Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

चन्द्रागिरी पुगेपछि ओली झल्यास्स भए

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

पदम हमाल - 
शरीर थोत्रो भए पनि राजनीति गर्नेहरुको विचार सधैं ताजा भइरहनुपर्छ। नेपाली नेताहरुमा उल्टो गति छ, उल्टो मति छ। चन्द्र ढकालले चन्द्रागिरी केबुलकार चढाएर चन्द्रागिरी डाँडामा पुर्‍याएरपछि यता उपत्यका, उता मकवानपुरका दृश्यहरु देखेपछि एमाले नेता केपी ओली झल्यास्स भए र भनिहाले– चन्द्रागिरी डाँडामा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जुँगामा ताउ लगाएको सालिक राख्नुपर्छ। चन्द्र ढकाल दङ्ग परे। यी तिनै चन्द्र ढकाल हुन्, जसले आफ्नो नाम जुराएर थानकोट चन्द्रागिरी केवुलकार निर्माण गराए। हुन त यसमा भाटभटेनी समूहदेखि एनआरएनसम्मका व्यक्तिहरुको लगानी छ। तर हर्ताकर्ता छन् चन्द्र ढकाल। उनलाई ठूलै उपलव्धि हासिल भएको अनुभूति भएको छ। ओलीले तत्कालै चन्द्र ढकाललाई डाँडामै सम्मान पनि गरिहाले। 
आफैबाट प्रायोजित सम्मान हात थाप्दा कति रमाइलो हुन्छ, यसको अनुभूति चन्द्र ढकाललाईमात्र हुनसक्छ। यद्यपि राजधानीमा युवयुवतीलाई रमाइलो गर्ने स्थान जुराइदिएका छन् चन्द्र ढकालले। समय बिताउन जाने, पारिवारिक र सामुहिक मनोरञ्जन थलो पनि बनेको छ चन्द्रागिरी। चन्द्रागिरी डाँडो, त्यही डाँडो हो, जहाँ आएपछि पृथ्वीनारायण शाहले उपत्यका देखे अनि उपत्यकामा कव्जा गर्ने मनसुवा बनाए, नभन्दै बडामहाराजाधिराजले उपत्यका जितेपछि गोरखाका राजाले गोरखा होइन, नेपाल राज्यको स्थापना गरिदिए। त्यसकारण हामी नेपाली हौं। 
पृथ्वीनारायण शाहले चन्द्रागिरी डाँडामा भालेश्वर महादेव स्थापना गरे।  भाल अर्थात निधारपतन भएकाले त्यो स्थानमा भालेश्वर महादेव स्थापना गरिएको हो। तर, चन्द्र ढकालले पृथ्वीनारायण शाहले चढाएको भाला, त्रिशुल,पूजा गरेको महादेवको शिलालाई छाडेर छुट्टै मन्दिर बनाए, नाम राखे भालेश्वर महादेव। किन असली महादेवको पत्थरको अपमान गरियो? यो सोधेनन्, कसैले। सबैले चन्द्र ढकालको प्रशंसा गरेका छन्। काम राम्रो हो, आन्तरिक पर्यटन वृद्धि हुन्छ, बाह्य पर्यटकका लागि पनि आकर्षक गन्तव्य हो, घण्टा घण्टामा परिवर्तन हुने मौसमले पनि चन्द्रागिरी राजधानीको मुस्ताङ हो भन्दा हुन्छ। 
प्रधानमन्त्री हुन्जेल चन्द्रागिरीको डाँडो र पृथ्वीनारायण शाहलाई बिर्सेका केपी ओलीले अव सम्झना गरेका छन्। ढिलै भए पनि सद्बुद्धि हो। अव उनले सालिक ढाल्दै हिडेका माओवादीलाई पृथ्वीनारायण शाहको महत्व र एकता दिवसमा बिदा दिनुपर्ने आग्रह गरेको सुन्न पाइएला कि?