Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

त्यो एकदिन आयो, नयालाई शासनमा ल्यायो

०३ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

त्यो एकदिन आयो, नयालाई शासनमा ल्यायो

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ

लाटासुधा बोल्न थाल्छन्, चल्न ओठ दुःखको
सहे भनी सम्झिएका ईख फेर्न उठ्तछन्
गए भनी नदेखिएका फर्की फर्की आउँछन्
सुते भनी सम्झिएका सुरू सुरू हिड्छन्
मरे भनी फ्याँकिएका जुरूजरू उठ्तछन्

खरानी हुन्छ भरभराउँदो हुरी चल्न थाल्दछ
कायर पनि वीर हुन्छन्, बेग चल्छ जोशको
हाहाकार मच्छ यहाँ पाप खुल्न थाल्दछ
एक जुगमा एक दिन एकचोटि आउँछ ।
        – गोपालप्रसाद रिमाल

कवि गोपालप्रसाद रिमालले २०१६ मा लेखेको कविता हो यो ।
यो कविता सार्वजनिक हुनासाथ २०१७ सालको घटना घटेको थियो । पछि २०३६ सालमा जनमत संग्रह भयो, २०४६ सालमा बहुदल आयो, २०६५ सालमा गणतन्त्र ल्याइयो, २०८२ भदौ २३ र २४ गते जुन घटना घट्यो, त्यसको परिणाम फागुन २१ को चुनाव भयो र नेपालको इतिहासमै नयाँ पुस्ताले पुरानो पुस्तालाई परास्त गरेर देशको शासनसत्ता आफ्नो हातमा लियो ।
एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्याउँछ ।
   त्यो एकदिन आयो, हेरफेर ल्यायो ।
   नयाँ पुस्ता देश हाँक्ने भयो ।
नेपालको इतिहासको राजनीतिक परिदृश्यमा ऐतिहासिक मोड मोड हो यो । पुराना दलहरूको लामो समयको प्रभुत्वलाई कायम राख्न सकेनन् । नयाँ दलले बहुमत प्राप्त गरी सरकार गठन गर्ने तैयारी गर्दैछन् । यसले जनतामा नयाँ आशा र अपेक्षा जगाएको छ, तर आलोचनात्मक दृष्टिकोणले हेर्दा यो परिवर्तनले अवसर मात्र होइन, गम्भीर चुनौती पनि बोकेको छ । 
नयाँ सरकारको उदयलाई जनताले पुराना दलहरूको असफलता र भ्रष्टाचारप्रति असन्तोषको प्रत्यक्ष परिणामका रूपमा बुझ्न सकिन्छ । दशकौँसम्म सत्ता सञ्चालन गरेका दलहरूले सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस सुधार गर्न सकेनन् । नेपोटिजम र राजनीतिक अपराध पुरानाको कमजोरी देखियो । यसकारण जनताले विकल्प खोजेका हुन् । यस सन्दर्भमा नयाँ नेतृत्वको उदय जनअपेक्षाअनुकूल देखिन्छ । तर, आलोचनात्मक दृष्टिले हेर्दा नयाँ दलसँग राजनीतिक, कूटनीतिक, शासनव्यवस्था र प्रशासनिक अनुभवको कमी छ । जनताले चाहेको उच्च अपेक्षा पूरा गर्न नसकेमा असन्तोष झन् बढ्न सक्छ ।
