
एकान्तमा एकचित्त हुनेबित्तिकै चेतनालाई उहीँ कुराको याद आउँछ । उनी सम्झिँदै जान्छिन् । भाइबहिनीलेजस्तै म पनि उहीँ घरमा जन्मेकी र हुर्केकी हुँ । उस्तै गरी खेलेकी हुँ । आफ्नो घरबारी जो कसैले स्याहारेजस्तै मैले पनि स्याहारेकी हुँ । बारी–बगैंचामा थरीथरीका बोटबिरुवा रोपी फूल फुलाएकी हुँ । घरभित्र तस्बिर आदि टाँगी सजाएकी हुँ । देश–विदेश कहीँकतै जाँदा उहीँ घर सम्झी घर सजाउने सामग्री मैले बटुलेकी हुँ । के गरी यो घर राम्रो हुन्छ भनी दिलोज्यानले ध्यान दिई पलङ, मेच, टेबल, सोफा, कार्पेट आदि कुनै पनि कुरा छनोट गर्ने र सजाउने काममा पनि मैले कम ध्यान दिएको होइन । घरको सफा–सुघर र बढारपढारमा म भाइभन्दा बढी रमाउने गरेको प्रत्येक पल याद आउँछ । दसैं आउँदा दुर्गा भवानी भित्र्याउने वा तिहार आउँदा लक्ष्मी भित्र्याउने काममा दिलोज्यानले ध्यान दिई घरपरिवारलाई धनधान्य बनाउने काममा महिनौँदेखि रमाउने पनि मै हुँ ।
तर त्यो घरमा म जाँदा अब म अतिथिजस्तो हुन्छु । मेरो लागि त्यो घरमा पर्दा छ । जहाँ मन लाग्यो त्यहाँ म जान हुन्न । जे मन लाग्यो त्यो मैले लिई खान हुन्न । त्यो घरको सम्पत्तिमा अब पर्दा छ । सुख–दुःखमा पर्दा छ । पीरमर्का, दुःख, दर्द, पीडामा पर्दा छ । रुनु–हाँस्नुमा पर्दा छ । यस किसिमका कुराहरूको सम्झनाले उसलाई ज्यादै सताउँछ ।
उसले जीवनको झण्डै–झण्डै आधा अवधि बाबु–आमासँगै बिताएकी थिइन् । ३५÷३६ वर्षसम्म पनि उनी अविवाहित नै थिइन् । नारीलाई शिक्षा दिन प्रोत्साहन नदिने समाजमा अनेक बाधा–अड्चनसँग जुधी उनले शिक्षा प्राप्त गरेकी थिइन् । स्वदेशमा भन्दा विदेशमै बढी अध्ययन गरेकी थिइन् । उच्च शिक्षा हासिल गर्ने नारीहरू मुलुकमा हातका औँलामा गन्न पनि नभएको समयमा विदेशबाट एम.ए. उपाधि प्राप्त प्राध्यापक महिला भएकीले समाजमा उसको ठूलो मान–प्रतिष्ठा थियो । सम्मान थियो । मासिक रु. ३०० पाउने पद, जागिर पाउन गाह्रो समयमा उनी मासिक रु. ६०० कमाउँथिन् । कुनै सिँगारपटारमा उनको मन जाँदैनथ्यो । राम्रो लवाई र मोजमज्जामा उनको दिल थिएन । उनी साधारणमा पनि साधारण सारी–चोलो लगाउँथिन् । सिनेमा आदि हेर्न जाने पनि उनको बानी थिएन । अर्थात् फजुल खर्च मात्र नगर्ने होइन कि उनी अति साधारण मितव्ययी स्वभावकी थिइन् ।
यसैले मासिक तलब होस् वा अरू कुनै आम्दानी होस्, जे हात पर्यो सो उनी एक दाम तलमाथि नपारी बुबाको हातमा सुम्पिदिन्थिन् । स्वदेशमा वा विदेश जहाँ गए पनि घरमा सुविधा र सजावटका लागि आवश्यक सरसामान सङ्कलन गर्नमै उसको सम्पूर्ण ध्यान केन्द्रित हुन्थ्यो । आफ्नोभन्दा भाइबहिनीको, मुमाबुबाको सुख–समृद्धि नै उसको जीवनको मुख्य ध्येय थियो । एकदिन आफूले यस्तो प्यारो गरेको घर आफ्नो नहुने, आफू हुर्की–बढी खेली, रोई–हाँसी बसेकी घर र आमाबाबु–भाइको परिवार आफ्नो नहुने कुरा उसले कल्पना पनि गरेकी थिइनन् । यसैले लुगाफाँटा, गरगहना, जिन्सी सरसामान धेरै–थोरै आफ्नो लागि अलग्याउनुपर्ने विचार उसको मनमा कहिल्यैँ आएन ।
