Advertisement Banner
Advertisement Banner

२० शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

८ अर्वको शेयर कारोवार सबै सेतै पैसा हो?

२७ सोमबार , भाद्र २०७३१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ-  
गतसाता ५ दिनमा ८ अर्व ५२ करोड, १९ लाख ४८ हजारको सेयर खरिद बिक्री भयो। नेपालमा कसैको मूल्य बढेको छ भने सेयरको छ र पैसाको बाढी कतै चलेको छ भने सेयरबजारमा देखिन्छ। के यी सबै रकमको स्रोत खुलेको छ, सबै रकम ह्वाइट मनी नै हो? यसबारेमा ठूलै हल्ला चलेपछि छानबिन समिति बनाइयो र कसको दबाबमा हो, समिति नै बिघटन गरियो। सेयर बजार गुल्जार छ, पैसा टनाटन छ। अन्यत्र आर्थिक हाहाकार होला, सेयरबजारमा छैन। 
आश्चर्य गत हप्ता संस्थागत र सरकारी ऋणपत्रहरुको कारोवार शून्यतामा देखियो, किन? शेयर खरिद विक्रीमा पैसाको ओइरो लाग्ने, ऋणपत्रतिर कसैको ध्यान नै नजाने? कतै पैसाको स्रोत खोजिन्छ भनेर हो कि? नियन्त्रण र नियमन निकायले सुक्षम तरिकाले जाँच गर्नैपर्छ र कालो धन छ भने त्यसमा ब्रेक लाग्नैपर्छ। कालोधन र स्रोत नखुलेको धन सेयरमा आउनु र त्यसमा कुनै निगारनी नहुनु भनेको भ्रष्टाचारलाई फलिफाप गराउने नीति पनि हुनसक्छ। 
भन्नेहरु त सेयरबजारमा कालोधनमात्र होइन, आपराधिक आम्दानीको धन बढी लगानी भइरहेको छ भन्छन्। अन्तर्राष्ट्रिय गिरोहहरुले रेमिटान्सका रुपमा पैसा पठाएर हैसियतबिनाका व्यक्ति खडा गरेर पनि सेयर कारोवारमा लगानी गर्ने, अनपेक्षित रुपमा कुनै संस्थाको भाउ बढाउने र ओराल्ने काम पनि गरिरहेको केही सेयर खेलाडीहरु बताउँछन्। अर्थविदहरुको तर्क मान्ने हो भने जो भ्याट छली गर्ने विग हाउसहरु छन्, तिनको लगानी पनि सेयरमा बढी छ। 
उद्योगधन्दा सेलाउने, व्यापार घट्ने, वैंक र जलस्रोत क्षेत्रका सेयर कारोवार बढ्दै जाने। मूल समस्या आर्थिक स्रोतको हो। गरिव देशमा ५ दिनमा झण्डै ९ अर्वको सेयरको कारोवार हुनु भनेको रहस्यमय छ। रहस्यको चिरफार गर्ने निकायले आइग्लास लगाएर हेर्नैपर्छ। सेयर कारोवार बढेकोमा चिन्ता होइन, कालोधन लगानी गरेर भ्रष्टाचार बढेर सुशासनलाई कूशासनको जरो गाड्छ कि भन्ने चिन्ता हो। यो चिन्ता अकारण छैन, कारणको खोज हुनुजरुरी छ। 
अर्थतन्त्रको मजबुती र स्वच्छताका लागि पनि छानबिन हुनुपर्ने देखिन्छ।