Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वनकाली महासम्मेलन र सम्बोधन

०८ सोमबार , कार्तिक २०७३९ बर्ष अगाडि

स्वयम्भूनाथ कार्की
अन्तरराष्ट्रिय विराट हिन्दु महासम्मेलन २०७३ को सम्बोधनमा धेरै आयाम छन्। मोटामोटी रुपमा केहीलाई यसरी बुँदा टिपोट गर्न सकिन्छ। नेपालीले भनेको हिन्दूत्व र हिन्दू केवल धर्म मात्र होईन गौरवशाली परंपरा, उदरता, राष्ट्र, सामाजिक सद्भाव आदिको मिलन हो। नेपालबाट उद्गम भएको दर्शन र सस्कृतिमा यहँाका सबै परंपरा सामेल छन् र सबै यसका अभिन्न अंग हुन। सबैले मिलेर यसको जगेर्ना गर्नु पर्दछ। हाम्रा ऋषि, पित्रीहरुले सिकाएका दर्शन सस्कृति हाम्रा प्राण हुन्। त्यसैले नयाँ बाटो हैन नयाँ सोचले अगाडि बढ्नु पर्छ। अजेय र विश्वमा संचेतना र शान्तिको सन्देश दिने नेपालमा विषम, जटिल र क्लिष्ट परिस्थिति किन , कसका र के कारणले आयो जनताले नै खोज्नु पर्छ। नेपालको अनादिकालदेखिको परम्परा दुई ठूला छिमेकीको धार्मिक, सांकृतिक सम्बन्ध सेतु हो। नेपाली बीचको विविध आस्था अनि पद्दतिहरुको आपसी विश्वास र आस्थाले नेपाल अडेको छ। विश्वमै व्याप्त असंतुलनलाई सम्बोधन गर्ने दायित्व हिन्दू दर्शनलाई छ। निषेधको राजनीतिले अन्तमा बिद्रोह जन्मन्छ। त्यसैले दर्शनको कोरा बहस हैन प्रयोगले बहुजन हिताय बहूजन सुखाय अबको सोच हो। 
यो मोटामोटी बुँदा टिपोट हो यसमा सरकारका रक्षा मन्त्रीले नागार्जुनबाट निकाल्ने धम्कीदिनु परेको बुँदा परेको छैन। निषेधले उपेक्षा र उपेक्षले विद्रोह जन्माउछ भन्ने कुरा अनेकौ स्थानमा अनेकौ समयखण्डमा अनेकौले भन्दै आएको कुरा हो। विश्व इतिहासका कयौ घटनाहरुको कारण नै यही निषेध, उपेक्षा र विद्रोहको चक्रका कारण घटेका छन। राजाले यो कुरा भन्दैमा तिलमिलाउनु पर्ने कारण थिएन। यही कुरा विगतमा अहिले आफैलाई नेपालको भाग्यविधाता ठान्ने नेताहरुले आस्था गरेका नेताहरुले पनि भनेकै हुन्। सत्य कसैले भने पनि नभने पनि लागु हुन्छ नै। बरु यो सत्य स्मरण गराई दिएकोमा कृतार्थ हुनुपर्ने हो। 
त्यसैले मोटामोटी बुँदा टिपोटमा यो कुरा सामेल नगरिएको हो। यो सम्बोधन मात्र हैन महासम्मेलनमा उठाउन खोजिएको विवाद, विरोधको स्तर अनि तर्क आदिले सोचका नयाँ आयाम दिएका छन। साथै यी कुराहरुले के कारणले विरोधमा त्यति ठूलो जनमत देखिदा पनि 'धर्मनिरपेक्षता' संविधानमा लेख्न सकियो भन्ने कुरा तर्फ संकेत गरेका छन्। धर्मनिरपेक्षताको विरोधको अभियानमा त्यसैमा घुसेर नेतृत्व लिन सफल भएकाहरुले आन्दोलन तुहाएका बग्रेल्ती उदाहरणहरु छन। साखुल्ले भएर पिठ्यूमा छुरा धस्नेहरु यस पटक भने उदाङ्गो भएका छन। 
हिन्दू राष्ट्र र हिन्दू अधिराज्य बीचको अन्तर फराकिलो भएको छ। विश्वका प्रमुख हिन्दू शंकराचार्य, मठाचार्य, पिठाधिश आदि संलग्न भएको यो भन्दा पहिलो महासम्मेलनले दिएको हिन्दू सम्राटको उपाधी आलंकारिक होईन। सनातन परंपरामा कुनै संस्कार समयकोे मागले अनुपयुक्त भए त्यसलाई बदल्ने काम गर्ने अधिकारीहरु राजा वा सम्राट नै हुने गरेका छन्। आवश्यक सरोकारवाला, ऋषिमुनी, धर्माचार्य आदिको छलफलले मात्र कुनै थिती फेर बदल भएको उदाहरण शास्त्र, पुराण आदिमा भेटिदैन। फेर बदल गर्ने अधिकार राजालाई मात्र रहेको देखिन्छ। यो उपाधी त्यो अधिकार प्रयोग गर्न योग्य मानेको प्रमाण हो। 
'सम्पूर्ण हिन्दु दर्शन एवं संस्कृतिमा हिमाललाई देवभूमि मानिएको छ। त्यसको मध्यमणि समान विविधताले नेपाल स्थापना गरि हिमालको शोभा र नेपालको महत्व बढाएकोछ। यसै धार्मिक भावनाबाटै नेपालले देवभुमि, तपोभुमि, योगभुमि भन्ने नाम पाएको छ। हिन्दु अनुयायीका आराध्यदेव पशुपतिनाथले यसैकारण आफ्नो संरक्षणमा राख्नुभएको छ। चारै वेद, उपनिषद, अठार पूराण, भावगत् गीता, रामायण, महाभारत आदि गन्थ्रहरु र ऋषि, ऋषिका, महर्षि, सन्त, महन्त, महापुरुषहरु कैलाश पर्वतदेखि गंगाको मैदान हुँदै कन्याकुमारी सम्मका उपज हुन्'। सम्बोधनको यो भागले सनातन परंपराको उद्गम नेपाल भएको बताएको छ। \u000aत्यस्तै 'अनादिकालदेखि चल्दै आएको वैदिक सनातन हिन्दु धर्म ओमकार परिवारमा वौद्ध, किरांत, प्रकृतिपूजक, जैन, शिख, आदि समष्ठिहित केन्द्रित अध्यात्मवादको उद्गम पृष्ठभूमि हो' भनेर सनातन हिन्दू कुनै एक पन्थ नभएर समग्र पन्थको सम्मिलित रुप हो भनिएको छ। चाहे आफुलाई भित्र मानुन् वा वाहिर, सबै हिन्दू भित्रका नै हुन्। हिन्दू राष्ट्रको अवधारणमा शंकराचार्य, धर्माचार्य, साधु आदिले परंपरा आदिको परिभाषा गर्ने हुन्छ। त्यो स्थानमा विशुद्ध सनातनी भएर पुगिदैन त्यसैले कुनै न कुनै पन्थको बाटो लिनै पर्दछ। शैवले भनेको कुरो वैष्णवले किन मान्ने वा शाक्तको कुरो बौद्धले किन मान्ने आदि विवाद स्थायी रहन्छ।

