
इतिहास सधैं तथ्यले होइन, शक्ति र मान्यताले निर्देशित हुँदै आएको छ। कुनै व्याख्या एकपटक ‘मानक’ बनिसकेपछि त्यसलाई प्रश्न गर्नु आफैंमा साहसिक काम मानिन्छ। नक्सामा कोरिएका रेखा, पुस्तकमा लेखिएका निष्कर्ष र विश्वविद्यालयमा पढाइने सिद्धान्तहरू पुस्तौँसम्म अकाट्य सत्यझैँ स्वीकार गरिन्छन्। तर कहिलेकाहीँ कुनै विद्वान त्यही स्थापित संरचनाभित्र प्रश्न बोकेर निस्कन्छ, जोखिम मोल्छ, दुर्गम भेग हिँड्छ, सीमाना काट्छ र इतिहासलाई कागजबाट उठाएर भूमिमा राख्छ। चीनको छिङ्गह्वा विश्वविद्यालयका प्राध्यापक प्रो. ली सिक्वाङ्ग (Prof. Li Xiguang) ले यही बाटो रोजे र त्यसको परिणामस्वरूप चौथो शताब्दीका महान बौद्ध तीर्थयात्री फा–सियान (法显) को यात्रामार्गबारे एक शताब्दीभन्दा बढी समयदेखि कायम रहेको अन्तर्राष्ट्रिय शैक्षिक मान्यतामाथि गहिरो प्रश्न खडा भएको छ।
इस्लामाबादस्थित क्वाइद–ए–आज़म विश्वविद्यालय अन्तर्गतको टक्सिला इन्स्टिच्युट अफ आर्कियोलोजी एन्ड सिभिलाइजेसनमा प्रस्तुत गरिएको उनको विद्यावारिधि (पीएचडी_ प्रि–डिफेन्स सेमिनार कुनै साधारण अकादमिक कार्यक्रम थिएन। त्यो इतिहास, भूगोल, धर्म र ज्ञान(सत्ता बीचको दीर्घकालीन टकरावको सार्वजनिक उद्घाटन थियो। दशकौँदेखि पश्चिमा उपनिवेशकालीन विद्वान्हरूले निर्माण गरेको फा–सियानको यात्रासम्बन्धी ‘स्थिर सत्य’लाई प्रो। ली सिक्वाङ्गले अनुभव, बहुविषयक प्रमाण र प्रत्यक्ष स्थल–मैदान यात्राको आधारमा पुनःनिर्माण गरे।
फा–सियान पूर्वी चिन वंशकालका ती भिक्षु हुन्, जसले चीनबाट भारततर्फ यात्रा गरी बौद्ध धर्मका मौलिक ग्रन्थहरू संकलन गरे। उनको यात्राविवरण ‘फो–गुओ–जी’ (佛国记) ले पूर्वी एशियादेखि दक्षिण एशियासम्मको बौद्ध इतिहास बुझ्न अमूल्य आधार दिएको छ। तर यही ग्रन्थमा उल्लेख भएका स्थाननाम, मार्ग र भूगोललाई कसरी बुझ्ने भन्ने प्रश्नमा उन्नाइसौँ शताब्दीदेखि युरोपेली विद्वान्हरू निर्णायक बने। अलेक्जेन्डर कनिङ्घम र अरेल स्टाइनजस्ता नामहरूले भाषिक समानता र औपनिवेशिक नक्सांकनको आधारमा फा–ह्यानले आजको दारेल उपत्यका हुँदै माथिल्लो सिन्धु नदीको जोखिमपूर्ण घाँटीमार्ग प्रयोग गरेर उत्तर भारत प्रवेश गरेको निष्कर्ष निकाले। समयक्रममा यही व्याख्या ‘वैज्ञानिक सत्य’का रूपमा स्थापित भयो र चिनियाँ तथा अन्तर्राष्ट्रिय शैक्षिक जगतले पनि लामो समयसम्म यसलाई प्रश्न नगरी स्वीकार गरिरह्यो।
प्रो. ली सिक्वाङ्गको अनुसन्धान यही मौन स्वीकृतिको विरुद्ध उभिन्छ। उनको प्रश्न सरल तर गहिरो छ, के उपनिवेशकालीन विद्वान्हरूले फा–सियानको यात्रालाई साँच्चै बुझ्न खोजे, कि उनीहरूले पूर्वीय इतिहासलाई आफ्नै बौद्धिक फ्रेममा फिट गरेरु यो प्रश्न केवल ऐतिहासिक होइन, राजनीतिक पनि हो, किनकि उपनिवेशकालीन ज्ञान उत्पादनले एशियाली भूगोल, सभ्यता र इतिहासलाई बाह्य दृष्टिकोणबाट परिभाषित गर्यो, जसको प्रभाव आजसम्म पाठ्यपुस्तक र विश्वविद्यालयमा जीवित छ।
यो अनुसन्धानलाई विशेष बनाउने पक्ष यसको विधि हो। प्रो। ली सिक्वाङ्गले अभिलेख र नक्सामा सीमित भएर निष्कर्ष निकालेनन्। उनले चीन, ताजिकिस्तान, अफगानिस्तानको वखान करिडोर र पाकिस्तानका दुर्गम भूभागमा दश वर्षभन्दा बढी समयसम्म प्रत्यक्ष स्थल–मैदान अनुसन्धान गरे। ती मार्गहरू जहाँ आज पनि पुग्न कठिन छ, जहाँ मौसम, भूगोल र राजनीतिक संवेदनशीलताले प्रत्येक कदम परीक्षा लिन्छ। यही अनुभव, ऐतिहासिक पाठ विश्लेषण, भू–भौतिक अध्ययन र बहुविषयक प्रमाणको संयोजनबाट उनले फा–सियानको यात्रामार्ग पुनःनिर्माण गरे।
