Advertisement Banner
Advertisement Banner

०३ मंगलबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

नेपालमा इमानदारी र विवेकको झिल्को

०३ मंगलबार , चैत्र २०८२१० घण्टा अगाडि

नेपालमा इमानदारी र विवेकको झिल्को

गरिबीताले अनैतिक, स्वार्थी, लोभी, लालची, भ्रष्टाचारी हुन प्रोत्साहन गर्छ । यसैले प्रत्येक गरीब राष्ट्रमा  मुख्यतः भ्रष्टाचार, गरिबी, अस्थिरता र बाह्य दबाबको सामना गर्नुपर्ने सम्भाबना बढी हुन्छ ।  । यस्ता मुलुकहरूमा देखिने यी खतराहरू हुन् । तर अविकसित मुलुकमा सबैभन्दा विनाशकारी खतरा प्रायः अदृश्य हुन्छ । त्यो हो  बौद्धिक बेइमानी अर्थात शिक्षित,ज्ञानी, बुद्धिमान भएरपनि भएको ज्ञान सर्व कल्याणको लागि सदुपयोग नगरी आफ्नो मात्र स्वार्थको लागि दुरूपयोग गर्ने काम । यसले चालै नहुने गरी समाजमा नैतिकता कमजोर बनाउँछ, सत्यलाई विकृत गर्छ र निर्णय क्षमतालाई विषाक्त बनाउँछ । नेपालमा बौद्धिक बदमासहरू राजनीतिदेखि शौक्षिक संस्थासम्म फैलिएका छन् । वौद्धिक बेइमानीको खतरा राजनीति, शिक्षा, सञ्चार माध्यम र सामाजिक जीवनमा गहिरोसँग जरा गाडेर बसेको छ, जसका कारण स्रोत र सद्भावना उपलब्ध हुँदाहुँदै पनि मुलुकको वास्तविक प्रगति धरापमा परेकोछ । मुलुक भ्रष्टाचारमा जकडिएकोछ ।
बौद्धिक बेइमानी के हो ?
बौद्धिक बेइमानी भन्नाले केवल झूट बोल्नु मात्र होइन । यो व्यक्तिगत स्वार्थ वा उद्देश्य पूर्तिका लागि सत्यलाई जानाजानी बङग्याउने,विकृत वा लुकाउने प्रवृत्ति हो । यो तथ्यहरूको असत्य प्रयोग,अनैतिक सम्झौता, र अन्यायलाई न्यायोचित ठहरयाउन ज्ञानको दुरूपयोगका रूपमा देखा पर्छ । भौतिक भ्रष्टाचारले आर्थिक अर्थात रकम पैसा चोरी गर्छ भने बौद्धिक बेइमानीले अर्थ मात्र होइन सत्य र नैतिकताको नै विनाश गरी समाजनै नष्ट गर्छ ।जब नेताहरू, विद्वानहरू, पत्रकारहरू र नागरिक अगुवाहरू बौद्धिक बदमास भई निस्कन्छन्, तब न्यायपूर्ण समाजको आधार नै ढल्न थाल्छ ।
हाम्रो देश नेपाल—प्राकृतिक सौन्दर्य, आस्था र सांस्कृतिक सम्पदामा धनी भएपनि यो मुलुक शासन व्यवस्थामा कमजोर र अति भ्रष्ट हुनुको मूल कारण वौद्धिक बेइमानी नै हो । बौद्धिक बदमासहरू भाषणमा राम्रा राम्रा कुराहरू बोल्न सिपालु हुन्छन् तर आचरण र व्यवहार ठीक उल्टो गर्छन् ।यसको झलक हाम्रा धेरै नाम कहलिएका विभिन्न दलका नेताहरूका भाषणहरू, नीतिहरू र दैनिक कुराकानीहरू र तिनीहरूको आचरण र क्रियाकलाप तुलना गर्दा स्पष्ट देखिन्छ । यस्तो मुलुकमा इमान्दार ब्यक्तिहरूका राम्रा विचारहरू असफल हुने र गलत काम गर्नेहरू प्रायः सफल हुने हुन जान्छ । जुन हाम्रो मुलुकमा देखिरहेका छौं ।
