
चुनाव लागेसँगै खाद्यान्न सामग्रीहरूको भाउ ह्वात्तै बढेको छ । चामलको बोरामा तीन सय रूपैयाँसम्म बढेको छ । खाने तेलको भाउ लिटरमै ५० रूपैयाँले वृद्धि भएको छ । सबै प्रकारकादैनिक उपभोग्य सामानको भाउ व्यापारीले बढाएका छन् ।
बजारमा ग्याँसको हाहाकार भएको छ । पसलहरूमा ग्याँस भेटिँदैन । ग्याँसको हाहाकार भएको हो कि बनाइएको ? हरेक चुनाव आउँदा सामानको मूल्य बढ्छ । बजारमा कालोबजारी बढ्छ । राजनीतिक दलहरू व्यापारीबाट चन्दा उठाएर चुनाव लड्छन् । फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । व्यापारीले पार्टीलाई दिएको चन्दा उठाउन मूल्य बढाएका हुन् ।
मेयर हुँदा सूर्तिजन्य पदार्थमा बन्देज लगाएका बालेन साहले झापा चुनाव प्रचारमा पुग्दा तिनै बस्तु व्यापार गर्ने व्यापारीको डिफेण्डर गाडी चढ्छन् । पुराना त पुराना र बद्नाम भइहाले, नयाँ भन्नेको पनि अनुहार यस्तो छ । चन्दा र उपहार लिएपछि व्यापारीको पक्षमा काम गर्नैपर्छ । राजनीतिक दलहरू जनताका लागि काम गर्छु भन्छन् तर वास्तवमा उनीहरूले व्यापारीको हितमा काम गर्छन् । जनतालाई सँधै झुक्याउने काम भइरहेको छ । नयाँको गतिमति पनि आशलाग्दो देखिएन ।
केपी ओलीको नाँडीमा तीन करोडको घडी छ । पुष्पकमल दाहालले ७८ लाखको घडी बाँधेका छन् । उनीहरूको हैसियत छ, त्यति मँहगो घडी बाँध्नलाई ? उनीहरूले पनि पक्कै कसैको उपहार लिएको हुनुपर्छ । यिनले राज्यलाई कति लुटे होलान् ? भाटभटेनी साहु मीनबहादुर गुरूङ्ले राज्यलाई साढे चार अर्ब राजश्व तिर्न बाँकी छ । भाटभटेनी साहुले मानिरहेका छैनन् । यिनले एमालेलाई जग्गा दान दिएका छन् । भवन पनि आफै बनाइदिन्छु भनेका छन् । नेताले चन्दा लिएर जनतालाई मासुभात, रक्सी खुवाएर भोट लिन्छन् र चुनाव जित्छन् । सत्तामा पुग्छन् र गर्ने भ्रष्टाचार नै हो ।
कतिपय बदनाम उमेदवारले एउटा भोटको पाँच हजार रूपैयाँ दिन्छन् । त्यो पछि उठाउने जनतासँगै हो । एक छाक मासुभात र पाँच हजार रूपैयाँमा बिक्दा पाँच वर्ष जनताले दुःख खेप्नुपर्छ । महगी, हाहाकार, बेरोजगारी, असुरक्षा बढ्दो छ । नेता, प्रशासक, सुपरमार्केटदेखि किराना पसलसम्मले सेवाग्राही ठगिरहेका छन् । कानुन व्यवस्था छ, अनुगमन कोही गर्दैनन्, सबैलाई जनता जो ठग्नु छ ।
चुनावमा लाग्ने खर्चको भार जनताको थाप्लोमा पर्छ । अहिले चुनाव गर्दा २७ अर्ब रूपैयाँ खर्च हुने प्रक्षेपण गरिएको छ । सो खर्चको स्रोत जनताले तिरेको कर र वैदेशिक ऋण हो । वैदेशिक ऋण बढ्दा जनताको थाप्लोमा ऋणको भार बढ्छ । हरेक चुनावपछि बजारमा महँगी बढ्छ । मर्कामा पर्ने फेरि जनता न हुन् ।


