
बन जङ्गल जस्तै नदीनाला, पोखरी, ताल, झर्ना, समुद्र आदि पनि मनुष्यको लागि उतिकै आनन्ददायी, मनमोहक हुन्छ । हाम्रो देशमा समुद्र नभएपनि हाम्रा पनि ठूला साना नदीहरू छन् । काठमाडौं उपत्यकामा ठूला नदीहरू नभएपनि यहाँ भएका हनुमन्ते, खसाङखुसुङ, मनहरा, बागमती, बिष्णुमती आदि नदीहरूले यस उपत्यकालाई कम मनमोहक र आनन्ददायी बनाएको छैन । जन्मदेखि मरणसम्म हामीले गर्ने रीतिरिवाज, धर्मकर्म, धार्मिक संस्कारका हाम्रा मुख्य मुख्य मठमन्दिर, धार्मिक स्थलहरू यिनै नदीका किनारहरूमा रहेका छन् । नदी तिरमा परापूर्व काल देखि रहेका हाम्रा घाट,मन्दिर, धर्मशाला, पाटीपौवाले हाम्रो मुलुकमा रहेको नदीसभ्यता उजागर गरिरहेका छन् ।
म भक्तपुर निबासी जीवनको बदलिदो क्रममा त्रिभुवन विश्वविद्यालयको सेवामा रहन गएको र यसैक्रममा चोभार सुन्दरिघाटस्थित त्रि.बि प्राध्यापक आबास गृहमा हाम्रो आवास हुन गएकोले २०२७ साल देखि मेरो बसोबास बागमती तिरमा हुन गयो । २०२६ सालमा बल्खु बागमती तिरमा मैले घडेरीको लागि जग्गा किनेको र सो जग्गामा २०३०÷२०३१ तिर घर बनाई प्राध्यापक आबास गृहबाट त्यहाँ सरेपपछि स्थायी रूपमा म बागमती तिरको रैथाने हुन गएँ । यसैले यो नदीको प्रकृति, स्वभाव, ब्यवहार मैले अति नजीकवाट अवलोकन गरेको छु । यो नदीनै होइन कि जस्तो अति कम पानी रहने बग्ने बेलाको सुक्खा यामको वागमती, एक नदीको किनारबाट अर्को नदीको किनार सम्म टम्म पानी भर्ने बर्षायामको बागमती र अति वर्षा र बाढी बेलाको भयङ्कर रौद्र रूपको बागमती मैले बराबर देखेको छु । तर यसले आफ्नो सीमाना कहिल्यै पहिले नाघेन । मेरो ५४ वर्षको बसाइमा २०८१ अगाडि मेरो घरबारीमा यसको बाढी कहिल्यै पसेन ।
२०३१ तिर म बल्खुमा सरेको बेला सम्म पनि बागमती निर्मल र पवित्र भएको र बल्खु गाँउका बासीहरू बागमती र बल्खुकै पानी खान्थे, पिउथे भन्दा आज धेरैलाई जरूर बिश्वास गर्न गाह्रो हुन्छ । बल्खु चोकको आसपास कसैको कुवा, इनार थिएन । त्यहाँ कलधारो थिएन । त्यो ठाउँमा इनार बनाउने र राख्नेमा हामी पहिलो भएका थियौं ।
सुन्दरीघाटको त नामनै सुन्दरी भएकोले कुनैबेला यो कति सुन्दरी होली भनी अनुमान गर्न र कल्पना गर्न त सकिन्छ नै । साधारणतः चारैतिर कुनै बाक्लो घर घडेरी नभएको कीर्तिपुर, चोभार जाने १५–१६ फिटको साघुरो तर मोटर जाने मुल सडकमा पर्ने दायाँ बायाँ ४÷५ घर मात्र भएको हानाङ्गुलु नामको हालको बल्खु चोक प्राकृतिक सौन्दर्यतामा सुन्दरीघाट भन्दा कम सुन्दर थिएन । मुल सड़कको पश्चिम बल्खु खोला र पूर्व बागमतीको फराकिलो नदी रहेको बल्खु र बागमतीको