पदम हमाल -
राजदूत लिलाम बढाबढ गर्ने पद हो कि होइन? देशका प्रतिनिधि हुनुपर्नेले नेता अथवा पार्टीका प्रतिनिधि बन्दा राष्ट्रलाई कति लाभ हुन्छ? कूटनीतिको क नजानेकाहरु राजदूत बन्न थाले भने देशको अन्तर्राष्ट्रिय व्यक्तित्व र क्षमताको क्षयीकरण हुन्छ कि विकास हुन्छ? यी महत्वपूर्ण विषयहरुमा ध्यान दिन ठूला दलका गजब नेताहरु अजव मान्छन् र आफ्नै सुरमा राजदूत नियुक्त गर्ने कर्मकाण्ड पूरा गर्दैछन्। फेरि १२ राजदूतको नियुक्तीको मौसम आएको छ र ठूला दलहरु भागबण्डामा राजदूत नियुक्त गर्दैछन्। त्यसमा पनि अनुभव, ज्ञान र कूटनीतिक सीप नजानेका नौसिखाहरुलाई। देशको हाल के होला?
नेपाली कांग्रेस र माओवादी केन्द्रभित्र राजदूत कसलाई बनाउने भन्ने सगबगाहट सुरु भइसकेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले छिटै राजदूतहरुको पदपूर्ति हुनेछ भनेपछि कांग्रेस सभापति देउवाले आफ्ना विशेष सहयोगी तथा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतमार्फत राजदूतको छनौट प्रक्रिया सुरु गराइसकेका छन्। यसपटक क्यारियर डिप्लोम्याट एकजना पनि भर्ति नगर्ने र सबै राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिने भएकाले राजदूत हुन खोज्नेहरु मोटो रकमसहितको गोप्य लिलाम बढाबढमा हिस्सेदारी लिन पहुँचमा पुग्न थालिसकेका छन्। राजदूत हुन बोलकबोल?
खसी बजारको खसी छानेजस्तो भयो राजदूत नियुक्ति पनि। देशको प्रतिनिधि नियुक्ती यति हलुका र व्यापारी चालले हुने भएपछि राष्ट्रको अन्तर्राष्ट्रिय सम्बन्ध र हैसियत बन्ने होइन, बिग्रने मेलोमात्र हो यो। बुझेका छन् नेताहरुले तर के गर्ने? परम्परा बसिसक्यो, सुधार्नुभन्दा यही विधि अपनाउनु बेस भनेर ठूला दलका नेताहरु पार्टी खर्चका नाममा व्यक्तिगत लाभ लिन लागिपरेका छन्।
राजदूत बन्ने घोडदौडमा अनेक व्यक्तिहरु लागे पनि विशेषतः राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष जगदीशचन्द्य्र पोखरेल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति नवीनप्रकाशजंग शाह, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराई, तत्कालीन राष्ट्रपतिका सल्लाहकार डा. हरि शर्मा, पूर्वसचिव कृष्ण ज्ञवाली, नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द र बालानन्द शर्मा, पूर्वराजदूत डा. शम्भुराम सिंखडा, पूर्वमहान्यायाधिवक्ता महादेव यादव, नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल, सुरक्षा मामिला जानकार डा. इन्द्य्र अधिकारी, गेजा शर्मा वाग्ले, वरिष्ठ पत्रकार वन्दना राणा र अच्युत वाग्ले चर्चाका विशेष नाम हुन्।
माओवादी केन्द्रबाट यसअघि सिफारिसमा परेकाहरू पदम सुन्दास, महेन्ल्रबहादुर सिंह, लक्की शेर्पा, युवनाथ लम्साल चर्चामा छन् भने केही अरु पनि आफ्नो प्रयास बढाइरहेका छन्। राष्ट्रिय अनुसनधान विभागका पूर्वअधिकारी देवीराम शर्माले राजदूत बन्नका लागि विशेष दौडधूप गरिरहेका छन्।
हुन त हाम्रो लोकतन्त्र भनेको ल्हारक्याल लामाजस्तो छ। दोहोरो नागरिकता लिए पनि हुने, वैंकको लकरमा गोली राखे पनि हुने, अनेक मुद्दामा मुछिए पनि हुने। पार्टीलाई दाम बुझाएपछि ऊ भन्दा योग्य अरु हुँदै नहुने। ल्हारक्यालले दाम बुझाए एमालेले मन्त्री बनायो, उनले दाम बुझाए प्रचण्डले सभासद र मन्त्री नै बनाउन सघाए। दाम बुझाएपछि स्रोत नखुलेको सम्पत्ति राख्दा पनि सफाइ पाए। यस्तो मुलुकमा योग्यताको कदर कसरी हुनसक्छ?