Advertisement Banner
Advertisement Banner

२३ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

यी सवाल किन उठेनन्?

२२ सोमबार , कार्तिक २०७३९ बर्ष अगाडि

पदम हमाल -
भारतका राष्ट्रपति सम्बन्ध सुमधुर पार्न आएको भनेर गए, तर नेपालका घाउहरु जो भारतले पारेको थियो, ती घाउहरुका बारेमा जनताका प्रतिनिधि, संसदले विश्वास दिएर बनाएका प्रतिनिधि, जनताप्रति जिम्मेवार छौं भन्ने पार्टीहरुले देखाएनन्। मित्रले दिएको चोट लुकाएर मित्रता बढ्दैन। बरु सूल पल्टिन्छ, खिल क्यान्सर बन्दै जान्छ, यति ज्ञान हाम्रा नेताहरुले राखेनन्।
मानौं भारतीय राष्ट्रपति नेपाली नेताहरुका रानू थिए। उनी आउनासाथ राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसद र नेतागणसमेत झुम्मिन पुगे। दर्शन पाइन्न कि भनेझैं लाइन लागेर भेट गर्न पुगे। उनको दर्शन पाएर धन्य धन्य भएको अनुभूति गरे नेताहरुले। यति चाकरी नेपाली जनताको गरेको भए आजसम्म सबैको बास बनिसकेको हुनेथियो। अर्को जाडोमा बालबृद्ध, बिरामी, सुत्केरीले कठांग्रिएर बाँच्नुपर्ने थिएन। नेताजीहरु, को प्रति जवाफदेही छौ? 
नेपालको मानु खाने, भारतको जयजयकार गर्ने। यो हजम भएन। नेपालीमा उखान छ– अति गर्नु अतिसार नगर्नु। हाम्रा नेताहरुले त सबै सीमा नाघेर भारतलाई माइबाप नै पो देख्नथाले, त्यही अनुसारको व्यवहार गर्न थाले। 
सांसदले सपथ खाएका छन्, मन्त्री प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति सबैले सपथ खाएका छन्। आफैले खाएको सपथ पनि बिर्सने? सपथ खानु भनेको अर्थ के हो? एकथरि सपथ खाने अनि व्यवहारमा अर्कोथरि चरित्र देखाउनु भनेको राष्ट्रघात हो, जनघात हो, राजनीतिक अधर्म हो। हाम्रा नेताहरुले एकपटक फेरि आफ्नो अधर्मीपन देखाएका छन्। अव त सुधि्रए होलान् भन्यो, कुकुरको पुच्छर कहिले सोझिन्थ्यो र? नेपालीले पाउनु दुःख पाउने भए।