यो संगमस्थल सुन्दर, शान्त र मनमोहक एक आनन्दायी ठाँउ र गाँउ थियो । धुवाँ, धुलो, आवाज, कोलाहलले ग्रसित आजको चक्रपथको दुषित बातावरण यहाँ थिएन । हामी यो सुन्दर, शान्त, रमणीय स्थलको स्थायी बासिन्दा थियौं । यस्तो रमणीय स्थलमा घरबारी हुन गएकोमा त्रिभुवन विश्वविद्यालयकी प्रथम महिला प्राध्यापक र प्रथम प्रमुख लाइब्रेरियन मेरी श्रीमती शान्ति मिश्र र म अति भाग्यशाली भएको हामी सम्झिन्थ्यौं । हामी कहाँ आउने परिवार, नातेदार, इष्टमित्र, साथीभाइ सवै त्यस्तै मन्त्रमुग्ध हुन्थे । त्यस्तै हामीलाई भाग्यशाली सम्झिन्थें । त्यस्तै काम विशेषले आउने कामदारहरूले पनि बल्खु र बागमतीको सुन्दरता देखी, हेरी नदीलाई नारायण भगवान् सम्झी साक्षात भगवान नारायणको दर्शन पाउने ठाउँ रहेछ, क्या आनन्दको ठाउँ भन्थे । रमाउथे । नदीको दायाँ बायाँ नदीको डीलमा रहेका सदा हरिया हेर्दै रमाइलो बैँसका रूखहरूमा अंग्रेजीमा किङफिसर भनिने सुन्दर बहुरङ्गी चरा, बकुल्ला,सारस्, चिल, गिद्ध आदि थरी थरीका चराहरू बस्थे । यस्तो बागमती क्षेत्रको रमाइलो दिन बातावरण आज सपना हो कि विपना जस्तो भएको छ ।
यै सन्दर्भमा म एउटा रमाइलो कुरा यहॉ राख्न चाहन्छु । उवेला अर्थात २०३१ तिर काठमाडौमा अहिले जस्तो धेरै बिदेशीहरू थिएनन् । कसैलाई बहालको लागि घर आबश्यक परे खोजी गरिदिने ब्यक्ति वा त्यस्तो काम गर्ने कार्यालय, संस्था पनि धेरै थिएनन् । बहालको लागि घर खोज्ने कुनै बिदेशीले आफूले बहालको घर चाहेको कुराको बिज्ञापन अग्रेजी अखवार द राइजिङ नेपालमा दियो । चाहेको घरको बिवरणमा– सानो बङ्गला, खुल्ला ठाउँमा अवस्थित, बगैंचा र रूख बिरूवा भएको, घरबाट हिमालको राम्रो दृश्य देखिने लेखिएको थियो । सम्पर्कमा टेलिफोन नम्बर र मान्छेको नाम नभई पोष्ट बक्समात्र राखिएको थियो । उनले चाहेको घर र हाम्रो घर पुरापुर मिलेको जस्तो लागेकोले हामीले सोही कुरा र हाम्रो टेलिफोन नम्बर समेत लेखी पत्र पोष्टबक्स ठेगानामा नै पठायौं । उनले फोन गरेपपछि बागमती पुलमा भेटी घर देखाउने समय मिलायौ । पुलमा भेटी पुल नजिकैको घर बगैचा अनि घरैको पूर्व वागमती र मेरो घर बिचको अलि धानखेत र निर्मल बागमती र घरको उतर मनमुग्ध हिमाल देख्ने बितिक्कै उ घर भाडामा लिन तयार भए । सोही घर बगैचामा रहेको हाम्रो अर्को २४ – १९ फिटको निर्मााणाधिन सानो कुटी छिटो पुरा गरी सर्नको लागि हामीलाई केही अग्रीम बहाल रकम पनि दिए । उ त्यो घरमा वसे । यो हुनुमा बल्खु र बागमती खोला नदीको सौन्दर्यता र आकर्षणको करिस्मा थियो ।