विद्यार्थी जीवनकै कालमा पलपलमा उनी सोच्थिन् । घरको आर्थिक अवस्था राम्रो छैन । खाना लगाउन समेत कम दुःख होइन । पुख्र्यौली सम्पत्ति मनग्य भएको कुरा आज एकादेशको कथाजस्तो भएको छ । बुबाको आम्दानी परिवार धान्न पुग्दैन । यस स्थितिमा पनि बुवा–मुमाले मलाई धेरै दुःख गरी पढाउनुभयो । उहाँहरूप्रति अरूका बालबच्चाभन्दा बढी म वफादार र आभारी हुनुपर्छ । कसैले नदिएको आराम, आनन्द, सुख, शान्ति, सुविधा, सेवा मैले आफ्ना मातापितालाई पु¥याउन सक्नुपर्छ । उहाँहरूको मनमा अशान्ति हुने कुनै पनि काम मैले गर्न हुँदैन ।
नारी पिँजडाभित्र बस्नुपर्ने समाज छ । बुबा– मुमाले ठूलो साहस र आँटले मलाई पिँजडाबाहिर राखेका छन् । नारीका लागि पिँजडा आवश्यक नभएको कुरा मैले समाजलाई स्पष्ट देखाउनुपरेको छ । यसबाट अरू नारीलाई पिँजडाबाहिर आउन सजिलो पर्छ । म मेहनती हुनुपर्छ । परिश्रमी हुनुपर्छ । बुबा–मुमाको सपना पूरा गर्न जरूर पनि म पढाइमा राम्रो हुनुपर्छ । मेरो राम्रो पढाइले म परिवारका लागि मात्र होइन, देशका लागि काम लाग्ने राम्रो नागरिक बन्नुपर्छ ।
उसको यस्तै विचार भएकोले उसलाई यौवनको रसरङ्गले पनि छोएन । बुवा–मुमाको इच्छाविपरीत हुने कुनै पनि कुरामा ऊ अति सचेत थिइन् । पढाइमा उसको तपस्या थियो । तपस्याबमोजिम उसलाई फल मिल्यो । योग्यता मात्र होइन, समाजमा ठूलो मान–मर्यादाको काम मिल्यो । आफूले गर्नुपर्ने कामलाई नै आफ्नो देवता सम्झी पूजा गर्ने, भक्ति गर्ने, तनमनले लाग्ने उसको बानी भएकोले समुद्रपारिको ख्यातिप्राप्त देशमा पुनः उच्च अध्ययन गर्ने सुअवसर पनि मिल्यो ।
बुबा–मुमाको सुख–शान्ति र घरपरिवारको प्रगतिमा सदा चिन्तित रहने उसको स्वभाव भएकोले आफ्नो विदेशको अध्ययन अवधिमा पनि यही कुराको ख्याल राखी उसले कम दुःख गरेकी होइन । पढाइमा अति मेहनत लगाइन् । अर्कोतिर जीवननिर्वाह र पठनपाठनमा सहयोगका लागि प्राप्त छात्रवृत्ति रकमबाट धेरै–थोरै बचाई घरकै आवश्यकता पु¥याउने प्रयास गरिन् । उनको मन सदा घरमा हुन्थ्यो । घरकै समस्यामा रुमलिन्थिन् । पढ्ने किताब र लेख्ने कापीमा परिवारकै दुःखदायी चित्र देख्थिन् । आज भत्किने हो कि ? भोलि भत्किने हो जस्तो घरको चित्र चलचित्रमा जस्तो उसको आँखा अगाडि घुम्थ्यो ।