राजनैतिक परिवर्तन र हाम्रो इतिहास
नेपालको आधुनिक राजनीतिक इतिहास परिवर्तनहरूले भरिएको छ—जसले नयाँ सुरूवातको बेला आशा जगाए तर अन्ततः निराशा दिए । प्रत्येक युगले—राजतन्त्रदेखि बहुदलीय लोकतन्त्र र संघीय गणतन्त्रसम्मले सुशासन र सुब्यवस्थाको नारा घन्कायो । तर ब्यवहारमा कुशासन र कुव्यवस्था मात्र बृद्धि गर्दै गयो । सही अर्थमा मुलुकको बिकास हुन सकेन । निम्न वर्गको जीवनस्तर उठ्न सकेन ।
२०१६ सालमा बि. पी. कोइरालाको नेतृत्वमा नेपालको पहिलो निर्वाचित लोकतान्त्रिक सरकार बनेपछि जनताले नयाँ युगको सुरूवात भएको विश्वास गरेका थिए । तर प्रजातन्त्र भन्दा दलतन्त्र हावी हुँदै गएपछि चाँडै राजनीतिक तनाव बढ्यो र २०१७ सालमा राजा महेन्द्रले सरकारलाई भ्रष्ट र अफाप सिद्ध भएको आरोप लगाउँदै संसद् विघटन गरे । उनले आफ्नो कदमलाई राष्ट्र बचाउन आवश्यक भएको बताए र धेरै बौद्धिकहरूले उनलाई समर्थन गरे । 
यसरी सुरू भएको पञ्चायत व्यवस्था तीस वर्षसम्म टिकिरह्यो—केवल बल प्रयोगका कारण मात्र होइन, बरू कर्मचारीतन्त्र, विद्वान बर्ग, राजनीतिज्ञहरू र सञ्चार माध्यमको पनि यसमा समर्थन र सहयोग रहयो । पञ्चायतले देश बिकासको जग अर्थात आधाराशिला पनि निर्माण ग¥यो । म ती दिनहरू स्पष्ट रूपमा सम्झन्छु । सार्वजनिक रूपमा धेरैले उक्त व्यवस्थाको प्रशंसा गर्थे; तर १९९० को जनआन्दोलनपछि तिनै व्यक्तिहरू अचानक बिना संकोच सजिलैसित बहुदलीय लोकतन्त्रका समर्थकका रूपमा प्रस्तुत भए । जता शक्ति उतै भक्ति भन्ने नेपाली उखान जस्तो ।
यो प्रवृत्ति २०६५ सालमा राजतन्त्रको अन्त्यपछि पनि दोहोरियो । उनै मान्छेहरू राजतन्त्रबादीवाट गणतन्त्रबादी भए राजनीतिक नामहरू बदलिँदै गए—लोकतान्त्रिक, संघीय, गणतान्त्रिक—तर बहुजनको मानसिकता र प्रवृत्ति प्रायः उस्तै रह्यो । सरकारहरूले पारदर्शिताको वाचा गरे, तर नातावाद कृपावाद, आफन्तबाद, मुख्यतः दलीय स्वार्थवाद र पक्षपातका सञ्जालहरू विस्तार गरे । राजनीतिक दलहरूले राष्ट्रिय एकताको कुरा गरे, तर निर्वाचन लाभका लागि दलीय गठवन्धन् र भागवण्डा  गर्ने बाहेक राष्ट्रिय एकता नारामा मात्र सीमित राखे । मुलुकमा प्रजातन्त्र र लोकतन्त्र होइन दलतन्त्र र नेतातन्त्र स्थापना गरे । हुन नहुने  कुरा हुन भएन भनी सुधारको लागि बोल्ने धेरै भएनन् ।
