धर्मरत्न श्रेष्ठ -
सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उत्तरतिरको बाटो बनाउँदा वातावरण बिग्रन्छ भन्नुभएपछि तहल्का मच्चिएको छ। दक्षिणतिरको बाटो सबै वातावरण मैत्री छन् त? उत्तरतिरको बाटो बनाउँदामात्र किन वातावरण बिग्रने रहेछ, बुझ्न सकिएन। मन्त्रीले बुझाएका पनि छैनन्।आधुनिक जमानामा यति धेरै प्रविधिको विकास भइसकेको छ कि पर्यावरण बचाउनका लागि अनेक उपायहरुको आविष्कार भइसकेका छन्। वातावरण बचाउने उपाय अवलम्बन गरेर पनि बाटो बनाउन
सकिन्छ। कुन अभिष्टका कारण सञ्चारमन्त्रीले उत्तरको बाटो निर्माण वातावरण मैत्री हुन नसक्ने भनेका हुन्, यो ठूलै तरङ्ग उत्पन्न गर्ने अभिव्यक्ति हो।
किनभने जति बढी गरिबी छ, रोजगारी छैन र दुःख छ, ती सबै मेचीदेखि महाकालीसम्मका उत्तरी भूभागमा छन्। उत्तरको बाटो निर्माण नगरी देशको दुःख, दरिद्रता नाश हुन र विकास र प्रगति सम्भव नै छैन। असाध्यै पढैया, सञ्चारकर्मीसमेत रहिसकेका र नेपाललाई राम्ररी बुझेका मन्त्री नै उत्तरी भूभागको विकासको तगारो बन्न उद्दत छन् भने यो त त अचाक्ली अचम्मको कुरो भएन र? वातावरण नै बिग्रने मन्त्रीको दावी छ भने वातावरण नबिग्रनेगरी बाटो निर्माण गर्दा के परक पर्ला र? उनकै पार्टीका अध्यक्ष प्रधानमन्त्री छन् र प्रधानमन्त्री जसरी पनि भूकम्पपछि बन्द भएको कोदारी राजमार्ग खोल्छु भनिरहेका छन् भने त्यही पार्टीका अर्का विद्वानमन्त्री बाटो बिरोधीका रुपमा उभिनुचाहिं माओवादी केन्द्रलाई कसरी पाच्य भएको होला? एमाओवादीभित्र द्वैधमत, द्वैधविचार र त्यही पार्टीले नेतृत्व गरेको सरकारको समेत द्वैध मान्यता, कस्तो आश्चर्य?
भूकम्प गएको १७ महिनासम्म कोदारी राजमार्ग खुलेन र चीन रसुवाको केरुङ नाका विकासमा लागेको छ। केरुङबाट काठमाडौं, पोखरा, लुम्बिनी हुँदै भारतसँग व्यापार बढाउने वान बेल्ट वान रोडको नीति सफल पार्न चीन लागेको छ।
सबैभन्दा पुरानो कोदारी राजमार्ग नखुल्दा यस भेगका जनता, व्यापारी, उद्यमी सबैलाई मर्का परिरहेको छ। चीन सकारात्मक पनि छ, तर सरकारकाहरु नै नकारात्मक भइसकेपछि चीनलाई मात्र केको टाउको दुखाई?
सडक बन्दा वातावरण बिग्रन्न मन्त्रीज्यू। सडक बन्दा देशको आर्थिक प्रगतिको ढोका खुल्छ। मन्त्रीजीले कुन दृष्टिले उत्तरतिरको बाटो वातावरण मैत्री छैन भन्न खोजेको हो, स्पष्ट पार्न सके अबुझहरुले पनि बुझ्ने थिए कि?