धर्मरत्न श्रेष्ठ-
राजनीतिक फाइदाका लागि जनजाति उराल्नु र मादल ठोकेर जनजाति उफार्नु जति कायरता हो, त्यत्तिकै रुपमा भारत पुगेर अपेक्षा गरिएका कुनै पनि कुरा उठाउन नसक्नु पनि कायरता नै हो। यस्ता कायरता प्रधानमन्त्रीको भ्रमणको सफलताको मापन कसरी हुनसक्छ? भदौ ३० गते भारत जानुअघि बुद्धिजीवी, पत्रकार, कूटनीतिज्ञ, व्यापारी, उद्यमी र भारत बुझेकाहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए। सिमानामा भइरहेका भारतीय ज्यादति, महाकाली सन्धि र पञ्चेश्वर आयोजनादेखि लिपुलेक फिर्ता गर्न र १९५० को सन्धि खारेजीसम्मका विषयमा कुरा गर्न हिम्मत दिएकै हुन्। जब प्रचण्ड दिल्ली पुगे, उनको ओठमुख सुक्यो, जिब्रो तालुमा टाँसियो। नेपालीले अपेक्षा गरेका र नेपालले उठाउनै पर्ने एउटा मुद्दा पनि प्रधानमन्त्रीले उठाउन, छलफल गर्न सकेनन्।
भारतका प्रधानमन्त्रीले संविधान संशोधन गरेर मधेसी दलहरुलाई खुशी पार्न निर्देशन दिए, यो हाम्रो आन्तरिक मामिला हो भन्नसमेत सकेनन्। अरु त अरु माओवादी युवाहरुले राष्ट्रियताका बारेमा नझुक्न दिएको आग्रह पनि अटेर गरे। ती माओवादी युवाले गतवर्ष मे १५ (जेठ १) मा भारत र चीनले दार्चुला–लिपुलेकबाट व्यापार गर्न गरेको सम्झौता खारेज गर्दै लिपुलेक नेपालको हो, नेपालको हितमा कुरा गर्न हौस्याएका थिए, प्रचण्डले कुरै झिक्न सकेनन्।
लिपुलेक मार्च गरेर फर्केका माओवादी नेता रत्न ढकालको कुरा पनि सुनेर गएका प्रचण्डले राष्ट्रवादका सम्बन्धमा जिम्मेवार हुनसकेनन्। यतिबेला समाज, राजनीति, कूटनीति र सामाजिक सञ्जालमा प्रचण्डको आलोचना भइरहेको छ। बरु प्रचण्ड महिनादिनभित्रै दिल्ली दर्शनमा जानुभन्दा भूकम्प र बाढीपहिरो पीडित क्षेत्रहरुमा गएर आफ्नै जनताहरुसँग भेटेर सरकारले दिएको निर्देशन, गरेको निर्णयहरुको पालना भएको छ कि छैन भनेर आफैले निरिक्षण गरेका भए यतिबेला प्रचण्ड जनताप्रति जिम्मेवार देखिन्थे, राष्ट्रवाद देखिन्थ्यो।
प्रचण्ड मादलेबाट माथि उठ्न सकेनन्। प्रचण्ड जहिले पनि ठूला कुरा गर्छन्, के के न गर्छु भनेर डिङ हाँक्छन्, जब देशको सवाल आउँछ, जनताका अपेक्षाका विषयमा कुरा उठाउने मौका मिल्छ तव तव प्रचण्ड यसैगरी चिप्लिने गरेका छन्। आफूलाई स्वाधीनताका पक्षधर भनेर भाषण गर्ने प्रचण्डले यति ठूलो मौका गुमाए। राजनेता बन्ने मौका, राजनीतिमा अग्लो व्यक्तित्व निर्माण गर्ने मौका, गुम्यो। समयले कसलाई पर्खेको छ र प्रचण्डलाई पर्खिरहन्छ?