Advertisement Banner
Advertisement Banner

२८ शनिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मानसिक स्वास्थ्यमा देखिएका समस्या र चुनौतीहरु

२५ बुधबार , चैत्र २०८२३ दिन अगाडि

मानसिक स्वास्थ्यमा देखिएका समस्या र चुनौतीहरु

मानिसको जीवनमा विभिन्न किसिमका रोगहरुले बाल्यकाल देखि नै जीवनको अन्त्यसम्म पनि शरिरका सबै अङ्गहरु लाग्ने रोगहरुले मानिसलाई अस्वस्थ बनाउनुको साथै धेरै पिडाहरु पनि भोग्नु परिरहेको छ । यी नै रोगहरुको कारणले गर्दा कतिपय मानिसहरुलाई आर्थिक भारको कारणले मृत्यु अवस्थमा पनि पुर्याएको छ । मानिसमा  लाग्ने रोगहरु धेरै जसो औषधि उपचारले निको पार्न पनि सकिन्छ तर कतिपय रोगहरु यस्ता छन् रोगको पिडाले गर्दा मानिसहरु ले आत्माहत्या पनि गरिरहेका छन् । संसारका सबै मानिसहरु सधैँ स्वस्थ रहन चाहन्छन् तर पनि कुनै स्वस्थ रहन सकेका छैनन् ।
विश्वभरिका देशहरुमा आफ्ना देशमा मानिसहरु सधैँ स्वास्थ्य रहुन भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरि रहेका छन् तैपनि मानिसहरु आफ्नै कारण वा अन्य कारणहरुले गर्दा रोग लाग्ने दर झनझन्  बढी रहेको छ । कस्तो मानिसलाई स्वस्थ मान्ने भन्ने विषयमा विभिन्न स्वास्थ्यविज्ञ र वैज्ञानिकहरुले परिभाषा दिएका छन् ती सबै परिभाषालाई अध्ययन गरि विश्व स्वास्थ्य संगठन स्वस्थ मानिसको परिभाषा यस अनुसार गरेका छन् ।
Health is a complete state of physical, mental, and social wellbeing and not merely an absence of disease and infirmity. (Definition by WHO-1948) and recently amplified to include the ability to lead a " socially and economically productive life". Health is multidimensional: it includes physical, mental, social, spiritual, emotional, vocational, and political dimension. 
मानसिक स्वास्थ्य भनेको स्वस्थ जीवनको एक महत्त्वपूर्ण आयाम हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई रोग तथा असहजता नभएको अवस्था मात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा आध्यात्मिक रुपमा सन्तुलित अवस्था भनेर परिभाषित गरेको छ । त्यसैले स्वस्थ्य जीवनका लागि मानसिक रुपमा पनि सवल, सक्षम र सन्तुलित रहनु पर्दछ । व्यक्तिले आफ्नो क्षमतालाई पहिचान गर्न सक्ने, जीवनका सामान्य तनावलाई व्यवस्थापन गर्न सक्ने, उत्पादनशील ढंगले काम गरी आफ्नो समुदायमा योगदान दिन सक्षम रहने अवस्था नै मानसिक स्वस्थताको अवस्था हो। यसले व्यक्तिको भावना, विचार र व्यवहारमा सन्तुलन र समन्वयको अवस्थालाई बुझाउँदछ । यही भावना, विचार र व्यवहारमा आउने परिवर्तन जून निश्चित अवधिसम्म रहिरहन्छन् र व्यक्तिको जिम्मेवारी वा सम्बन्धमा नकारात्मक असर पुग्दछ भने त्यो मानसिक स्वास्थ्य समस्या भएको अवस्था हो । नेपालमा कुल नसर्ने रोगहरुको समस्या मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ । अपाङ्गत्ता नराउने प्रमुख १० कारकहरु मध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या नै पर्दछन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ को नतिजा अनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरुमा मानसिक स्वास्थ्य समास्या देखिएको छ । जसमा २.८ प्रतिशतमा चिन्ताजन्य समस्या, ०.६ प्रतिशतमा डिप्रेसनको समस्या पाईएको छ र ३.५ प्रतिशतमा आत्महत्या सम्बन्धी सोच पाइएको छ । १८ वर्षमाथिका व्यक्तिहरुमा १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा ३ प्रतिशतमा चिन्ताजन्य समस्या, २.