Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एउटी आमाको कथाः ‘सरकारलेनै मलाई वेश्या बनायो’

१२ बुधबार , आश्विन २०७३९ बर्ष अगाडि

‘१२ वर्षको उमेरमा विवाह भएकी झुमा (नाम परिवर्तन) को श्रीमानको २०६० सालमा काठमाडौँमा काम गर्नेक्रममा मृत्यु भयो । एकल महिलाका लागि सरकारले दिने भत्ता पाउनका लागि श्रीमानको मृत्युदर्ता आवश्यक थियो । श्रीमानको प्रमाण पत्र लिन राजधानी छिरेकी झुमा सिधै सडकमा यौन व्यवसायमा लाग्न बाध्य भइन् । भन्छिन्, ‘मैले श्रम बेच्न खोजे तर अरुले मेरो शरीर किन्न खोजे ।’ हलकारोको क्यामेराले उनको पीडादायी कथा कैद गर्दै गर्दा उनी घरी भक्कानिन्थिन्, घर आक्रोस पोखिरहेकी हुन्थिन्, घरी पीडा आँशुमा वर्षाइरहिन् । किन आफ्नो जीवनको पाँच दशक पार गरिसकेको शरीर सडकमा लिलाम गर्दै छिन् यी आमा ?  किन आफ्नो बुढ्यौलीले चाउरिएका गालामा अप्राकृतिक मुस्कानको लाली लगाएर अझै पनि यौवनको लिलामी गर्नु पर्यो यी आमालाई ? उनको वास्तविक परिचय परिवर्तन गरी हलकारोले तिनै झुमाको कथा उनकै आवाजमा प्रस्तुत गर्ने जमर्को गरेको छ ।’ (हेर्नुहोस भिडियो)