यस अवस्थालाई दशकौंसम्म रहन सम्भव बनाउने कुरा थियो वौद्धिक बदमास र बौद्धिक बेइमानी— प्रबुद्ध, वौद्धिक, बुद्धिजीबी शिक्षित भएर पनि आफ्नो मात्र फायदा र स्वार्थसिद्धिका लागि सत्तासामु सत्य बोल्न वा आफैसँग सत्य स्वीकार गर्न नचाहने प्रवृत्ति । अर्थात ठीकलाई ठीक, बेठिकलाई बेठिक भन्न सक्ने संस्कारको अभाव । अर्को शब्दमा भन्ने हो भने आफ्नो मात्र फायदाको लागि असत्यलाई साथदिने प्रवृति । यसो हुँदा बिभिन्न दलका सीमित नेता र तीनका आसेपासेहरूले देश र जनतालाई लुटी तीन दशक भन्दा बढी शासन चलाए ।
बोलाइमा सुशासन् र गराइमा कुशासन
नेताहरू त्यागको कुरा गर्छन्, तर व्यवहारमा स्वार्थको अभ्यास गर्छन् । उनीहरू प्रत्येक कुराको सन्दर्भमा जनताको नाम उच्चारण गर्छन्, तर जनतावाट प्राप्त गरेको शासन गर्ने शक्ति र पद जनताको हितका लागि नभई व्यक्तिगत वा दलगत हितका लागि प्रयोग गर्छन् । नक्कली भुटानी शरणार्थी प्रकरण, अकल्पनीय सहकारी वित्तीय ठगी र विकास कोषको दुरूपयोग आदि हालका अनगिन्ति घोटालाहरूले मुलुकमा भ्रष्टाचार कसरी राजनीतिज्ञ, कर्मचारी, वकिल र व्यवसायिक स्वार्थहरूको सञ्जालमार्फत सञ्चालन हुन्छ भन्ने कुरा प्रस्ट देखाएका छन् । समस्या केवल यिनीहरूले गलत काम मात्र गरे गराएका मात्र होइनन् त्यसलाई औचित्य साबित गर्ने, लुकाउने वा सानो बनाएर दोषीलाई कम सजाय दिने बा उम्काउने प्रयास गर्ने गराउने काम पनि भइआएको सबैलाई थाहा छ । यसरी बोलाइमा सुशासन भएपनि गराइबाट कुशासन हुन गयो
बुद्धिजीवी र राजनीतिजीबी
शिक्षा सत्यको मन्दिर हुनुपर्छ भन्ने कुरा सर्वविदित छ । राष्ट्र उत्थानको लागि शिक्षित, बौद्धिक, बिद्वानवर्ग सबभन्दा सत्यवादी, निस्पक्ष र इमान्दार हुनुपर्ने कुरा पनि सबैलाई ज्ञात छ । नेपालमा भइरहेको राजनैतिक बेइमानी र बिकृतिको छायाँ शिक्षा क्षेत्रमा पनि परेकोले बुद्धिजीबी भनाउँदाहरूनै बढी राजनीतिजीवी हुनगएको तथ्य पनि कसैबाट छिपेको छैन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयकी संस्थापक प्रमुख पुस्तकालयाध्यक्ष मेरी प्रिय पत्नी शान्ति मिश्र र त्रि.