५ प्रतिशतमा डिप्रेसन, ०.२ प्रतिशतमा साइकोसिस र ७.२ प्रतिशतमा आत्महत्या सम्बन्धी सोचको अवस्था देखिएको छ । विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोरकिशोरीहरूमा भावनात्मक, व्यवहारिक तथा अन्य खालको मानसिक स्वास्थ्य समस्या भएको अध्ययनहरुले देखाएका छन् । नेपालका सामुदायिक स्वास्थ्य संस्थाहरुमा आउने करिव २५ प्रतिशत सेवाग्राहीहरु कुनै न कुनै प्रकारका मानसिक वा मनोसामाजिक समस्या लिएर आउने गरेको तर सही पहिचान हुन नसकेको तथ्याङ्कले देखाएको छ । त्यस्तै २०७५ सालमा चितवन जस्तो भौगोलिक ढंगले सुगम, सामाजिक तथा आर्थिक पक्षमा सवल र तुलनात्मक रुपमा स्वास्थ्य सेवाको सहज पहुँच भएको जिल्लामा पनि डिप्रेसन र मदिराजन्य समस्याबाट ग्रसित ५० प्रतिशत व्यक्तिले स्वास्थ्य सेवा नलिएको पाईएको थियो। कोभिड –१५ को कारण यो समस्या अझै बढेको छ । उपरोक्त तथ्याङ्कले नेपालमा मानसिक स्वास्थ्य समस्या र सेवाको उपलब्धता तथा उपभोगको अवस्था चिन्ताजनक रहेको प्रस्ट हुन्छ । मानसिक स्वास्थ्यको महत्वलाई बुझ्न र समस्यालाई समयमा नै पहिचान गरी उचित व्यवस्थापन गर्न आम नागरिक सुसूचित हुन् आवश्यक छ । मानसिक स्वास्थ्यमस  देखिने मानसिक स्वास्थ्य समस्याहरु - आत्महत्या (suicide), चिन्ता (anxiety), डर , डिप्रेसन (depression) उदासिनता, सईकोसिस (Psychosis and Mania), छारे रोग (Epilepsy), मदिरा तथा सुर्तिजन्य पदार्थ सेवनका समस्याहरु (Alcohol and Nicotine use disorder), बालबालिकाको बिकास, व्यवहार र भावना सम्बन्धी समस्याहरु (Developmental, behavioral and emotional disorders in children), विस्मृति तथा अल्जाईमर्स रोग (Dementia and Alzheimer's disease
मूलभूत रुपमा मानसिक स्वास्थ्य समस्याका तीन कारणहरु रहेका मानिन्छन् - 
(१) जैविक (Dementia and Alzheimer's disease), बंशानुगत (Genetic) , मस्तिष्कमा हुने समस्याहरु जस्तैः मस्तिष्कघात, चोटपटक, संक्रमण, ट्यूमर आदि, दीर्घकालीन शारीरिक समस्याहरु जस्तैः छारेरोग, मधुमेह, मृगौला, कलेजो, बाईराइड सम्बन्धी रोग,,औषधी तथा लागु औषधको प्रयोग जस्तैः Isoniazid, steroid, मदिरा, सुर्तीजन्य तथा अन्य लागु औषध 
(२) मनोवैज्ञानिक (Psychological) बाल्यकालका मानसिक हिंसा, आघात तथा अनुभवहरु, सामना गर्ने गलत सिकाई, त्रुटिपूर्ण व्यक्तित्व विकास, समस्याग्रस्त अन्तर व्यक्ति सम्बन्ध 
(३) सामाजिक (Social), कठीन पारिवारिक÷सामाजिक÷आर्थिक वातावरण, तनावपूर्ण जीवन परिवेश मानसिक स्वास्थ्य समस्याका सामान्यतया देखिने लक्षण तथा चिन्हहरू मनपर्ने कुराहरु पनि गर्न मन नलाग्ने । भावनात्मक र शारीरिक कठिनाई हुने । खुशी हुनुपर्ने कुरामा पनि खुशी नहुने । बाँच्नु बेकार छ भन्ने जस्ता भावना आउने । जीवन मूल्वहिन भएको र भविष्य प्रति कुनै आशा नै नभएको महसूस हुने । आत्महत्या गर्ने बिचार आउने । दुखित र निरास मनस्थिति हुने । कुनै कुरामा चाख नहुने र ध्यान केन्द्रित नहुने । रुचिमा परिवर्तन आउने (खान मन नलाग्ने वा धेरै खान मन लाग्ने) निन्द्रा धेरै लाग्ने वा निन्द्रा नलाग्ने । बकाई महसुस हुने । डर÷चिन्ता लाग्ने ध्यान केन्द्रित गर्न नसक्ने एक्लै बस्ने, हाँस्ने, बोल्ने वा बरबराउने अनावश्यक शंका गर्ने असामान्य व्यवहार देखाउने दैनिक क्रियाकलाप गर्न नसक्ने उपरोक्त लक्षणहरु २ हप्ता भन्दा बढि समयसम्म देखा परेमा मानसिक रोगको शंका