
कालो बादलले छोपेको सूर्यको किरण सुस्तरी चलेको बतासले पनि विस्तारै हटाउँदै जान्छ । अहिले हिजो जेन्जी आन्दोलनमा घुसेर आफ्नो राजनीति स्वार्थ पुरागर्न खोजेका केही झुण्डहरूको अबस्था विस्तारै प्रष्ट हुँदै आएको छ । उनीहरू जनतामा जसरी स्थापित भएका थिए, उस्तै गरि नांगिने पनि छन् ।
गलत गरेपछि परिणाम गलत आउँछ । ३७ वर्षदेखि सत्ता र शक्तिमा किर्ना टाँस्सिएझैं टाँस्सिएकाहरूले राम्रो गरिदिएका भए भदौ २३ आउने नै थिएन । भदौ २३ मा १९ बालबालिका राज्यसत्ताको निरंकूशताले नमारेको भए भदौ २४ पनि आउने थिएन । भदौ २४ मा ७६ जना मारिएपछि ३७ वर्षको राजनीतिक बादशाहहरूको सत्ता र शक्ति बालुवाको महल ढलेझैं ढलेको हो ।
भनिन्छ, जैसी करनी, ओइसी भरनी । जनताको भरोसा नतोडी दिएको भए न राजतन्त्र जिन्दावादको नारा लाग्थ्यो, न परिवर्तनको खोजी हुन्थ्यो । न जनताको असन्तुष्टि संवोधन गरिदिएको भए न भदौ २३, २४ आउँथ्यो, न फागुन २१ को चुनाव नै हुन्थ्यो । २०३६ को जागरूकता, २०४६ को बहुदल, जनयुद्ध र २०६५ को परिवर्तनसमेत धुलिसात हुनपुग्यो । संंविधान खोस्टो भइसक्दा पनि स्थापित ठूला दल र नेताहरूले यी सब घटनाक्रमको जिम्मेवारी लिने साहस र नैतिक दायित्व नलिनु राजनीतिमा हुर्किएको नैतिकहीनता नै हो ।
हो, जेनजी आन्दोलनको नाममा घूसपैठ भएकै हो । यसको कारक पनि ठूला दल नै हुन् । जेनजी आन्दोलन हुन्छ भन्ने भनकसम्म नपाउने सुरक्षा निकाय, राजनीति कस्तो हो ? किन राज्यकोष खुवाएर यिनलाई साँढे पालेजसरी पालेको होला ? अब पनि नचेत्ने ?
यो प्रकृतिको नियम हो सही विचारलाई गलत विचारले सधैँ छोपिरहन सक्दैन । एउटा झुट लुकाउन सयौँ हजारौँ झुटको सहयोग लिइन्छ तर पनि परिणाम नकारत्मक नै आउँछ । जेन्जी आन्दोलनलाई कुन मौका परस्तले घुसपैठ गरेर निर्दोष भाइ बहिनाको हत्या गरायो, अन्धो सरकारले हत्या गर्न अग्रसर भयो ? खोजबिन गर्ने प्रयत्न गरिरहेका छन् । यो भूलबाट अनेक दुस्परिणाम आउन सक्छ । नयाँ पुस्ता धेरै नै जागरूक बनेका छन् । रास्वपाको लहर देखियो र धेरै ठाउँमा रास्वपाका उमेदवारलाई नयाँ पुस्ताले प्रश्न उठाउन थालेका छन् र जवाफ दिन नसकेर भागेका पनि छन् । रास्वपाकै आफूलाई दलितको हितमा आवाज उठाएर परिचित भएका खगेन्द्र सुनारको पटक पटक जीभ्रो चिप्लिंदा सङ्कटमा परेका छन् । घन्टी पार्टीका आफूलाई बुद्धिजीवि भन्नेहरू आफै विवेकहीन बनेको पनि देखियो ।
एमाले, कांग्रेस र नेकपाका केही नेताहरू पनि बिबादित र द्वन्द्व बढाउने खालका अभिव्यक्तिमा मुछिएका छन् । कतिपय पार्टीका नेताहरू कोही अमेरिकापरस्त, भारत, चीनपरस्त आरोपमा पनि आरोपित छन् । दुर्गा प्रसाईले चुनावै हुन दिन्न भनेका कारण फेरि पनि पक्राउ परिसकेका छन् । खासगरी भारतपरस्त अभिव्यक्ति कांग्रेसका उमेदवारहरूले दिएका कारण बिबादित भएका छन् । आन्तरिक चुनावमा राष्ट्रियता कमजोर पार्ने, धार्मिक द्वन्द्व बढाउने, महिला अस्मिता कमजोर पार्ने खालका कामकुराहरू किन नेताहरू गर्छन्, त्यो बुझिनसक्नु छ । यस्ता नेताहरूलाई जनताले चिन्न जरूरी छ, विचार गर्न जरूरी छ । यस्ता विवादित छबि भएका नेताहरूलाई जिताएर सुशासनको आश गर्नु भनेको आत्माघाती बिषय हो । बालेन देशको होइन, मधेशको छोरो भनेर बिहारबाट आएका आयातित मधेशीहरूको समर्थन् जुटाउन खोजेको देखिन्छ । गगनले हिमाल, पहाड, तराई जोड्ने कुरा गर्न सकेको देखिएन ।