एकदिन आफ्नो घरको राम्रै व्यवस्था मिलाउने उनी सपना देख्थिन् । उनकै बुद्धि र विवेकले आज उसको बुबा–मुमाको पनि जोरीपारीका अगाडि निहुरिन नपर्ने स्थिति छ । खानासम्ममा पनि किफायतमा किफायत गरी छात्रवृत्ति रकमबाट उसले सञ्चित गरेकी विदेशी मुद्राले नै सर्वप्रथम उसको परिवारको सुख–शान्ति र समृद्धिको जग नै निर्माण भएको भन्नुपर्दछ । आज उसको परिवारको आधुनिक बङ्गला घर हुनुमा उसकै पसिना र परिश्रम, त्याग र सद्भावनाको ठूलो भूमिका छ । विभिन्न देश–विदेशबाट उसैले बटुली ल्याएका सजावटका सामानहरूले उसको घर बढी सजिएका छन् । उसकै कमाइ रकम प्रयोग भई घरमा मोटरकार भित्रिएको छ । यो घरमा हाल रहेका क्यामरादेखि टेपरेकर्डरसम्मका फर्मायसी सामानहरू पनि उसकै अभिरुचि, पसिना र परिश्रमबाट आएका हुन् भन्ने कुरा हाल बिर्सेजस्तो गर्ने गरे पनि उसको घरपरिवारले बिर्सनुपर्ने कुरा जरूर होइन भन्ने उसलाई लाग्छ ।
यति मात्र होइन, सांसारिक नियम–प्रचलनअनुसार आफू बिहे गरी बाहिर आउने बेला बुबा–मुमाको आवश्यकता र सुख–सुविधामा तलमाथि पर्ने गरी कुनै कुरा आफ्नो लागि लिई आउने उसले मन गरेन । उसको विचार रहेन । उसले कुनै चिज घरबाहिर आफ्नो लागि भनी लिई आएकी छैन । उसको बिहेको बखत माइतीको अवस्था राम्रो भए पनि उसको आवश्यकता सजिलोसंग पु¥याउन सक्ने स्थिति उसलाई लागेन । यसैले कुनै पनि नेपाली जातिको प्रचलनअनुसार बिहेको बखत छोरीलाई दाइजोको रूपमा दिने–लिने पलङ, डस्ना, सिरक, चकटी, लुगाफाँटा, दराज, टेबल आदि दाइजोका ससाना सामानहरू पनि माइतीको तर्फबाट उसले लिइन । यी कुरा, यी सामानहरू मेरो लागि बनाउन दुःख नगर्नुस् भनी आफैले भनिन् । यसैले उसको घरमा माइतीको चिन्ह भेटिन्दैन ।
व्यक्ति नर होऊन् वा नारी, धेरै मूल्यवान् वा ठूलो मूल्य नभएको आफूले प्रयोग गरेको, आफूलाई मनपरेको कुनै सामान यो त मेरो साथमा हुनुपर्छ भन्ने भावना मानिसमा साधारणतः हुन्छ । उसमा यो विचार पनि रहेन । उसलाई बिहेपछि पनि माइतीघर आफ्नै लाग्थ्यो । माइतीमा आफूले छोडेका वा रहेका सामान आफ्नै लाग्थ्यो । आफूले जुनसुकै बेला लिए पनि हुने, जे गरे पनि हुने लाग्थ्यो । आफूकहाँ अहिले भएका, रहेका कुनै पनि कुरा माइतीले पनि सजिलै लैजान सक्ने लाग्थ्यो ।
ऊ भगवानमा विश्वास गर्ने भएकीले उसको मन शुद्ध, पवित्र छ । भगवानको आशीर्वादले जीवनसाथी पनि उसलाई अति राम्रो मिलेको छ । जोईपोई दुवै राम्रै काममा छन् । आम्दानी रकम सन्तोषजनक छ । आफ्नो मात्र होइन, लोग्नेको पनि अनावश्यक खर्च गर्ने, जाँड–रक्सी खाने बानी नभएकोले धनसम्पत्ति दैनिक बढ्दो छ । बस्नका लागि आफ्नै राम्रो घरको बन्दोबस्त भइसकेको छ । घरमा जीवनका लागि आवश्यक सामानहरूको कमी देखिँदैन । राष्ट्रमा सफल परिवार नियोजन पनि उसैको घरमा देखिन्छ । एउटा छोरो छ । सबैतिरबाट उसलाई सुख छ । माइतीबाट लिने र पाउने आशा गर्नु पर्ने अवस्था उसको छैन । आवश्यक परे ऊ माइतीलाई नै धेरै–थोरै दिन सक्छिन् । आवश्यक परे दिने–लिने उसको विचार पनि छ ।