गर्न सकिन्छ । मानसिक स्वास्थ्य समस्याबारे भ्रम र यथार्थ भ्रमः मानसिक स्वास्थ्य समस्या थोरै व्यक्तिमा मात्र हुन्छ । यथार्थ विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक चार जनामा एक जना व्यक्तिलाई मानसिक स्वास्थ्य समस्या रहेको हुल सक्छ । भ्रमः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्दैनन् । यथार्थ ः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले उचित उपचार, अवसर र सहयोग पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् । कडा खालका मानसिक समस्या भएमा मनोचिकित्सक तथा मनोवैज्ञानिक उपचारपछि व्यक्ति सामान्य र स्वतन्त्र जीवन जिउन सक्छ ।
भ्रमः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु हिंसक तथा आक्रामक खालका हुन्छन् । यथार्थ ः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु स्वयम् नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार १० मध्ये ५ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति कुनै न कुनै रुपमा मानव अधिकार हननका घटनामा परिरहेका हुन्छन् । भ्रमः बालबालिका र किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या हुँदैन । यथार्थः ५० प्रतिशत भन्दा बढी मानसिक स्वास्थ्य समस्या १४ बर्ष पुग्नु अगावै शुरु हुन्छ । प्रत्येक ५ जना मध्ये १ जना बालबालिका तथा किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या हुन्छ । भ्रमः मानसिक स्वास्थ्य समस्या व्यक्तिगत कमजोरीका कारण हुन्छ । यथार्थ ः मानसिक स्वास्थ्य समस्या जैविक, वातावरणीय, सामाजिक तथा मनोबैज्ञानिक कारणहरुले गर्दा बिकास हुनसक्छ । भ्रम ः मानसिक समस्या भएका व्यक्तिलाई विवाह गरिदिए पछि सञ्चो हुन्छ भ्रम ः धामी झाँक्रीको सहयोग वा धर्म परिवर्तन गरेमा मानसिक समस्या ठीक हुन्छ । यथार्थ ः मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई उचित उपचार, सहयोग र अवसर प्रदान गरेमा सञ्चो हुन्छ । 
मानसिक स्वास्थ्य समस्याबाट बच्ने उपायः  विपद तथा महामारीका बेला एक्लै चिन्ता गरेर हैन आफ्नो परिवारसँग समय बिताएर वा सृजनशील काम गरेर समयको सदुपयोग गर्ने । घरायसी काम तथा पारिवारिक छलफलमा सहभागी हुने । नियमित रूपमा शारीरिक व्यायाम तथा ध्यान गर्ने । मदिरा तथा लागु पदार्थ सेवन नगर्ने । तनाव व्यवस्थापन गर्न गाह्रो परेमा वा मानसिक समस्या देखिएमा मनोचिकित्सक वा मनोविदसँग परामर्श लिने । टाढा भएपनि आफन्त तथा साथीभाइसँग नियमित सम्पर्कमा रहने । उद्देश्य अनुरुप निर्णय गर्ने । ध्यान दिएर काम गर्ने । पर्याप्त मात्रामा सुत्ने । नयाँ सीप सिक्ने र प्रयोग गर्ने ।
यस्तो डरलाग्दो समस्या व्यक्ति र समाज हुँदा पनि अझै सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएर काम गर्न सकेको छैन अब मानसिक स्वास्थ्य समस्यालाई समाधन गर्नको लागि जनचेतना मुलक कार्यक्रमलाई व्यापक रुपमा संचालन गरि समयमा नै यो समस्या हल गर्नु पर्ने देखिन्छ । हाल यो मानसिक स्वास्थ्य समस्या विशेष गरि वृद्ध नागरिकमा बढी देखिएको हुँदा त्यो वर्गलाई समस्त परिवार लगायत सबैले विशेष ध्यान दिनु पर्ने अवस्था आएको छ अन्यथा यो समस्या ठुलो चुनौतीपूर्ण हुन् सक्दछ । मानसिक स्वास्थ्यको समस्याहरुलाई रोकथाम नियन्त्रण र व्यवस्थापन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जन चेतना कार्यक्रम सहित विभिन्न  कार्यक्रमहरु संचालन गरि पहिलो प्राथमिकताको रुपमा काम गरिरहेको छ ।