कथा सुन्दा र हेर्दा चलचित्रकी काल्पनिक पात्र झै लाग्छ । सपनाको शहर राजधानीमा जीवनकी एउटा पात्र झुमा (नाम परिर्वतन) दैनिक आफ्नो पाँच दशक पार गरेको बुढ्यौली शरीर बेच्न धाउँछिन् । उनको शरीरले कहिले मूल्य पाँउछ । कहिले त शरिर बेचेर कमाएको पैसा पनि सडकमै लुटिन्छ । उनी राजधानीमा कुनै ठुलो सपना बोकेर पनि आएकी होइनन् । काठमाडौँमा मरेका आफ्ना श्रीमानको मृत्युको प्रमाणपत्र लिन राजधानी छिरेकी उनी  कहिले फर्केर जान सकिनन् । १२ वर्षकै उमेरमा विवाह भएकी झुमाको घर गण्डकी अञ्चल हो । उनले गाँउको घर व्यवहार भन्दा बाहिरको संसार कहिले देखिनन् । दुई छोरा जन्मिए । श्रीमान भारतमा काम गर्थे । श्रीमान भारतको जागिरबाट रिटायर्ड भएपछि राजधानीमा बिजुली वाइरिङ्को काम गर्न थाले । उनको काम क्रममा मृत्यु भयो । राजधानीमा बुवासँगै रहेका दुई छोरा ठुला भैसकेका थिए । सबै आ–आफ्नो लयमा हिडिँसकेका थिए । श्रीमानको मृत्यु भए पनि उनले श्रीमानको मृत्युदर्ता गर्न पाइनन् । मृत्युदर्ता गराउनको लागि मृत्युको प्रमाण आवश्यक थियो । शिक्षण अस्पतालमा मृत्युको प्रमाणपत्र उनी राजधानी आएकी थिइन् । एउटा आश यत्ती थियो, श्रीमानको मृत्यु भएको प्रमाणपत्रले गाँउमा गएर एकल महिला भत्ता लिएर आफ्नो बुढेसकाल बिताउन सकिन्छ की भन्ने, तर भयो त्यसको विपरित । झुमालाई मृत्यु प्रमणपत्र मिलेन । अस्पतालको प्रांगणमा कुरिरहेको बेला एक जना महिला आइन् । एउटा झोला छेउमा राख्दै उनले त्यो झोला हेदिन भनिन् । तर ती महिला फर्केर आइनन् । झुमा त्यो झोला कुरेर बसिरहेको बेला कालो कपडमा बेरिएको झोला हल्लियो । अस्पताल परिसरमा हल्ला मच्चियो । बच्चाको उपचार गरिसके पछि पनि लिन कोही आएनन् । ‘सबैले छोरा भए लान्थेँ छोरी रहेछ लाँदैनौँ’ भन्दै नाक खुम्चाए झुमा सम्झिन्छन् । ‘बच्चा कसैले नलगेपछि छोराको कोठमा लगेर गएँ, उनीहरुले पनि कस्को छोरी बोकेर ल्याइस ? विना बाउको छोरी भनेर घरबाट निकाले’, उनले रुँदै भनिन्,  ‘आफुले नौ महिना गर्भमा राखेको छोराहरुले चरित्रमा औला ठड्याए ।’ घरमा आँखा नदेख्ने सासु, ससुरा थिए । आर्थिक अवस्था एकदमै कमजोर थियो । घर जान सकिनन् उनी । माइतीमा गइन् । माइतीमा आमा, बुवा र दाई थिए । ‘दाइलाई घटनाको विवरण सबै सनाएँ तर फिल्मको कथा जस्तो मेरो कुरा पत्याएनन्’, उनले थपिन्, ‘फिल्मको कथा सुनाउछेस्, कसैले बच्चा बाटोमा पाउँछ ? बिना बाउको छोरी जन्माएर आइस भनेर दाईले पिटेर मइतीबाट निकाले ।’   फेरी उनी फर्केर राजधानी आइन् । उनले बाटोमा हिड्दा चिनेकी मकै पोल्ने दिदीलाई भेटेर आफ्नो कथा सबै सुनाइन् । उनको घरमा ४–५ बसिन् । एउटा माडेको घरमा सरसफाई गर्ने काम गर्न थालिन् तर एक दिन त्यो व्यक्तिले उनीसँग जर्बजस्ती गर्न खोजेपछि राती नै छोरीलाई समातेर भागिन् । झुमाले रुदैँ भनिन् ‘मैले परिश्रम गर्न खोजे तर सबैले मेरो शरिरमा मोज गर्न खोजे ।’ झुमालाई मकै पोल्ने दिदीले पैसा आँउछ भनेर एउटा होटलमा पुर्याएको दिन अहिले पनि सम्झन्छिन् । ‘नचाहँदा नचाहँदै पनि म यो काम गर्दै छुँ हजूर’,  भक्कानिँदै भनिन्, ‘कहिले प्रहरीले ड्रेसमै बन्दुक देखाएर बाटोमै सुताए, कहिले त वेश्या होस् भनेर थुने तर थुनाबाट निकालेर ट्वइलेटमा लगि मेरो शरीर माथि खेले ।’ झुमाकी छोरी अहिले १२ वर्षकी भइन्, कक्षा ६ मा पढ्ने । छोरीको स्कुल खर्च जोहो गर्न  पनि झुमा दैनिक सडकका गल्लीमा आफ्नो शरीर बेच्न जान्छिन् । कोठाको भाँडा, दैनिक खाद्य समाग्री जुटाउन र छोरीको विद्यालयको खर्च जोहो  गर्न नसक्दा कहिले काहीे त मर्न मन लाग्छ रे उनलाई । ‘रहरले होइन शरीर बेचेको, कहिँ केही नलागे पछि मात्रै मैले शरीर बेचेको हुँ, पढेको छैन, मजदुरी गर्न जाँदा पनि शरीर नै ताके’, उनले भनिन्, ‘माग्न बसौँ भने सद्दे हात खुट्टा लिएर कसरी म बसँु ?, मेरो छोरीको पढाई खर्च र छोरीको स्याहारसुसार गर्न पुग्ने व्यवस्था कसैले गरी दिए म ढुक्कले मर्थे ।’ झुमालाई एउटा चिन्ता सँधै सताउछ । भन्छिन् ‘मेरो छोरीले म झै शरीर बेच्न नपरोस ।’ ‘मैले सडकको छेउमा तरकारी बेच्ने काम पनि गरे । महानगरपालिका आउने फ्याकिदिने गर्यो’, उनले भनिन्, ‘फेरी किन्ने सार्मथ्य थिएन, म बौलाएझै भएर फेरी यही सडकमा पुगेँ, मलाई सरकारले पनि बाध्य बनायो वेश्या बन्न ।’ @ halkaro