हिन्दू अधिराज्यमा यी सबै विषय राजाको कर्तव्य धित्र पर्न आउँछ। राजासँग देश पनि जोडिएकाले यस्ता धार्मिक विवाद हल गर्दा मुलुकलाई कुप्रभाव नपरोस भन्नेे पहिलो स्वार्थ्य हुन्छ। हिन्दू राष्ट्र भनेको अन्य मतालम्बीहरु जस्तै सबै कुरा धर्मगुरुहरुको 'फतवा'मा छोड्नु हो। त्यसैले अन्यत्र साम्रदायहरु बीच दंगा हुने गर्दछ, गणतान्त्रिक नेपालले पनि त्यसको छिटा भेट्न लागेको छ। यो धर्मनिरपेक्षताको ढालले रोक्दैन, जर्ज जेकव होलेकले चर्चको अत्याधिक हस्तक्षेपको विरोधमा गरेको संघर्ष हो धर्मनिरपेक्षताको सिद्धान्त तर वर्तमानमा यो इशाईकरण र चर्चको हस्तक्षेप बढाउने औजार भएको छ। 
सनातनले राजालाई नै धर्म सम्वन्धि अधिकार दिएकाले अधिराज्यमा पन्थको झगडा सम्भव छैन। हिन्दूराष्ट्र भन्ने हिन्दू गणतन्त्रको पक्षपोषण गर्नेहरुका कारण धार्मिक विकृतिहरु जन्मिसकेका छन्। यस्ताहरु हिन्दूत्व मोलभाउको औजारको रुपमा प्रयोग गर्दछन् र अभियानमा लागेकाको सबै किसिमको शोषण गर्दछन्। यो कुराको प्रमाणको निमित्त वेलावेलामा आन्दोलन उठाउने र त्यसलाई सुताउने पात्रहरुको अध्ययन गरे हुन्छ। यही बाटोले कतिले धन सम्पत्ती जोडेका छन् भने कतिले पद, शक्ति। यो सबै कुरा हिन्दू अधिराज्यमा संभव छैन त्यसैले महासम्मेलन भाँड्न आवश्यक थियो र त्यसको हरसंभव प्रयत्न भयो, जो असफल रह्यो।