
नयाँ वर्ष २०८३ को सबै राष्ट्रभक्तहरूमा हार्दिक मंगलमय शुभकामना । ऐतिहासिक निर्णय गर्ने जेनजी पुस्ताको सरकारलाई पनि सफलताको शुभकामना ।
बालेन सरकारले राज्यका सबै सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने परम्परा तोड्दै नेपाल निर्माता पृथ्वीनारायण शाहको फोटो सजाउन परिपत्र जारी गरेको खबर छ । केही दिन अघि प्रधानमन्त्री बालेन साहले चुच्चे नक्साका सामु उभिएर नेपालमा कार्यरत सबै विदेशी कूटनीतिज्ञहरूलाई सामुहिक भेट गरेर आफ्नो देशभक्ति देखाएका छन् । हुस्सु बनेका भारतीय राजदूतले पनि चुच्चेनक्साकै सामु प्रम बालेन साहसँग फोटो सेसन गरे, जसको तरङ्ग दिल्लीसम्म पुग्यो ।
हुन त बालेन साहको पार्टीले संसदबाटै जनजातिहरूमाथि भएको दमनप्रति शिर झुकाएर माफी मागेको छ भने बालेन सरकारले पनि माफी माग्ने निर्णय गरिसकेको छ । यो खबर भारतको संसदमा गुञ्जियो र माफी पार्टी र प्रधानमन्त्री भनेको रास्वपा र बालेन साहजस्तो हुनुपर्छ भनेर हंगामा नै भएको पनि देखियो ।
पूर्वराजाको पारम्परिक नयाँ वर्षको सन्देश सदाझैंअ र्थपूर्ण रह्यो । राष्ट्र र राष्ट्रवासीप्रतिको चिन्ता र चासो सन्देशमा प्रकट भयो । पुराना दलहरूप्रति आक्रोसित जनताले मौन र मत बिद्रोह गरेर रास्वपाको सरकार गठन भएको छ । जनताको यो अन्तिम आशा र भरोसाको सरकार मानिएको छ । यो जेनजी पुस्ताको सरकार भएकोले यसलाई असफल हुने छुट छैन । राष्ट्रको अस्तित्वलाई पुनारा दलहरूले संकटमा फसाएकाले यो नयाँ सरकारले तारणहारको काम गर्नुपर्नेछ । त्यही कामका लागि जनताले काँधैभरि जनादेशको भारी बोकाइदिएका छन् । यो ऐतिहासिक जनविश्वासलाई कायम राख्नु र परिवर्तन गरेर देखाउने चुनौती छ । कांग्रेस, नेकपा, एमाले म्याद नाघेको औषधिसरह भइसकेका छन् । जे कारणले पुराना दलहरू असफल भए, जनताको विश्वास गुमाउन पुगे, बालेन सरकारले ती सबै कमजोरीको पोष्टमार्टम गर्नुछ, जनअपेक्षालाई संवोधन गर्नुछ । बालेन सरकारलेसंविधान संशोधनको प्रकृया सुरू गरेको छ । बहस अघि बढेको छ । सबे राजनीतिक शक्तिहरूसँग छलफल अघि बढाएको छ । एकातिर भ्रष्टाचारमाथि प्रहार, अर्कोतर्फ सुशासनको प्रत्याभूति साथसाथै संविधान संशोधनको बहस । रोजगारीको सिर्जनामा विशेष योजना तैयार हुँदैछ । बालेन साह एक्सनमा उत्रिसकेका छन् । उनी बोल्न, भाषण गर्न होइन, काम गर्न अग्रसर छन्, त्यही चरित्र देखाइरहेका छन् । देशले खोजेको चमत्कारिक र चित्ताकर्षक भाषण होइन, परिणाममुखी काम हो ।