रवी लामिछानेले सहकारीको रकम हिनामिन्हाको आरोपबाट मुक्ती पाएका छैनन् । उनीमाथि अनेक आरोप र काण्डका कलंक रहेका छन् ।
नयाँ भनिएका नेताहरू बारबरा फाउण्डेसनदेखि अनेक विदेशी संस्थामा जोडिएका कडीहरू देखिन्छन् भने ३७ वर्षदेखि गजधम्म सत्ता र शक्तिमा बसेका राजनैतिक पार्टीका नेताहरू भ्रष्टाचार र नेपोटिजममा बदनाम छन् । बालेन र रवि लामिछानेको लहरले पुराना दलहरूलाई त्रसित बनाएको छ । कांग्रेस, एमाले, नेकपाले नयाँ नयाँ अनुहारलाई मौका दिएका छन् । पुराना दर्जनौं राजनीतिबाट किनारा लाग्न थालेका छन् भने खासगरी प्रचण्ड र ओलीले राजनीतिबाट अलग नहुनुलाई राम्रो मानिएको छैन । किनकि परिवर्तन समयले ल्याउने हो, जनताले परिवर्तन खोजेका छन् ।
खगेन्द्र सुनार, सोविता गौतम, स्वर्णिम वाग्ले जस्ता उमेदवारहरू धार्मिक, लैङ्गिक, सावैभामिकतालाई बिबादित बनाउने काम गरिरहेका छन् । राम्रो के हुन्छ, चाहिएको के हो, आफ्नो सिद्धान्त, नीति, कार्यक्रम के हो ? यसविषयलाई प्रष्ट पारेर जनतासँग भोट माग्नुपर्नेमा समाजलाई नै धमिल्याउने कम अहिलेदेखि नै सुरू हुनु भनेको यिनको राजनीतिले समाज परिवर्तन गर्न सक्दैन भन्ने अहिले नै देखिन थालेको होइन र ?
चुनाव राष्ट्रको लागि हुनलागेको हो । राष्ट्रलाई कसरी अघि बढाउने, जनताले खोजेको परिवर्तन नेताका कार्यक्रममा हेर्न चाहेका छन् । सुशासन कसरी ल्याउने, भ्रष्टाचारको न्यूनिकरण र समानता तथा दण्ड पुरस्कारको व्यवस्था के गर्ने हो ? कुनै पनि पार्टी वा उमेदवारले प्रष्ट पारेका छैनन् ।
अहिलेसम्म यिनै नयाँ पुराना पार्टीले देशलाई लुटे, खरानी पारे, विदेशीहरू खुसी पार्ने सेवा गर्दै आए, अब पनि त्यसै गर्ने हो ?
जनताको अमूल्य मत माग्ने साँचो तरिका किन देखिएन ? बहुजातीय र बहुभाषिक बहुधार्मिकताको विविधतामा एकता ल्याउने र यो एकतालाई देश निर्माणमा लगाउने खाका किन सार्वजनिक हुनसकिरहेको छैन ?
विभेद छ, निषेध छ, दण्डहीनता छ, मानवाधिकार सुरक्षित छैन, परिवारवाद छ, विधिको शासन छैन । बाहुबलीतन्त्र हावी छ । यो कसरी कम गराउने ? समाज सुधारको कुनै योजना नआउनु चुनावप्रति जनतामा रहेको बितृष्णा झन बढ्नसक्ने देखिन्छ । सबै प्रकारका बिकृतिबाट मुक्ति नेपालको वर्तमान आवश्यकता हो । यो आवश्यकता कुन खालका उमेदवारले चुनाव जिते भने सम्भव छ ? यसको चेत जनतामा आउनुपर्छ, जनतालाई यही प्रकारले जागरूक पार्नुपर्छ ।
एउटा नेता भनेको कुनै राजनीतिक सिद्धान्तमा बांधिएको देश र जनताको हितमा बोल्नसक्ने क्षमता भएको ब्यक्ति हुनुपर्छ । मात्र बिरोधको लागि बिरोध गर्ने छाडा र अनुसाशनहीन ब्यक्तिहरूले राजनीति धमिल्याए, धमिल्याउने छन् । लोभ, लालच, भय त्रासमा पारेर कुनै नेताले चुनाव जिते भने फेरि पनि पुरानै खालका समस्या दोहोरिनेछन् । तसर्थ आकासतिर फर्केर थुक्नेहरूको थुक आफ्नै मुखमा पर्छ भन्ने सबैले बुझौं । जुनसुकै पार्टीको राजनीति गरेपनि राजनीतिक संस्कार र सभ्यता, जनताप्रतिको इमानदारीपूर्ण दायित्व परिवर्तनको मुख्य तत्व हुनुपर्छ । धेरै पतन भइसक्यौं, अब यो पतनबाट उत्रनुपर्छ ।