नयाँ सरकारको पहिलो चुनौती सुशासन र पारदर्शिता हो । भ्रष्टाचार नियन्त्रण गर्ने वाचा जनताले विश्वास गरेर मत दिएको प्रमुख कारण हो । तर, नेपालमा भ्रष्टाचार गहिरो संरचनागत समस्या बनेको छ । केवल नारा वा अभियानले यसलाई नियन्त्रण गर्न सकिँदैन । ठोस कानुनी सुधार, नियामक निकायलाई सशक्तिकरण र डिजिटल पारदर्शिता प्रणाली लागू नगरेसम्म परिणाम देखिँदैन । यदि नयाँ सरकारले यस क्षेत्रमा ढिलाइ ग¥यो भने जनताको विश्वास तुरून्तै कमजोर हुनेछ । सुरूका दिनदेखि नै जनअपेक्षाअनुसार काम गर्नैपर्नेछ ।
दोस्रो चुनौती आर्थिक विकास र रोजगारी सिर्जना हो । देशमै केही गर्न सकिन्छ, गरिखान पाइन्छ भन्ने उत्साह जगाउनैपर्छ । युवाहरूको ठूलो हिस्सा बेरोजगार छ, जसले वैदेशिक रोजगारी रोज्न बाध्य बनाएको छ । नयाँ सरकारले उद्यमशीलता प्रोत्साहन, कृषि आधुनिकीकरण र पर्यटन विकासमा ठोस कार्यक्रम ल्याउनुपर्छ । यी क्षेत्रमा दीर्घकालीन योजना, क्षमता प्रदर्शन र स्रोत व्यवस्थापन आवश्यक छ । केवल घोषणाले परिणाम ल्याउँदैन । परिणामबिना जनताको आशा कायम रहदैन ।
तेस्रो चुनौती शिक्षा र स्वास्थ्य हो । ग्रामीण क्षेत्रमा अझै गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सुविधा अभाव छ । नयाँ सरकारले शिक्षक तालिम, डिजिटल सामग्री, ग्रामीण अस्पताल, र स्वास्थ्य बीमा सुधारलाई प्राथमिकता दिनुपर्छ । यी सुधारहरू कार्यान्वयन कठिन हुन्छन्, किनकि स्रोत, बजेट र प्रशासनिक क्षमता सीमित छन् । तथापि महानगरको मेयर हुँदा बालेन शाहले जसरी शिक्षामा सुधार ल्याए, कमजोर बर्गका लागि छात्रबृत्तिको व्यवस्था मिलाए, त्यो अनुभव बालेनका लागि सहयोगी हुनेछ ।
चौथो चुनौती संघीयता र स्थानीय सरकारसँगको सम्बन्ध हो । संघीय संरचना अझै स्पष्ट र कार्यक्षम छैन । संघीयता खारेज गर्ने माग देशव्यापी छ । तर यो मधेशको माग भएकाले मधेशलाई कसरी सम्झाउने यो चुनौती हो । मधेशले हिन्दुराष्ट्र पायो भने पालिकालाई स्रोत, साधनले सशक्त बनाउँदा बिरोध नगर्ने देखिन्छ । स्थानीय तहलाई पर्याप्त अधिकार र स्रोत दिंदा स्थानीय विकास र रोजगारीमा ठूलै तरङ्ग आउनेछ ।  नयाँ सरकारले केन्द्र–स्थानीय सरकारबीच समन्वय बढाउँदा रास्वपाका बाचापत्रले मूर्तरूप पाउनसक्छ । विपक्षीले संघीयताका पक्षमा ठूलै आन्दोलन गरे भने पनि त्यो बिरोधले केही गर्न सक्दैन ।
त्यसै पनि राप्रपाले भनिसक्यो, संघीयता खारेजी र हिन्दुराष्ट्र हुने हो भने राप्रपाले आफूसँग भएको ५ मत रास्वपामा खन्याइदिनेछ । यस्ता समर्थन अन्य दलहरूबाट पनि आउनसक्छ ।
निष्कर्षमा भन्नुपर्दा नयाँ सरकार जनताको परिवर्तन चाहनामा आधारित छ । यसले अवसर ल्याएको छ—भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र संघीयता खारेजी,स्थानीय तहको सशक्तिकरण । यदि नयाँ सरकारले ठोस सुधार र परिणाम देखाउन सकेन भने जनताको विश्वास गुम्नेछ, र परिवर्तनको आशा निराशामा परिणत हुनसक्छ । त्यसैले, नयाँ सरकारलाई अवसर मात्र होइन, जिम्मेवारी पनि छ जसलाई अत्यन्त गम्भीर रूपमा लिनु आवश्यक छ ।