वि का विभिन्न निकायहरू र त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयको प्रमुखका रूपमा पनि  सेवा गर्ने मैले अर्थात हामीले यो वास्तविकताको अनुभव व्यक्तिगत रूपमा पनि ग¥यौं । हाम्रो स्वतन्त्र सोच, इमानदारी र निष्ठाका कारण २०४९ सालमा केदार भक्त माथेमाको उपकुलपतित्वकालमा हामीलाई हाम्रो अवकाश उमेरको धेरै समय अगावै अवकाश दिइयो । हामीलाई कर्तव्य पूरा नगरेको कारणले होइन, बरू अत्यन्त इमानदारीपूर्वक काम गरेको र विश्वविद्यालयको प्रतिष्ठा तलमाथि नहुने गरी स्वतन्त्र र स्वाभिमानपूर्वक सेवा गर्ने कारणले सो कुरा नपच्ने राजनैतिक षडयन्त्रकारीहरूले हामीलाई पाखा लगाइएको भन्ने कुरा निस्पक्ष अनुसन्धान र छानविन गरे स्पष्ट हुन्छ । अर्कोतिर नातावाद, कृपावाद, दलीय सम्बन्ध र राजनैतिक तन्त्र र मन्त्रको कारण यहीबेला यस्ता मानिसहरू भने कसरी ठूला ठूला पद उक्लदै गए भन्ने कुरा यही विश्वविद्यालयमा यहीबेला पहिले रजिष्ट्रार, त्यसको केही समय पछि फेरि त्रि.वि सेवा आयोगको अध्यक्ष हुने सौभाग्य पाएका नेपाली कांग्रेस पार्टीका नेता बासु रिसालका भाइ प्रा. सुदर्शन रिसालको जीबनी र प्रगति थाहा पाए स्पष्ट हुन्छ । फलस्वरूप  ज्ञानको केन्द्र हुनुपर्ने विश्वविद्यालयहरू क्रमशः राजनीतिक प्रतिस्पर्धाका मैदान बन्न थालेका छन् । शैक्षिक नेतृत्वका पदहरू शैक्षिक उत्कृष्टताको सट्टा दलगत सम्बन्धले निर्धारण गर्ने अवस्था बढ्दै गएको छ । जब ज्ञानदिने संस्था  स्वयं  राजनैतिक स्वार्थसिद्धिको साधन बन्छ, तब समाजले ज्ञान र सत्यको सबैभन्दा महत्वपूर्ण संरक्षक गुमाउँछ भन्ने कुरा सबैलाई ज्ञातैछ । आज यस्तै भइरहेकोछ ।
वौद्धिक बदमास र समाज
बौद्धिक बेइमानी केवल अभिजात वर्गमा मात्र सीमित नभई यो दैनिक जीवनमा पनि सर्बत्र फैलिएकोछ । नेपालीहरू सत्य र धर्मको कुरा गर्छन्, तर व्यवहारमा बेइमानीलाई कहिलेकाहीँ बाँच्ने रणनीति भनेर स्वीकार गर्छन् । व्यापारीले कर छल्छ र त्यसलाई चातुर्य भनी गर्ब गर्छ । सार्वजनिक सेवामा वस्ने संस्थाका कर्मचारीहरूले अनौपचारिक “कृतज्ञता”को रूपमा धेरै थोरै रकम हात नपरेसम्म काम नगरी जनतालाई दुःख दिन्छन् । सत्य र तथ्यको आधारमा सही सूचना प्रबाह गर्ने पेशा अँगालेका पत्रकार बन्धुहरू समेत आफनो स्वार्थपूर्तिका लागि असत्यलाई सत्य साबित गर्ने प्रयासमा पनि लागेका हुन्छन् । यो हाम्रो संस्कार जस्तै भइसकेको छ ।
धर्म पनि कहिलेकाहीँ कपटसँग गाँसिन्छ । पूजा–पाठ बढ्छ, मन्दिरहरू भीडले भरिन्छन्, धार्मिक प्रबचन र उपदेश प्रशस्त सुनिन्छ—तर सार्वजनिक जीवनमा नैतिक आचरण कमजोर देखिन्छ । जब सद्गुणलाई उपहास गरिन्छ र छललाई पुरस्कार दिइन्छ, समाजले आफ्नो नैतिक दिशा गुमाउँछ ।
बौद्धिक बदमास् र नैतिक पतन्
