमा आमनागरिकले पूर्वराजाको जयजयकार गरेकै हुन्। न पूर्वराजाले नेतृत्व लिए, न कुनै दह्रो राजावादी अग्रसर भयो। रानु हराएको माहुरीको गोलो हो आमनागरिक, रानो देख्यो भने सलह निस्के जसरी निस्कन्छन्। पूर्वराजाले हिम्मत गरे भने उनका साथ आमनागरिक उभिने चाहिं पक्का छ। 
गणतन्त्र घोषणा गर्नेहरुले बिखण्डनको बीउ रोपे। जाति, भाषा, भेष र क्षेत्रीयताको झगडा चर्काए। संविधान जारी गरे, कार्यान्वयन गर्न सकेनन्। झगडा अझ चर्केर गइरहेको छ। यस्तो स्थितिमा पूर्वराजाले धार्मिक भ्रमण गर्न निस्किए भने राजनीतिक रंग बन्नेछ र देशैभरि राजनीतिक विद्रोहको वातावरण बन्नेछ, जसलाई यस्तो कमजोर सरकारले रोक्न सक्नेछैन। 
नेपालमा राजतन्त्र र हिन्दूराष्ट्र दिवास्वप्न भन्नेहरु कुर्लिरहेका छन्। पूर्वराजा बाहिरमात्र निक्सियुन, दिवास्वप्न भन्नेहरुले जिब्रो टोक्नेछन्। यो स्थिति दलहरु, नेताहरु असफल भएर बनेको हो। खानका लागि एकजुट हुने, फुट्ने र फेरि मिल्ने राजनीतिक चरित्रदेखि आमनागरिक वाक्क भइसकेका छन्। कालेकाले मिलेर खाउँ भाले, दलहरुको मन्त्र यही हो। जनताको दमन र राष्ट्रिय ढुकुटीको लूट, कूशासन र भ्रष्टाचारलाई विशेषताका रुपमा विकास गरेको गणतन्त्र अव देखाउने टालोमा सिमित भइसकेको छ, कुनै नेताको व्यवहारमा चरित्र नै देखिदैन। यिनले बुझेको डलर हो, पाउण्ड हो। सत्ता, शक्ति र स्वार्थका लागि यी नेताहरु जति पनि गिर्न र जति पनि नांगिन सक्छन्। पूर्वराजाले यो बुझेका छन्।