Advertisement Banner
Advertisement Banner

२७ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कानुनको दुरूपयोग र प्रजातन्त्रको अवमूल्यन

०९ मंगलबार , असार २०८३२ महिना अगाडि

कानुनको दुरूपयोग र प्रजातन्त्रको अवमूल्यन

स्वामी, ज्ञानी, प्रबुद्ध भन्छन्– हिन्दुधर्म, क्रिस्चियन् धर्म, बौद्ध धर्म आदि जुनसुकै धर्म, संप्रदायको भएपनि शब्दको नाम मात्रले धर्मको अर्थ हुँदैन । धर्मले ब्याख्या गरेको उपदेश ब्यक्तिले धारण गरेपछि मात्र धर्म हुन्छ । स्वभाव, ब्यवहार, आचरण सही रूपमा धारण गर्नु मात्र धर्म हो । अन्यथा यो नामको हुन्छ, तर कामको हुँदैन।त्यस्तै प्रजातन्त्र भन्ने कुरा पनि शब्दको नाम मात्र जरूर प्रजातन्त्र होइन । स्वतन्त्रता, न्याय र समानताको आचरण विना शब्दको नाम मात्रले प्रजातन्त्रले कुनै अर्थ राख्तैन । बिवेकपूर्ण, न्यायपूर्ण कानूनी राज विना कुनै पनि मुलुकमा व्यवस्थाको नाम प्रजातन्त्र राख्तैमा प्रजातन्त्र हुँदैन । यो निश्चय छ ।
यसैले सही प्रजातन्त्र कार्यान्वयनको लागि बनाइने कानून पनि बिबेकपूर्ण, न्यायपूर्ण र पक्षपातरहित हुनुपर्छ । कुनै ब्यक्ति, समुह वा समुदायलाई लक्षित गरी आफनो निहित स्वार्थपूर्तिको लागि बनाइने कानूनलाई प्रजातान्त्रिक कानून भन्न सकिन्न । यस्तो कानून बनाई स्वार्थपूर्ति गर्ने सरकारलाई प्रजातान्त्रिक सरकार पनि भन्न मिल्दैन । 
कुनै पनि राष्ट्रमा रहेको निजामती, प्रहरी वा सैनिक सेवा त्यो राष्ट्रको मेरूदण्ड हुन्छ । सरकारको सही निर्देशन पालना गर्नु कुनै पनि सेवाको राष्ट्र सेवकको कर्तब्य हुन्छ । त्यस्तै आफूलाई ठीक नलागेको कुरामा प्रश्न उठाउनु पनि राष्ट्र सेवकको प्रशंसनीय कर्तब्यनै हुन्छ । देशको जिम्मेवार इमान्दार प्रजातान्त्रिक सरकारले यस किसिमका राष्ट्रसेवकको प्रशंसा गर्न सक्नु पर्दछ । यस किसिमका राष्ट्रसेवकलाई प्रोत्साहन दिन सक्नुपर्छ । यसैलाई आज्ञा पालन नगरेको वा सहयोग नगरेको गलत अर्थ लगाई राष्ट्र सेवकहरूलाई अवकाश दिने दुराशयले निजामती, प्रहरी वा सेनाको नियम कानून संशोधन गर्नु कुनै पनि किसिमले प्रजातान्त्रिक र सही भन्न सकिन्न । राष्ट्र सेवकको सेवा अवधि वा अवकाशको उमेर अवधि कुनै ब्यक्ति, पदाधिकारी वा दलको स्वार्थपूर्ति गर्ने बिषय बस्तु हुँदै होइन । यो छिन छिनमा अदल बदल गर्ने विषय पनि जरूर होइन । यो मुलुकको इतिहास, संस्कार, संस्कृति, त्यहाँ रहेका जनताको आयु, आर्थिक अवस्था, स्वास्थ्य स्थिति सबैको आधारमा युग युगान्तर सम्मको लागि बनाइने बिषय वस्तु भन्ने कुरा सवै राष्ट्रप्रेमीहरूले बुझ्नु पर्ने देखिन्छ ।
यसैले नेपालको संविधान, २०४७ मुलुकले पाएपछि नेपाली कांग्रेस पार्टीको नेता गिरिजा प्रसाद कोइराला सरकारले निजामती सेवा ऐन नियम नियमावली आफनो स्वार्थ सिद्धिको लागि आफू खुशी प्रयोग गरी वा संशोधन गरी तात्कालीन बहुसंख्यक अनुभवी इमान्दार राष्ट्रसेवकहरूलाई शत्रुनै ठानी जालसाझी तरिकाले अवकाश 
दिए  । यो निन्दनीय अप्रजातान्त्रिक कामलाई कांग्रेसी चाणक्यहरूले महान कार्य भनी अझै वकालत गरिरहेका छन् । यही जुन १३ का दिन सुवास निरौला द्वारा लिखित मेरो लगानी.कम -https://merolagani.com/Services.aspx  मा प्रकाशित सहयोग नगर्ने कर्मचारी संयन्त्र ढाल्ने पुरानै अस्त्रः २०४८ को गिरिजाबाबुको नजिर पछ्याउँदै वर्तमान सरकार शीर्षकको एक लेखले यो कुरा स्पष्ट गर्छ ।
यै गलत भनाइलाई सही मानी विना राम्रो अध्ययन, अनुसन्धान वर्तमान सरकार  पनि कांग्रेसी सरकार जस्तै बनी उस्तै गलत काम गर्ने छैन भन्ने मैले आशा गरेको छु । यसको अर्थ सेवा अवधि वा अवकाश उमेर कहिल्यै पनि अदल बदल गर्न हुँदैन भन्ने भनाइ होइन । जे गर्ने हो मुलुकको दिगो हितको लागि राम्रो बिचार गरी कमसेकम ४।५ दशकसम्म अदल बदल गर्न नपर्ने गरी निजामती नियममा अवकाश उमेर र सेवा अवधि निर्धारण गर्न सक्नु पर्दछ । जो सरकार आयो उसले आफनो स्वार्थ सिद्धिको लागि मन नपर्ने केही पदाधिकारीलाई अवकाश दिने संकुचित विचार र धारणाले यस्तो काम हुँदै गयो भने यसले मुलुकलाई अधोगतिमा पुर्‍याउने निश्चित छ ।                          

narayanshanti70@gmail.com