फागुन २१ को निर्वाचनले ल्याएको परिवर्तन चानचुने परिवर्तन होइन, जनताले चाहे भने कसरी परिवर्तनको आँधी ल्याउन सक्छन् भन्ने ताजा उदाहरण हो । जुन प्रकारले श्रीलंकामा परिवर्तन आयो, जुन प्रकारले बंगलादेशमा परिवर्तन भयो, त्योभन्दा पृथक तरिकाले नेपालमा परिवर्तन आएको छ । यो परिवर्तनले राष्ट्रको अस्तित्व रक्षा, जनताको आकांक्षा परिपूर्ति र सुशासन कस्तो हुन्छ भन्ने दृष्टान्त देखाउन सक्छन् । नेता भनेका देश र जनताका सेवक हुन् भन्ने पनि देखिनेछ । पुराना पुस्तालाई बिस्थापन र नयाँ पुस्ताको स्थापन र भावी पुस्तालाई मार्गदर्शन पनि यही नयाँ पुस्ताको शासन हुनजानेछ ।
नयाँ पुस्ताका नेताको नेतृत्व, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधारको उद्देश्य, स्पष्ट बहुमतका साथ स्थिरता । नेपालको प्रगतिको लागि आन्तरिक रूपमा अब सबै राजनीतिक शक्तिसँग संवाद, सहमति र सहकार्यमात्र बाँकी छ । बाह्य रूपमा परराष्ट्रनीतिमा प्रष्टता, दुबै छिमेकीलाई विश्वासको आधार र विश्वशक्तिसँग साझेदारी गर्न सकियो भने यो सरकारले नेपालको इतिहास रच्ने पक्का छ ।
जनताले नयाँपुस्तालाई पुराना दलप्रति असन्तोष व्यक्त गर्दै नयाँ विकल्पका रूपमा रोजेका हुन् । शान्ति, समुन्नति, रोजगारी सिर्जना, न्यायपूर्ण समाजको स्थापना जनताका अपेक्षा छन् । अनुभवी र विज्ञहरूसँग सुझाव लिएर चल्ने हो भने नयाँ पुस्तालाई ‘चार दिनकी चाँदनी’ भनेर गरेको खिसिट्यूरी अर्थहीन हुनेछ । नयाँ पुस्ताले नयाँ नेपाल बनाउने अभिभारा पूरा गर्छ भन्ने प्रमाणित गर्नुछ । नयाँ पुस्तासँग जोश छ, जाँगर छ, हौसला छ, यसैको जगमा निर्माण हुनेछ ।
नयाँ पुस्ताको शासनले भ्रष्टाचार नियन्त्रण, भ्रष्टाचारीलाई कारवाही, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार र न्याय प्रणालीमा पारदर्शिता सुनिश्चिता, पर्यटनको सम्भाबनालाई अघि बढायो भने स्रोतको कमी हुनेछैन, जनतामा भरोसा बढ्नेछ, विश्वले ‘फ्रड, ग्रे लिस्ट’ भनेर लगाएका आक्षेप र अविश्वास हट्दै जानसक्छ, युवाले त्यो क्षमता देखाउनुपर्छ । नयाँ पुस्तालाई जनताले अपार आस्था राखेरै मत दिएका छन् । जनबल नयाँ पुस्तालाई जब्बर शक्ति बनेको छ । यो शक्तिलाई आगामी ५ वर्ष कुनै पनि दल वा शक्तिले हल्लाउन पनि सक्नेछैन । रास्वपाभित्रको एकता एकढिक्को हुने हो भने अबको राजनीतिक मूलधार युवाशक्ति हुनेछ । जतिसुकै मच्चिए पनि नेपाली कांग्रेस, एमाले र नेकपाजस्ता परम्परागत दलहरू थच्चिनेछन् । आत्मतुष्टिका लागि रास्वपाको अभिभावक मै हुँ भन्नेहरू हावादारी साबित हुनेछन् । किनकि ०४६ सालदेखिका राजनीतिक शक्ति यिनै हुन्, यिनैले गणतन्त्र ल्याएको दावी गरे, संघीयताको फुइँकी लगाए तर यिनीहरू पाइला पाइलामा असफल भए । एकजना पनि पुराना ठूला नेता निस्कलंक छैनन्, जसको निधारमा भ्रष्टाचार र नातावादको कलंक नलागेको होस् ।