चेतना ! तिम्रो बाले पुरानो घरमा होटल खोल्नुभएको रहेछ । राम्रो भयो । व्यापारको काम राम्रो हुन्छ । बुबा मुमाको छिमेकी प्रयाग दाइले एकदिन उसलाई सोध्छन् । यो कुराले ऊ जिल्ल पर्छिन् । आफूलाई यस विषयमा केही जानकारी नभएकोले उनी अकमक्क पर्छिन् । अँ–अँ गरी चुप लाग्छिन् । उसको मस्तिष्क रन्थनिन्छ । आफ्नो माइतीको कुरामा आफू यसरी अनभिज्ञ हुनपरेकोमा उसको दिलमा दिक्दारीको आँधी आउँछ । आफ्नो घरको कामकुरामा आज यो स्थितिमा पर्न परेकोमा उसलाई ज्यादै ननिको लाग्छ । माइतीघरको यो प्रगति उपलब्धिमा उसलाई खुशीभन्दा दिक्दारी लाग्न थाल्छ । छोरीलाई पनि जानकारी दिन नहुने यस्ता कुराले उसलाई थाहा भएपछि काममा बाधा पर्ने जस्तो विचार बुबामा रहन गएको हो कि? भन्ने पीडाजनक विचारले उसलाई सताउँछ ।
उसको बिहेपछि उसका बा–आमा, भाइबहिनीहरूबाट यस्ता धेरै कामहरू भए, जुन जति बिर्सन खोजे पनि सम्झनामा आउँछन् । सिनेमाको चक्का जस्तै घुम्छन् । नानी! मोटर नचल्ने अवस्थामा छ । पुरानो भइसक्यो । कहिले के हुन्छ, कहिले के हुन्छ । नानी! होटल नोक्सानमा छ । बस्न आउने मान्छे नै छैन । कोठा खाली–खाली छ । कामदारलाई मात्र पाल्न परेको छ । यस्तै–यस्तै हानी र नोक्सानीका कुराहरू छाडी अरू घरका शुभ समाचार सुन्ने कुरामा हिजोआज उसको कानको भाग्यमा छैन । जग्गा–जमिनको आम्दानी वा व्यापार–व्यवसायको आम्दानी सुन्ने सुअवसर उसलाई छैन ।
आफ्नो दुःख–सुखको कुरा सुनाउने र आफन्तको कुरा सुन्ने परिवारको लक्षण हुन्छ । नयाँ घटना भए पनि, नयाँ कुनै कुरा देखे पनि, नयाँ व्यक्ति भेटे पनि, देश वा विदेश भ्रमण गरेको भए पनि कहिले माइतीघर पुगूँ, सबै कुरा उकेलूँ जस्तो उसलाई लाग्छ । प्रगति, उपलब्धि वा सुख–दुःखका कुनै पनि कुरा छिटो बुबा–मुमाकहाँ गई सुनाऊँ जस्तो लाग्छ । केही नयाँ कुरा भयो कि ? कहिले पुगूँ जस्तो गरी उनी माइतीघर जान्छिन् । बुबा! मुमा! मलाई राम्रो काम गरेबापत् यो–त्यो संस्थाबाट सम्मानपत्र मिल्यो । मैले यसपटक पदोन्नति पाएँ । भाइ! फलानोले मलाई दुःख दियो । बहिनी! मैले यसपटकको विदेश भ्रमणमा यो देखें, त्यो देखें आदि धेरै कुराहरू समय–समयमा उनी फलाक्छिन् । तर उसको कुरा सुन्न कसैको कानै नभएको जस्तो हुन्छ । नारायणको नाम सुनाउँदा घण्टाकर्णले कान थुन्ने भन्ने जस्तो हुन्छ । कसैको आसन स्थिर हुँदैन । उसको कुरामा कसैको ध्यान हुँदैन । यो वातावरणले गर्दा कहिले पुगूँ जस्तो गरी जानेलाई कहिले त्यहाँबाट फर्कूँ जस्तो हुन्छ । उहीँ घरमा बिहेपछिको यो वातावरण उसलाई अनौठो लाग्छ । अचम्म लाग्छ । ननिको लाग्छ ।