बौद्धिक बेइमानीको सबैभन्दा ठूलो खतरा नैतिक पतन हो । जब सत्यको मूल्य हराउँछ, तब न्याय, अधिकार, यहाँसम्म कि देशभक्ति समेत  सबै कुरा सम्झौतायोग्य हुनजान्छ । यस अवस्थामा हाम्रा मुलुकका हाम्रा लोकतान्त्रिक, साम्यबादी, समाजवादी वा राजावादी आदि भएका, बनेका, भनिएका हाम्रा सबैजसो नेताहरू हाम्रा धार्मिक महाकाव्यका अत्याचारी पात्रहरू रावण र कंस जस्तै भएका हामीलाई अनुभब छ । उनीहरूका स्वार्थी अनुयायी र कार्यकर्ताहरू पनि उही दैत्य स्वभाव र चालचलनका भएका पनि हाम्रो अनुभब छ । यस प्रसङ्गमा उनीहरूले आपनो शक्ति, पद, प्रतिष्ठा कहिल्यै नगुम्ने र उनीहरूको छलकपट र झुठ्ठा क्रियाकलापमा जनताले सधैं विश्वास गरिरहने ठाने । बिकल्पको अभाव र वाध्यतामा जनताले सबै अत्याचार सही बसे ।
यस स्थितिमा पनि दशकौँदेखि मैले यी गलत कामहरू विरूद्ध बोल्ने र लेख्ने गरिआएको भएपनि यसबाट कुनै असर नपरेको र जनताको सचेतता र जागरूकता नदेखिएको सन्दर्भमा अति दिकदारी, दिक्क र निरूत्साह भई  यो मुलुकमा कहिल्यै पनि राम्रो परिवर्तन आउँदैन भनी म निराश भएको थिएँ । यही चिन्तालाई ध्यानमा राख्दै मैले मिति २०८२ फागुन १४ (Feb २६, २०२६) को People's Review मा लेखेको नेपालः सौन्दर्य, पीडा र अनुत्तरित रहस्य (Nepal: Beauty, Suffering, and an Unanswered Mystery)  शिर्षकको लेखमा निम्न कुरा लेखेको थिए ।
‘भ्रष्टाचार, अन्याय र बारम्बारका विश्वासघातका बाबजुद पनि जनता फेरि त्यही शक्तिहरूमाथि विश्वास गर्न सक्छन् अर्थात मत हाल्न सक्छन्, जसले उनीहरूलाई अधोगतिमा पुरयाएका छन् ।’
जनताको सचेतता र जागरूकता
जति अन्याय, अत्याचार; थिचोमिचो, शोषण, दमन्, हक अधिकार हनन् गरी दुःख पीडा दिएपनि जनताले भ्रभावकारी आवाज र विरोध नजनाएको स्थितिबाट म विवश र निराश भएको थिएँ । नेपालमा नीतिहरूको अभावले होइन, इमानदारीताको अभावले जनता पीडित हुन परेको भन्ने मेरो विवेकले भन्छ । कानुन बनाइन्छन्, संस्थाहरू स्थापना गरिन्छन्, तर जिम्मेवार राजनीतिज्ञहरू र अन्य उच्च पदाधिकारीहरूमा इमान्दारिता र विवेक नहुन गएको कारण भएका कानूनहरूको सही कार्यान्वयन् र भएका स्थापित संस्थाहरू सही सञ्चालन् नभएको स्पष्ट छ । तर हालैको आमनिर्वाचनमा जनताले देखाएको इमानदारी, बुद्धिमत्ता र नैतिक साहसले मलाई उत्साहित बनाएको छ । मलाई लाग्छ, नेपालमा एउटा बौद्धिक क्रान्ति भएको छ । नेपाली समाज सचेत र जागरूक भएको यो अति रमाइलो प्रमाण हो । म ती नागरिकहरूलाई बधाई दिन्छु जसले विवेक र निष्ठाका साथ मतदान गरे, बेइमानी र दुराचारलाई अस्वीकार गरे । साथै म  आशा गर्दछु कि अब सत्तामा पुगेका नेता र दलहरूले जनताले दिएको विश्वासको आदर, सम्मान सदुपयोग गरी,  अघिल्ला राजनीतिज्ञहरूले जस्तै राष्ट्र र जनतालाई विश्वासघात र धोका नदिई देश र जनताको सेवा इमानदारी र समर्पणका साथ गर्नेछन् ।
