Advertisement Banner
Advertisement Banner

०३ बुधबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

२२ जिल्लाका सत्ताइस समस्या : रोशन कार्की

२६ सोमबार , माघ २०७११२ बर्ष अगाडि

सीके राउत: आत्मनिर्णयको अधिकारसहितको एक मधेश
उपेन्द्र यादव, फोरम नेपाल: एक मधेश एक प्रदेश
सद्भावना, राजेन्द्र महतो: एक मधेश, नभए मधेश र थरुहट
तमलोपा: एक मधेश एक प्रदेश। नभए एक नेपाल पनि रहन्न। फोरम लोकतान्त्रिक: बढीमा दुई प्रदेश। त्योभन्दा बढी मानिन्न।
फोरम गणतान्त्रिक: सम्भव भएसम्म एक, असम्भव भए दुईसम्म ठीक।
एमाओवादी: ५ प्रदेश– कोचिला, मिथिला, भोजपुरा, अवध र थरुवान। नेपाली कांग्रेस: बढीमा साझा बहुपहिचानका ५ प्रदेश बन्नुपर्छ।
एमाले: मधेशमा बढीमा ५, बहुपहिचानसहितको प्रदेशहरु बन्नुपर्छ।
एमाले ओली: झापा, मोरङ, सुनसरीको अलग्गै प्रदेश बन्नुपर्छ।
कांग्रेस देउवा? कैलाली, कञ्चनपुर अलग हुनुपर्छ, थरुहठमा हुनुहुन्न।
एमाओवादी लेखराज भट्ट: अखण्ड सुदूरपश्चिम प्रदेश बन्नुपर्छ।
थारु कल्याणकारी सभा: मधेशमा एक, दुई होइन, बहुप्रदेश बन्नुपर्छ।
बारा, पर्सा, रौतहट: सिम्रौनगढ प्रदेश हुनैपर्छ, अन्यथा मानिन्न।
मिथिला संघर्ष समिति: मिथिला प्रदेशलाई अनदेखा भए संघर्ष गरिन्छ।
चुरेभावर पार्टी: चुरेभावर प्रदेशको विकल्प नसोचियोस्, अन्यथा संघर्ष।
राजवंशी समुदाय: कोचिला प्रदेशका विषयमा कुनै खिचलो नहोस्।
लिम्बुसमुदाय: कोशीपूर्वको क्षेत्रलाई लिम्बुवान घोषणा गरियोस्।
चितवनवासी: चितवन अलग्गै प्रदेश हुनुपर्छ। यसको विकल्प मानिन्न।
मधेशमा २२ जिल्ला छन् र राज्यपुनर्संरचना गर्न लागेका समयमा सत्ताइस समस्या देखा उठेका छन्। यो पहिचानको मारमुङ्ग्री हो। हुन पनि संविधान निर्माणका बेलामा खोज्ने हो पहिचान। संविधान बनिसकेपछि लौजा भन्नुभन्दा अहिले नै आफ्ना कुरा सार्वजनिक गर्दा राम्रो मानेको हुनुपर्छ। यो चेतनाको जागरण पनि हो। यस्तै चेतनाले मुलुक दह्रो बन्ने हो, मुलुक जागृत हुने छ। जनतामा चेतना आएमात्र मुलुकलाई कसैले हेप्न सक्दैन। तर, त्यो चेतना के काम, जसले मुलुकलाई टुक्रा टुक्रा पार्ने साजिस गर्छ। अहिले यस्तै साजिसका गन्ध फैलिएका छन्। पहिले हामी नेपाली हौं भन्ने भावना नराखी गरिएको पहिचानको माग भनेको बिखण्डनकै साजिस हो। देशमा १ सय २५ जाति छन्। भूगोल हिमाल, पहाड, तराईले बनेको छ। अनेक भाषा छन्, भेष र भेग छन्। कुनै क्षेत्रमा कुनै जातिको बाहुल्यता छैन। सदैव सबै जाति मिलेर बसोबास गरेका छन् भने अहिले एक जातिलाई अर्को जातिसँग लडाउनु, भिडाउनुको अर्थ हो नेपालको संक्रमणलाई अझ बढी संक्रमित पार्नु। हामी सामान्य हुन लागिपरेका छौं, हामी संवैधानिक भएर अघि बढ्ने मनस्थितिमा छौं भने यी असामान्य र बिखण्डनवादी आवाज किन निकालिरहेका छौं। यी आवाजहरु हामीभित्रै बाट निस्केका हुन् कि हामीलाई कसैले उक्साएर निस्किरहेका छन्? यसतिर हामी सबैले गम्भीरताका साथ ध्यान दिनु नितान्त जरुरी छ।
यतिखेर सबैभन्दा बढी जिम्मेवार हुनुपर्ने राजनीतिक दलहरुले हो। सरकारले हो। जनता राजनीतिक रुपमा बिभाजन भइसकेका कारणले पनि जनता निरपेक्ष देखिएका हुनसक्छन्। जनतालाई सही मार्ग देखाउने र त्यस मार्गमा प्रेरित गर्ने दलहरुले नै हो। खुला समाज र दलीय व्यवस्थामा दलहरु जिम्मेवार भएनन् भने ठूला ठूला गल्ती हुनजान्छन्, जुन पछि गएर सच्याउन मुस्किल पर्छ। त्यस्तै मुस्किल यतिखेर नेपालको राज्यपुनर्संरचनामा देखिएको छ। यहीकारणले पनि राजनीतिक नेताहरुले तत्कालको सत्तास्वार्थभन्दा माथि उठेर देशभक्तिपूर्ण काम गर्ने ऐतिहासिक अवसर बनेको छ यो समय। यो अवसरको दुरुपयोग नहोस्। दुरुपयोग भयो भने आउने पुस्ताले सराप्ने छन्। सराप नबन नेताहरु।