उनको निष्कर्षले स्थापित मान्यतालाई सीधै चुनौती दिन्छ। फा–सियानले प्रयोग गरेको मार्ग माथिल्लो सिन्धु नदीको खतरनाक घाँटी होइन। ‘陀历国’ ९तुओ–ली देश० लाई आजको दारेल उपत्यकासँग जोड्नु भाषिक सरलीकरण र औपनिवेशिक दृष्टिकोणको परिणाम हो। प्रो। ली सिक्वाङ्गका अनुसार फा–सियानको वास्तविक मार्ग फरक भू–क्षेत्र हुँदै उड्डियान ९आजको स्वात क्षेत्र आसपास० पुग्ने सम्भावनासँग जोडिन्छ। यसले केवल एउटा यात्रामार्ग परिवर्तन गर्दैन, बौद्ध धर्मको प्रसार कसरी भयो, कुन भेग सभ्यतागत संगम थियो र कुन पहाडी मार्ग प्राचीन कालमा व्यवहारिक थियो भन्ने प्रश्नमा नै नयाँ बहस खोल्छ।
यस अनुसन्धानको महत्व बौद्ध इतिहासमा मात्र सीमित छैन। यसले ज्ञान उत्पादनको संरचनामाथि नै प्रश्न उठाउँछ। किन पश्चिमा विद्वानहरूको व्याख्या ‘वैज्ञानिक’ ठहरियो र पूर्वीय स्रोत तथा अनुभवलाई लामो समयसम्म सहायक मात्र मानियोरु प्रो। ली सिक्वाङ्गको काम त्यसैको प्रतिवाद हो, ज्ञान केवल अभिलेखमा होइन, भूमि, यात्रा र अनुभवमा पनि निहित हुन्छ।
सेमिनारमा सहभागी अन्तर्राष्ट्रिय विज्ञहरूले यस अनुसन्धानलाई इतिहास–भूगोल शास्त्रको पुनर्लेखन तर्फको ठोस कदमका रूपमा मूल्याङ्कन गरेका छन्। फा–सियानका हजार वर्ष पुराना पाइला पामिर र हिन्दुकुशका पहाडबीच पुनः स्पष्ट भएका छन्। हराउँदै गएको सभ्यतागत संवाद, प्राचीन यात्रुहरूको जोखिम, धार्मिक खोज र ज्ञान आदान–प्रदानको कथा फेरि उजागर भएको छ।
यसको अर्को महत्वपूर्ण आयाम चीन–पाकिस्तान सम्बन्धसँग गाँसिएको छ। प्राचीन इतिहासको साझा अध्ययनले आधुनिक कूटनीतिक सम्बन्धलाई सांस्कृतिक र बौद्धिक गहिराइ दिन्छ। ‘आइरन ब्रदर’ भनेर चिनिने चीन–पाकिस्तान सम्बन्धलाई यो अनुसन्धानले केवल रणनीतिक वा आर्थिक तहमा होइन, सभ्यतागत र शैक्षिक तहमा पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।
सबैभन्दा महत्वपूर्ण कुरा, प्रो. ली सिक्वाङ्गको कामले नयाँ पुस्ताका अनुसन्धानकर्तालाई स्पष्ट सन्देश दिन्छ कि स्थापित मान्यतालाई चुनौती दिन डराउनु हुँदैन। इतिहासमाथि प्रश्न गर्न सकिन्छ, नक्सा पुनःकोर्न सकिन्छ र सत्य खोज्न शरीर, समय र साहस लगाउन सकिन्छ। दशकौँको पैदल यात्रा, व्यक्तिगत जोखिम र अकादमिक निष्ठाबाट जन्मिएको यो अनुसन्धान केवल एक पीएचडी थेसिस होइन, उपनिवेशकालीन ज्ञान संरचनामाथिको गम्भीर बौद्धिक हस्तक्षेप हो।
अन्ततः, फा–सियानको यात्रामार्गको पुनर्निर्माण इतिहासको एउटा अध्याय मात्र होइन, इतिहास लेख्ने तरिकाको पुनर्विचार पनि हो। जब सत्यलाई कागजबाट झिकेर भूमिमा राखिन्छ, तब इतिहास साँच्चै बोल्न थाल्छ र यही आवाजले आज अन्तर्राष्ट्रिय शैक्षिक जगतलाई नयाँ दिशातर्फ डोर्याइरहेको छ।
लेखक परिचयस् प्रेम सागर पौडेल नेपालका वरिष्ठ पत्रकार तथा अन्तर्राष्ट्रिय सम्बन्ध विश्लेषक हुन्। उनले नेपाल–चीन सम्बन्ध, हिमाली क्षेत्रको भू–राजनीति र एशियाली सुरक्षाबारे गहिरो अध्ययन गरेका छन्।