नेपालको निर्वाचन परिणाम देखेर विश्व चकित छ । यो नेपाली जनताको विवेकपूर्ण निर्णय हो कि पुराना नेताहरूको अतिवादविरूद्धको बिद्रोह ? नेपालभित्र चुनावी परिणामलाई नेपाली जनताले आफ्नो भविष्य निर्धारण गरिएको रूपमा ब्याख्या भइरहेको छ । अचम्म त के पनि छ भने भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र बिद्रोहपछि भागाभाग गरेका नेताहरू चुनावी परिणामपछि इन्तु न चिन्तुको स्थितिमा छन् । एकजना पनि नेता वा पार्टीले यो निर्वाचनमा धाँधली भयो भन्ने आवाज सम्म उठाउन सकेनन् । परिणाम स्वीकारे ।
नेपाल गरिब छ, चेतनाको कमी छ, मासुभात र पैसाले भोट किन्न सकिन्छ भन्ने भाष्य रहदै आएको थियो । यसपल्टको निर्वाचनमा मासुभात पनि चल्यो, खर्चपानी पनि बाँडियो तर मत घण्टीमै, परिवर्तनमै हालेको देखियो । आश्चर्य त के पनि छ भने पुराना कांग्रेस, एमाले, नेकपाका पक्का मानिएका मत समेत घण्टीतिर गयो । देशमा कुन प्रकारको हुटहुटी रहेछ, परिवर्तनको तिर्खा रहेछ भन्ने यो निर्वाचनले देखयो ।
यसमा जनयुद्ध, जनआन्दोलन, थुप्रै सडक संघर्षहरूका आवाज कसैले सुनेनन् । चेत बढ्दै गयो । जनताले सुशासन माग्दै गए, भ्रष्टाचारप्रति घृणाभाव राख्दैगए । यो निर्वाचनले नयाँ राजनीतिक संस्कार खोजेको देखायो । र, आमनागरिक परम्परागत भ्रम, नारा, खोक्रा आश्वासनमा सन्तुष्ट छैनन् भन्ने मात्र देखाएन, जनताप्रति जवाफदेहीता नहुने स्वीकार छैन भन्ने पनि देखाइदिए । जसकाकारण हार्दै हार्दैनन् भन्ने नेताले चुनाव हारे, धेरै मत ल्याउँछन् भन्ने नेताको जमानत नै जफत भयो । अब प्रत्येक राजनीतिमा लागेकाले बिर्सनै नहुने सत्य के हो भने जनताले परिणाम खोज्छन्, भ्रम सुन्छन्, भ्रममा परेर मतदान गर्ने दिन सकिएछ ।
०८२ फागुन २१ को निर्वाचन आउने कुनै पनि निर्वाचनका लागि ब्यारोमिटर हो । जसले यो बुझ्यो, उसका लागि चुनाव सरल होला, जसले बुझेन, उसले कहिले पनि चुनाव जित्न सक्दैन । र, बुढा पुरानाले पुस्तान्तरण गर्नैपर्छ । यो निर्वाचनमा जनताको चाहना युवा नेतृत्व हो । अब युवाको बिकल्प छैन ।  जहाँ जनतालाई हेपिन्छ, त्यहाँ जनताले हस्तक्षेप गर्छन् गर्छन् । यो चुनावले नारीशक्तिलाई पनि उर्जा थपेको छ । अब उत्तरदायित्व देख्नु देखाउनुपर्छ ।