केही दशक यता प्रजातन्त्रको नाममा मुलुकमा चलेको दलतन्त्र, नेतातन्त्र, मनपरीतन्त्र, आफन्ततन्त्र र बेइमानी, बदमासी, झूठ र ठगीको नामनै राजनीति भन्ने जस्तो गरी चलाइएको कुराजनैतिक नीति र ब्यवस्थाले गर्दा देश अधोगतिमा धकेलिदै गयो । यसैको फलस्वरूप काठमाडौं उपत्यकामा रहेका खोलानाला नदीहरूको पनि बिनाश हुदै गयो । ठाउँठाउँमा अब्यवस्थित बसोबास्, अब्यबस्थित बिना योजना जताततै आफुखुशी सड़क विस्तारको फलस्वरूप जताततै शहरको चर्पी, रछान् र नालको ढल सोझै खोला नदीमा मिसाउने काम भयो । त्यो भन्दापनि बढी काठमाडौं नगरपालिकाकै योजना र बहादुरीमा नदीतिरको बगरमा काठमाडौंको फोहर थुपार्ने र पुर्ने काम भयो । त्यहीँ फोहरमाथि सडक निर्माण गर्ने काममा बहादुरी देखाउने काम भयो । यसरी अतिक्रमित र ढलमती बनाएको नदी तिरको जग्गा राजनैतिक दल, नेताहरूसंग घनिष्ट सम्पर्क सम्बन्ध भएका धेरै छट्टु हुकुमबासीहरू साथसाथै कोही गाउँठाउँबाट आएका सुकुमबासी नामका टाठाबाठा महानुभाबहरूले कब्जा गरे । देशको सरकारले यसमा आँखा बन्द गरे । राजधानीमै पनि देशको कानून यहाँ लागेन । सरकारी जमीन् एकदिन छोडनु पर्छ भन्ने डर भर मनमा राख्नुको सट्टा मनै यसको सर्बेसर्बा मालिक भए भन्ने मद्मत्तले ढलानघर पसल समेत निर्माण गरी बस्न थाले । देशको प्रधानमन्त्री भएका र भइसकेका नेता भनाउदाहरूले समेत यो सोरÞ्हैआना गैरकानूनी निन्दनीय काममा आफनो दलगत् स्वार्थको लागि साथ दिन थाले । मेरो देशको सुन्दर रमणीय नदीखोला यसरी अति दुर्गन्धको ढलमती भएकोले यसको दायाँबायाँको सुन्दर, रमणीय बस्ती मान्छे बस्न गाह्रो दुर्गन्धीको बस्ती हुन गयो । यहाँ आउँदा बिदेशीहरूले नाक बन्द गर्ने र मुख बिगार्ने हुन गयो । यसरी अतिक्रमित र दुर्गन्धी बागमतीको सम्पूर्ण क्षेत्रफलमा एक भाग सडक, एक भाग सुकुम्वासी बस्ती हुनजादा नदी बहावतको लागि एक भागमात्र वॉकी रहन गयो । यसैको फलस्वरूप नदीतिरको बस्ती बर्षौनी बाढीको चपेटामा परयो । यसैको परिणाम स्वरूप २०८१ असोज १२ को बाढी मेरो बारीमा मात्र होइन, घर भित्र पस्यो । कारण अति बर्षा भन्दा बागमतीको लागि बग्ने ठाँउ भएन । यसैको परिणाम केही दशक अघि स्वदेशी बिदेशी सबैको आकर्षणको केन्द्र मेरो बल्खु चोकको एरियामा कोही पनि बिदेशीले आँखासम्म नलगाउने स्थिति हुन गयो अर्थात मान्छेले बस्न मन पराउने ठाँउ हुन गयो ।
