पदम हमाल-
नेपालका शासक भनेका कांग्रेस, एमाले र माओवादी हुन्। बाँकी दलहरु कहिले कसलाई, कहिले कसलार्य सघाएर सत्ताको रस चुस्नेमात्र हुन्। जनताले मिलिजुली देशको विकास गर भनेर कसैलाई बहुमत दिदैनन्, परिणामतः बहुमत जुटाउन कहिले पहिलो, कहिले दोस्रो त कहिले तेस्रो दल साना ठूलासँग मिलेर बहुमतीय सरकार बनाउँछन् र चलाउँछन्। यस्तो हङ गभर्मेन्ट जुनसुकै बेला ढल्न र नयाँ सरकार बन्ने जोखिम भइरहन्छ। २०६५ सालदेखि निरन्तर रुपमा माओवादी राजनीतिको सेन्टरमा बसेर सरकार बनाइरहेछ, चलाइरहेछ।
एमालेलाई माओवादीले समर्थन गरिदियो, ओली सरकार बन्यो। राम्रै काम गरिरहेको थियो, माओवादीका अध्यक्ष प्रचण्ड रिसाए, सरकारबाट फिर्ता भए, के चाहियो? के निहुँ पाउँ कनिका बुकाउँ। ओली अल्पमतमा परे, राजीनामा दिए। नयाँ सरकार बन्नै नसक्ने भएपछि बाधा अड्काउ फुकाउसमेत उनैले गर्न बाध्य भए। एमाले दोस्रो ठूलो दल थियो, पहिलो ठूलो दल कांग्रेसले माओवादीलाई समर्थन गरिदिदा तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्ड यतिखेर प्रधानमन्त्री बनेर देश हाँकिरहेका छन्। स्पष्ट छ, ९ महिना प्रचण्डले चलाउने र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने र त्यसका लागि माओवादीले कांग्रेसलाई सरकार निर्माण गर्न बहुमत जुटाइदिने र आफू पनि सरकारमा सामेल हुने।
सिण्डिकेट चलेजसरी सरकार बनिरहेछ, सरकार चलिरहेछ। लोकतन्त्रको जतिसुकै डंका पिटे पनि यिनै ठूला तीनदलले नेतातन्त्र चलाइरहेका छन्। नेपालमा चल्ने नेतातन्त्र नै हो। पहिले पञ्चहरुले पञ्चतन्त्र चलाए, बहुदल आयो, कांग्रेस एमालेले पञ्चहरुसँग मिलेर पञ्चाग्रेस चलाए। अहिले कांग्रेस, एमाले र माओवादी पालैपालो नेतातन्त्र चलाइरहेका छन्। हात्तीको देखाउने दाँत भनेको लोकतन्त्र हो, चपाउने दाँत भनेको नेतातन्त्र, लोकतन्त्र यसरी नै चलेको छ।
लोकतन्त्रमा कतै पनि लोक देखिदैनन्। लोक मरिरहेछन्, लोक बाढी पहिरोले थिचिरहेका छन्, बगिरहेका छन्। भूकम्पले पनि लोकलाई नै हल्लायो, घरबारबिहीन बनायो। जहानबच्चाको बिल्लिबाठ गरायो। लोकतन्त्र नेतातन्त्रका रुपमा निरन्तर चलिरहेको छ। लोक मर्दा, लोकलाई पर्दा लोकतन्त्रलाई केही फरक नै पर्दैन। लोकलाई हेर्दै नहेर्ने गजबको लोकतन्त्र चलिरहेको छ मुलुकमा।
विदेशीले राहत पठाउँछन्, नेताले खाइदिन्छन्। विकास, निर्माण, प्रशासन, सुरक्षा जता पनि नेतातन्त्रकै बिगबिगी छ, घुस्याह, कमिशन खोरीमा पनि नेताहरुकै हैकम चलिरहेको छ। न्यायाधीश नियुक्तिमा समेत सिण्डिकेटतन्त्र चलाएपछि विधि संविधानको कागजमा लेखिएको छ, व्यवहारमा विधि होइन, नोटका बिटा चलिरहेको छ। पैसा छ, सबै छ। पैसा भएपछि नेपालमा जे पनि हुनसक्छ। बिकिनी किलर चार्ल्स शोभराज जेलमै छन् र भनिरहेका छन्– पैसा भएपछि नेपालको एयरपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ। नभन्दै भर्खरै खबर सार्वजनिक भएको छ कि घूस खाएर रेकर्डसमेत नराखी अध्यागमनले सेटिङ गरेर विदेशीहरुलाई भित्र्याइरहेको छ, बाहिर पठाइरहेको छ। सिण्डिकेट र सेटिङले लोकतन्त्र फटाहतन्त्र बन्दै गएको छ। तैपनि लोकतन्त्रका महारथीहरुलाई कुनै चिन्ता छैन। आमनागरिकले सहीदिएपछि, धैर्यमा बसिदिएपछि नेता, प्रशासक, पहुँचवालाहरु राष्ट्रिय ढुकुटीलाई पञ्चदेवको हण्डी बनाएर बाँडिरहेका छन्। मर्ने मरिरहुन्, नेताहरु काजु खाएर र्याल काढिरहेका छन्।