एक नेपाल होइन एक मधेश? झापादेखि कञ्चनपुरसम्म एउटै मधेस किन चाहियो? त्यो पनि चुनाव हारेका तमलोपा र सद्भावनाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोलाई। उनीहरु लोली मिलाएर गाइरहेका छन्– झापादेखि कञ्चनपुरसम्म एक मधेस एक प्रदेश हुनुपर्छ। यो हुनसक्दैन भने दुई प्रदेश: मधेश र थरुहठ। यिनीहरु कहाँबाट प्रेरित छन् र यो मधेश मधेशको सुगा रटान गरिरहेका छन्। यिनीहरु किन एक नेपालको नारा लगाउन सक्दैनन्? यो रहस्य जतिछिटो उधिन्न सक्यो, उति एक नेपालका लागि फाइदा छ। यो रहस्यलाई बढ्न दिनु भनेको नेपालको छिटो बिखण्डन र बिभाजन हुनु हो। विष वृक्ष हल्किन दिने कि नदिने? यसको निदान खोज्नुपर्छ संविधानसभाले। संविधानसभा नेपालको सार्वभौमसम्पन्न संस्था हो। यो संस्थाले बैधानिक रुपमा नेपाललाई टुक्रिने अवसर दिन सक्दैन। दिनु पनि हुन्न। दियो भने त्यो नेपालकै लागि दुर्भाग्यजनक हुनेछ। मधेशमा २२ जिल्ला छन्। ठूलो समस्या सिर्जना भएको छ– झापा, मोरङ, सुनसरी, कैलाली, कञ्चनपुरको। मधेशका जिल्ला मधेशमै हुनुपर्छ, त्यसमा पहाड, हिमाल जोडिनु हुन्न भन्ने मोडमा आएर हलो अड्किएको छ। प्रचण्ड त पहाडीया हुन् फेरि किन उनी पनि महन्थ र राजेन्द्र महतोका अडबाङ्गे कुरामा सहमति जनाइरहेका छन्? के प्रचण्ड पनि एक मधेश एक प्रदेशको पक्षमा छन्? पहाड भनेको हिमाल र मधेशलाई जोड्ने जोडन हो। न मधेश एक्लै बाँच्नसक्छ, न पहाड र हिमाल एक्लै रहनसक्छ। हिमाल, पहाड र मधेशको एकाकार भूगोल नेपाल हो। यो नेपाललाई टुक्रा पार्ने, कित्ताकाट गरेर बिखण्डनका लागि सहज पारिदिने काम संविधानसभाले कदापि गर्नुहुन्न। कसरी एक नेपाल एक नेपाली रहनसक्छ, त्यसतिर संविधानसभाको सम्पूर्ण ध्यान जानुपर्छ। सडकबाट संविधानसभा प्रभावित हुनुहुन्न। सकभर सबैको पहिचानको संवोधन हुनुपर्छ। सर्वसम्मत नभए पनि अधिकाधिक सहमतिमा संविधान बन्नुपर्छ। ठूला दलहरुको सहमति अनिवार्य छ, पछि आउने समस्या रोक्न। आन्दोलन न देशको माग हो, नआवश्यकता।
कोशी पूर्व र बाँके पश्चिममा कुरा मिलेको छैन। को हो त्यो जसले यी दुबै भूखण्डलाई पहाडबाट तोड्न खोजिरहेको छ। यी यस्ता नेपाली भूखण्ड हुन् जो नेपाली जीवनको ब्याकबोन हो। ब्याकबोन नै भाँचिदिनसके नेपाल भाँच्न सकिन्छ, नेपाल टुक्रा पार्न सकिन्छ, नेपालमा आफ्नो प्रभाव बलियो हुनसक्छ भन्ने सोचले यी भूखण्डको विषयमा बिबाद उठाइएको छ। बिबाद आन्दोलनमा रुपान्तरण हुन लागेको छ। अव बेला भयो, जनताले हस्तक्षेप गर्ने। अव पनि जनता चुप लागेर बसे भने आत्मनिर्णयको अधिकारसहितको बिखण्डनको सम्भाबनालाई सत्तास्वार्थीहरुले बिजारोपण गर्नेछन्। एक नेपाल होइन, एक मधेशको पलडा भारी हुनेछ। नेपालले हार्नेछ, बिखण्डनवादीहरुले जित्ने छन्। राष्ट्र हार्नुहुन्न, यसका लागि संविधानसभालाई यो सतर्कता र सावधानीको समय हो।