यस सन्दर्भमा खोलातिरबाट हुकुमबासी, सुकुमबासी हटाई काठमाडौं उपत्यकामा नदी सभ्यता कायम गर्ने रास्वपा र बालेन सरकारको कदम एक प्रशंसनीय कदम मान्नु पर्दछ । यस प्रशंसनीय काममा राज्य र सरकारको हक, अधिकार र कर्तब्यको कुरा नगरी अझै आफनो गलत स्वार्थको लागि सुकुम्बासीको अधिकारको गलत ब्याख्या र दुहाई दिई जनता भड्काउन खोज्ने दल र यसका नेताहरूलाई राष्ट्रप्रेमी जनताले सदाको लागि बहिस्कार गर्न पर्दछ । यसको साथै नेपाल अधिराज्यभर कही जग्गा जमीन घरबारी नभई जीबिकोपार्जनको लागि बाध्यताबस् नदीतिरमा बसी हाल उठिबास भएका बास्तबिक सुकुम्बासीको भने बिना बिलम्ब सरकारले बसोवासको ब्यवस्था भने गर्नै पर्दछ । यो सरकारको जिम्मेवारी मात्र होइन, कर्तब्यनै भन्नु पर्दछ । यो सरकार आफैले यसको कबूल पनि गरेकै छ ।
तर सुकुम्वासीको नाममा काठमाडौं वा कुनै शहरमा आई बसोबास गर्ने जतिलाई त्यही वसोवास गराउने हुन गयो भने गाउँबाट शहर आउने र यस्तै गरी बस्ने स्थिति भविष्यमा पनि जरूर हुन जान्छ । मान्छेमा यो प्रवृति नहोस् भन्ना खातिर बसोबासको लागि जग्गा जमीन दिदा पनि जुन ब्यक्ति जुन जिल्लाबाट आएका हुन्, भएसम्म उसलाई सोही ठाउँको जग्गा जमीन दिने व्यवस्था गर्नु उचित हुन्छ । साथै आफ्नो गाउँठाउँ वा अन्यत्र रहेको घरजग्गा कुनै किसिमले लुकाई, छिपाई, ढाँटी, झुठ्ठा बोली कसैले नक्कली सुकुम्वासी बनी सुकुम्वासी सुविधा लिएको कुरा भविष्यमा प्रमाणित हुन आएमा त्यस्ताको आपनो पहिले भएको घर जमीन समेत खोसी सुविधा लिएको घर जमीन फर्काइलिने कडा नियम कानून हुनु र सम्बन्धित ब्यक्तिलाई यो कुरा अहिलेनै अवगत गराई कागजातमा सही गराइराख्न पनि जरूरी छ । यसो हुनसके सायद छल्ने, ढाँटने समस्या कम हुन सक्छ । अन्यथा फेरिपनि नक्कली सुकुम्बासीकै हातमा सुकुम्बासी सुविधा पर्न सक्छ । कुलेश्वर आबास गृह र अन्य सरकारी आवास् गृह यस्तै गरी ढाँटी आफनो बाबु बाजेको नामको आफ्नो हक अधिकारको घरबारी लुकाई ढाँटी घरबारी सुबिधा भोग गर्ने काठमाडौं उपत्यकाकै कर्मचारी अधिकृतहरू समेत रहेको कुरा देख्ने सुन्ने र थाहा पाउनेहरू अझै जीवित छन् । यसैले यसतर्फ पनि देशको सरकार सचेत रहन जरूरी छ । अझै पनि यो महान काममा वाधा अड्चन् विरोध गर्ने मुलुकको बिकास विरोधी ,जन कल्पाण. बिरोधी भडूवा दल र नेताहरूसंग लड्दै भिड्दै पनि वर्तमान सरकारले उपत्यकाको नदी सभ्यता कायम गर्ने कुरामा अव शङ्का छैन । यो महान प्रशांसनीय कामको लागि राष्ट्रप्रेमी नेपाली जनताले वर्तमान सरकारप्रति कृतज्ञता प्रकट गर्नै पर्दछ ।
narayanshanti70@gmail.com
लेखक परिचयः नेपाली र अङ्ग्रेजी भाषाका केही पुस्तक तथा असंख्य लेखहरूका एक गैर–दलीय लेखक, त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयका पूर्व प्रमुख, तथा मध्य–असी दशक पार गरेका एक ज्येष्ठ नागरिक ।


