उद्योग मन्त्री नवीन्द्रराज जोशी मन्त्री त भए, उनले वन्द भएका उद्योग चलाउने कसरत गरिरहेका छन् तर युरेनियमको पछि किन लागिरहेका छन् भन्ने बुझ्न सकिन्न। किनभने आणविक अस्त्र निर्माण गर्ने कच्चा पदार्थ हो युरेनियम। युरेनियमको खानी मकवानपुरमा बढी छ भन्ने पहिले नै खुलासा भइसकेको छ तर उद्योग मन्त्री मुस्ताङमा युरेनियम छ भनेर उत्खनन् गर्ने तारतम्य मिलाउन थालेका छन्।
मुस्ताङमा एक त सडक विकास भएको छैन, अर्को राज्यको सुरक्षा प्रवन्धसमेत फितलो छ। त्यसै पनि भारत र पश्चिमा मुलुकका राजदूतहरुको विशेष चासो छ मुस्ताङमा। चीनको अध्ययन गर्ने रणनीतिक स्थल मानिन्छ मुस्ताङलाई। यसैकारण पश्चिमा राजदूत मुस्ताङ गइरहन्छन् र भारतसमेत मुस्ताङलगायतका हिमालीक्षेत्रमा सामाजिक विकासका लागि भन्दै लगानी बढाउन थालेको छ। अव उद्योग मन्त्रीनै घुमाएर कान समाउन थालेपछि सशंकित हुनुपर्ने समुदायहरु नाक, कान, आाखा उघार्न थालेका छन्।