सत्यनिष्ठा र हाम्रो भविष्य
राष्ट्रिय रूपान्तरण व्यक्तिगत निष्ठाबाट सुरू हुन्छ । नेपालको भविष्य केवल चुनाव र आर्थिक नीतिहरूले मात्र निर्धारण गर्दैन; यो पनि निर्भर गर्छ कि नागरिकहरूले—विशेष गरी शिक्षित र प्रभावशाली वर्गले—आफनो मात्र स्वार्थ र सुविधाभन्दा सत्य र निष्ठालाई रोज्छन् कि रोज्दैनन् ? सत्य र निष्ठालाई प्राथमिकता दिने संस्कार रह्यो भने राष्ट्रको बिकास हुन्छ । देश समृद्ध भई जनताले सुख पाउँछन् ।
इतिहासले देखाउँछ—राष्ट्रहरू केवल भ्रष्ट नेताका कारण पतन हुँदैनन्, तर धेरै इमानदार मानिसहरू मौन बसेका कारण पनि पतन हुन्छन् । नेपालको पुनर्जागरण त्यतिबेला सुरू हुनेछ जब सत्य निर्भीक भएर बोलिनेछ र मान्छेको सत्य र निष्ठा पदीय शक्ति  भन्दा बलियो हुन्छ ।
यदि इमानदारी फेरि हाम्रो सार्वजनिक जीवनको मार्गदर्शक सिद्धान्त बन्यो भने, नेपालको अद्भुत सौन्दर्य, बुद्धि र आध्यात्मिक सम्पदा अब राजनीति र यथार्थबीचको पीडादायी विरोधाभास बन्ने छैन । बरू ती नै न्यायपूर्ण, गरिमामय र आशावादी राष्ट्रको आधार बन्नेछन् ।
अन्ततः नेपालको भविष्य नारा वा वाचाहरूले होइन, सत्यलाई छलभन्दा माथि र विवेकलाई सुविधाभन्दा माथि राख्ने जनताको साहसले निर्धारण गर्नेछ । अहिले जस्तै  जनता सदा सचेत, जागरूक रहे जनताको मतले शक्ति र पद पाउने जनप्रतिनिधिहरू जनताका मालिक नभई सच्चा सेवक हुनपर्ने सत्यज्ञान र संस्कार  तिनीहरूको मनमष्तिष्कमा जरूर स्थापना हुनेछ । अनि यो देशको उत्थान जरूर द्रूतगतिमा हुनेछ भन्ने आशा गर्न सकिन्छ । अन्यथा जनताको मत पाई, शक्ति पाई राष्ट्रप्रति, प्रधानमन्त्री, मन्त्री आदि हुने महानुभावहरू फेरिपनि पहिले जस्तै रावण र कंश जस्तै महादैत्य भई निस्कने कुरामा शङ्का छैन ।
narayanshanti70@gmail.com
लेखक परिचयः एक वरिष्ठ  नागरिक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका निवृत पदाधिकारी, पूर्व प्रमुख, शैक्षिक प्रशासक तथा शिक्षा, राजनीति, सरकार, शासन–प्रशासन र सार्वजनिक सरोकारका  मामिलासम्बन्धी नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएका केही पुस्तक र असंख्य निस्पक्ष लेखहरूका लेखक ।