आफूले गरेको कुनै पनि राम्रो कुरा, राम्रो कामको प्रशंसा सुन्ने आशा सबैलाई हुने जस्तै उसलाई पनि हुनु स्वाभाविकै हो । सारा श्रीसम्पत्तिको हकदार हुने छोराले पनि कतिपय घरपरिवारमा नगर्ने सेवा छोरी भएर पनि उसले गरेकी कुरा सम्पूर्ण हाडनाता, नातेदार, इष्टमित्र, छरछिमेकी सबै परिचित छन् । नानी! तिमी धन्य । राम्रो पढ्यौ । राम्रो काम गर्यौ । बुबा–मुमाको सेवा गर्यौ भनी बेलाबखत उसलाई छरछिमेकीहरू भन्छन् । तर उसको बुबा–मुमाको तर्फबाट तिमीले राम्रो काम गर्यौ भन्ने कुनै मीठो शब्द–वाक्य हिजोआज उसले सुन्न पाएकी छैन । उहाँहरूको यस्तो प्रशंसा गर्ने बानी नभएको भनूँ भने त्यो पनि होइन । छोराबाट भएको नगण्य साना कामकुराको प्रशंसा गर्न भने चार दिन–चार रातसम्म पनि फलाक्न थाक्दैनन् । छोराको नाम कहीं सुनियो वा छापियो भने खुशीको सीमा हुँदैन । सन्दर्भ वा बेसन्दर्भको कुरै छैन । जो आए पनि सुनाएका छन्, भनेका छन् । त्योभन्दा निकै ठूला–ठूला कामको सन्दर्भमा छोरीको नाम प्रशंसा रेडियो, टेलिभिजनमा सुनिएपनि वा अखवार, पत्रिकामानै छापिएपनि त्यसमा चासो देखिन्दैन ।उसको नाम बेलावखत रेडियो टेलिभिजनमा आइरहन्छ । उसैले आफैले मेरो नाम सुन्नुभो ? भन्नुपर्ने स्थिति छ । भाइको प्रशंसामा उसको इष्र्या होइन । भाइको प्रगति र ख्यातिमा अरूलाई भन्दा बढी उसलाई खुशी लाग्छ । तर आफ्नै बुबा–मुमाको तर्फबाट छोरा र छोरीबीच यस किसिमको फरक लगाव र दृष्टिमा उसलाई ज्यादै अचम्म लाग्छ ।दुःख लाग्छ ।
एक दिन उनी बुबा–मुमाको कोठामा थिइन् । मोटरकारको मूल्य ज्यादै बढेको कुरा चल्यो । कुरैकुरामा हामीले उहीँ बेला कार किनेको कति राम्रो भयो, हैन बुबा ? उसले भनिन् । तैले कार किनेको कुरा सम्झाउन आएकी ? मलाई, तेरो कार लैजा! बुबाले आँखा रातो–रातो पारी भन्नुभएको कुरा सम्झँदा आज पनि उसलाई रिँगटा लाग्छ । समयमा तिमीले सघायौ । तिमीले गरी हामीलाई सुविधा भयो । कुरा ठीक हो भन्नुको सट्टा यसरी रिस पोख्न परेको किन हो ? उसलाई थाहा छैन । बोल्यो कि पोल्यो । बोल्यो कि ? पोल्यो भन्ने जस्तो । केही कुरा बोल्न हुँदैन । कुनै राय, विचार, सरसल्लाह दिन हुँदैन । बोल्यो कि ? उल्टो अर्थ लागिहाल्ने । कोपभाजन भइहाल्छ ।
मेरो बिहे हुनुअघि त बुबा यस्तो हुनुहुन्नथ्यो । सबै कुरा मसितै सरसल्लाह गरी नै गर्नुहुन्थ्यो । मेरो सल्लाह, सुझावमा रमाउनुहुन्थ्यो । मेरो बुद्धि–विवेकको तारिफ गर्नुहुन्थ्यो । रमाउनुहुन्थ्यो । सबै पुराना कुरा ऊ सम्झिँदै जान्छिन् । बिहे हुनुअघि उसले सुनेकी थिइ्न्— आजको युगमा छोराको सम्बन्ध बढी ससुरालीसित हुन्छ । ससुरालीतिरबाट छोरी–ज्वाइँको