संविधान लेख्दा हिजो अवैध तरिका अपनाइयो । जारी गर्दा पनि जनताको सुझावलाई बेवास्ता गरियो । अब त्यस्तो नहोस् । जनताले राजतन्त्रसहितको प्रजातन्त्रको पक्षमा हिजो आफ्नो सुझाव दिएका थिए । संविधान संशोधनमा निश्चय नै देशभरिका जनताको सुझाव मागिनेछ । जुन प्रधानमन्त्री बालेन साहले नेपाल निर्माताको फोटो राज्यसञ्जालमा सजाउन लगाए, उनले राजतन्त्रको महत्व बुझेका छन्, राजतन्त्रलाई यथास्थान, सम्मान दिन उनी पछि पर्नेछैनन् ।
संसदको उपसभामुखमा श्रम संस्कृति पार्टीलाई जिताएको रास्वपा अब पूर्ण दुई तिहाईको शक्तिशाली बनेको छ । त्यसमाथि राजतन्त्र र हिन्दुराष्ट्रको एजेण्डा अघि सार्दा राप्रपा खुशीसाथ समर्थनमा आउने छ भने मधेश हर्षित हुनेछ । मात्र संघीयता खारेज हुनुपर्छ, संघीयतामा खर्च हुने खरवौं बजेट पालिकाहरूमा बिनियोजन गरेर विकास निर्माण र रोजगारी सिर्जनामा लगाउनु पर्छ । हिजो राजतन्त्रमाथि निषेध, विभेद र प्रतिषोधपूर्ण दृष्टिकोण राख्दा पुराना दलहरू असफल भए । राजनीतिक मुद्दाहरू अल्झिदै र बल्झिदै गएका थिए । जनतामा बढ्दो आक्रोसको मुख्य कारण कुशासन, भ्रष्टाचार, नैतिकहीनता, राजतन्त्र र हिन्दुराष्ट्रविरोधी दलीय सोच थियो, त्यस्तो कमसल सोच हटाएर नेपाल निर्माताका सन्तानलाई अभिभावकीय स्थानमा सम्मानित गर्दा अधिकांश राजनीतिक मुद्दाहरू समाधान हुने र सुशासनमा पनि बल मिल्ने, कूटनीतिक क्षेत्रमा समेत सकारात्मक प्रभाव देखिने निश्चित छ ।
राजासहितको प्रजातन्त्र भन्दै हिन्दु र राजतन्त्रवादीले घण्टीमा मतदान गरेकै हुन् । गत फागुनको रामनवमीको साइत छोपेर प्रधानमन्त्रीको शपथ खाएका बालेन साहले प्रदूषित राजनीति र शासन प्रशासनलाई शुद्धीकरण गर्नुछ । निर्मलीकरण गरेर परिवर्तन देखाउनु छ । हिजोका पार्टीहरूले लोकप्रिय भाषण गरे, काम केही पनि गरेनन् । बालेन सरकारले आशलाग्दा निर्णय र काम थालेको छ । प्रचारमा त प्रम बालेन र पार्टी अध्यक्ष रवि लामिछानेवीच फाटो आइसकेको भनिन्छ । यो बिरोधी पार्टीको मनसाय सावित होस्, रास्वपाले परिवर्तन ल्याएर छाडोस् । जनताको चाहना छ, हिंसा र गुण्डागर्दीको अन्त होस्, सुरक्षा कायम होस् । टोले गुण्डा होइन, राष्ट्रिय ढुकुटी लुट्ने लुटाहहरू एक एकलाई पक्राउ गरेर कारवाही गरोस ्। बालेन सरकार काम गर्न खुब हतारिएको छ, जेनजी ७६ जना मार्ने तत्कालीन प्रम ओली र गृहमन्त्री रमेश लेखकमाथिको कारवाहीमा लतरपतर हुनपुग्यो । त्यस्तो कमजोरी अन्य कारवाहीमा नहोस् । रास्वपाले बाचापत्र र नागरिक करारमार्फत आशा देखाएको छ, ती सबै आशालाई पूर्णता दिनु रास्वपाको लाइफ लाइन भने पनि हुन्छ । शय दिन चाहिदैन, पलपल खबरदारी खोज्ने रास्वपाले परिणाम देओस् ।


