स्वयम्भुनाथ कार्की -
गणतान्त्रिक नेपालको उद्घोष भएदेखिका सरकारहरुले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा अनिवार्य राख्ने गरेको वाक्यांश हो 'तीन खम्बे आर्थिक नीति अवलम्वल गरिने छ'। सरकारी उद्यम पहिलो नीजि उद्यम दोश्रो र सहकारी तेश्रो खम्बाको रुपमा व्याख्या गरिने गरिएको छ। पुर्वेली समाज र दर्शनको नक्कल गरेर बेलाईतमा शुरु भएको भनेर भनिएको साझ या सहकारीको अबधारणालाई यसको प्रारम्भ मान्ने गलत बुझाई छ। सन १८४४मा बेलाइतको राजडेल शहरबाट शुरु भएको भनेर 'सहकारीकर्मी'हरुले जति नै पढाए पनि यो एक प्राचिन अवधारणा हो जो पूर्वेली समाजमा अदिकालदेखि अनेकौ रुपले प्रचलित रहिरहेकै छ।
आफुसंगको साधनश्रोत आफु भित्रै परिचालन गरेर सदस्यहरु लगायत समुदायको नै समस्याहल गर्ने अनेकौ संरचना कुनाकाप्चासम्म अझैपनि सञ्चालित छन्। यसैको परिस्कृत रुप हो साझा वा सहकारी जुन अवधारणा पश्चिमा मुलुकले यहिबाट सिकेका हुन। कुनै सामाजिक वा पारंपारिक कार्य सम्पादन गर्न बनेका छन भने कुनै आर्थिक क्रियाकलापको निमित्त। स्वत निर्मित र परिचालित यस्तै समुहहरुलाई परिष्कार गरेर पहिले सहकारीको नामबाट र त्यसपछि साझा फेरी सहकारीको नामबाट बोलाईने यी संरचनाहरु जहिले पनि मुलुकको आर्थिक, सामाजिक गतिविधीमा महत्वपूर्ण खम्बाको रुपमा नै रहेका छन्।
कतिपय मध्ययुगिन चलन तथा परंपराहरु असान्दर्भिक भए, त्यो मात्र हैन अमानविय पनि भए त्यसलाई बदल्न आवश्यक थियो। तर ती चलनहरुको सामाजिक जीवनमा महत्वपूर्ण स्थान पनि रहेको थियो। त्यसलाई हटाउँदा त्यसले समाजमा राखेको स्थान भर्न अर्को संरचना आवश्यक थियो। यहि मध्येको एक प्रथा साहु महाजनको पञ्जाबाट सर्बसाधारणलाई मुक्त पनि गर्नु थियो। बेलामा खाँचो गर्जो टारिदिएर त्यसको बदला गरेको शोषण रोक्न जरुरी थियो। साहु महाजनको शोषण रोक्दा उनिहरुले टार्दै आएको खाँचो गर्जो टार्ने संरचना आवश्यक थियो।
राज्यले प्रत्यक्ष सबै कुरा गर्न साधन श्रोतको अभाव हुने गर्दछ। त्यसैले आफुमध्यबाटै आफ्नै उत्पादन अनिवार्य बचत गरेर धर्मभकारी खडा गरियो। यो धर्मभकारीबाट सर्वसाधारणले आफ्नो गर्जो टार्न सापटी लिने र त्यसलाई तिर्ने संरचना पञ्चायतले निर्माण गर्यो। सानो संरचना भएकाले ऋण तथा बचतको बाहेक अन्य उत्पादनलाई देवा दिने आर्थिक कृयाकलाप गर्न संभव भएन। त्यसैले यस्ता धर्मभकारीहरुको पूँजी संकलन गरेर हरेक अनिवार्य बचतकर्तालाई शेयरहोल्डर बनाएर साझा संस्था गठन गरियो। सदस्यहरुलाई आवश्यक पर्ने वस्तुहरुको आपुर्ती र उनीहरुको उत्पादन खरिद गर्ने थप उदेश्य लिएर गठित यो संरचना पञ्चायत प्रणलीको आर्थिक आधार बन्यो।
यसरी अहिले भनिने गरेको तीन खम्बे आर्थिक नीति पञ्चायतको आधारभूत तत्व थियो। शिक्षाको कमीले आर्थिक हिसाव राख्न बाधा नपरोस भनेर 'चार खाता' भनिने लेखा प्रणाली विकसित गरियो। यसमा आधुनिक दोहोरो लेखाप्रणालीको विषेशता त छ नै त्यत्तिकै लेखा सम्बन्धी कम ज्ञान भएकाले पनि काम गर्न र ठिक बेठिक जाँच्न सक्ने गरेर सरल पनि छ। वर्तमानमा पनि सहकारी कार्यलयमा सहकारीहरुले पेश गर्नुपर्ने लेखा विवरण यहि प्रणाली अनुसार हुनु पर्ने नियम छदैछ। अनिवार्य बचत र धर्मधकारीले पूँजी निर्माण भईसकेपछि अब थप बचत अनिवार्य हुनुपर्ने आवश्यकता पनि समाप्त भयो। शेयर होल्डरले संचालक समिति बनाएर काम गरे पनि टाठाबाठाले फाइदा नउठाउन भनेर प्रत्येकमा एक सरकारी कर्मचारी खटाईयो।
aवर्तमानको सहकारी भने पञ्चायतको साझा भन्दा भिन्न छ। यस्ता सहकारीहरु धेरैजसो बचत तथा ऋण सहकारीको रुपमा सञ्चालित छन। पञ्चायतको वेलामा अन्तरिम व्यवस्था अनुसारको धर्मभकारी प्रणालीमा नै चलेको पाइन्छ। जसरी केही धर्मभकारीहरुले सर्वसाधारणको बचत हिनामिना गरेका थिए त्यस्तै वर्तमानका सहकारी सञ्चालकहरु हिनामिना गरेर भागेका समाचारहरु नियमित जसो सुन्न पाईन्छ। मनले भन्नुपर्दा बहुदलको सहकारी पञ्चायतको साझाभन्दा एक तह तल देखिन्छ। भर्खर धर्मभकारी तहमामात्र भएकाले संरक्षण गरेर आर्थिक नीतिको तेश्रो खम्बा बनाउन पर्ने आवश्यकता छ। (२०७२।८।९)