बढी देखभाल हुन्छ । लेनदेन हुन्छ । ज्वाइँको ससुराली नै गोप्य सुनाउने र सुन्ने ठाउँ हुन्छ । सुनेकी मात्र होइन, कतिपय परिवारमा देखेकी पनि हो । यो कुरा उसको जीवनमा भने ठीक उल्टो घुमेको छ । यस किसिमको कुनै सम्बन्ध उसको श्रीमानको भने छैन । उसको पनि छैन । सायद यसको कारण यो पनि हुन सक्छ, उनका पति उनकी बुबा–मुमाले खोजी, मन पराएर छानेका ज्वाइँ होइनन्, बरु उनले आफैँ मायाप्रीति गरी रोजेका जीवनसाथी हुन् ।
ऊ नर र नारीको अधिकारमा भागबण्डा गर्ने नारी होइनन् । त्यस्तै ऊ मातापिता, परिवार, समाज वा मुलुकको सेवा गर्ने काममा पुरुषको तुलनामा नारीको योग्यता, दक्षता, क्षमता वा काम, कर्तव्य र अधिकार कम हुन्छ भन्ने विचार र धारणा राख्ने नारी पनि होइनन् । यसैले माइतीको, माइती परिवारको आर्थिक अवस्थामा टेवा दिनुपर्ने ठाउँमा टेवा दिने सत्कार्यमा विवाहित नारीले हात बढाउन नहुने वा आफूलाई आवश्यक पर्दा माइतीमा गई हात पसार्न नहुने रुढीवादी नारी पनि होइनन् । तर पनि जीवनमा आफूले भोगेकी र अनुभव गरेकी कुराले उनलाई नेपाली समाज र संस्कारमा छोराले भन्दा बढी गरेको छोरीको सेवा प्रशंसा भन्दा विस्मृतियोग्य विषय बन्न जाने धारणा राख्छिन् ।
आज उसलाई लाग्न थालेको छ— आजसम्मको नेपाली समाजमा छोराको ठाउँमा छोरी रहने वातावरण अझै बनिसकेको छैन । उसलाई लाग्छ— छोराको जस्तै छोरीको प्रगति वा सेवामा पनि रमाउने समाज सृजना हुन अझ धेरै समय लाग्छ । ऊ आज सोच्न बाध्य छिन् । माइतीघर माइती नै हुन्छ । उसको हुँदैन । आज उसलाई भन्न कर छ । माइती परिवार माइती परिवार नै हुन्छ । उसको परिवार हुँदैन । आज उसलाई बुझ्न कर छ । विचार विचारै नै हुन्छ । व्यवहार व्यवहार नै हुन्छ । समाजमा चलिआएको व्यवहार, संस्कार तुरुन्तै बदलिँदैन ।उसलाई लाग्छ— नफरत, रिस, द्वेष, कृतघ्नता कहीँ पनि उम्रिन सक्छ । आमा–बाबुको छोरा–छोरीमाथि, छोरा–छोरीको आमा–बाबुमाथि; दाजुभाइ, दिदीबहिनीको दाजुभाइ, दिदीबहिनीमाथि । प्रचलन नभएको उसको भक्ति र सेवामा पनि शङ्का–उपशङ्का उत्पत्ति भएको हुनसक्छ । एक न एक दिन यसले केही न केही माग्न सक्छ भन्ने डर हुनसक्छ । सम्पत्ति ऊबाट लुकाउनुपर्ने, ढाँट्नुपर्ने, उसलाई आफूबाट टाढा राख्नुपर्ने कतिपय कारण हुनसक्छ । यो समाजको विकृति पनि हुनसक्छ । मनुष्य जीवनमा यस्तो भइरहने यो जीवन पद्धति नै हुनसक्छ । अथवा यो केही पनि होइन, आफ्नै दृष्टिदोष अर्थात् हेराइ र बुझाइको दोष मात्र पनि हुनसक्छ । यसरीनै बेलाबखत उ आफनो जीवन उल्टाउँदै पल्टाउँदै समय बिताउछिन् ।
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा असंख्य लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।


