स्वयम्भुनाथ कार्की -
राजश्व असुली लक्षको नजिक र कुनैकुनै बेलामा त लक्षभन्दा ज्यादा पनि भएको छ। मृत्युको मुखमा पुगेको विमारीले आफ्नो उपचारमा लागेको खर्चमा सरकारबाट सहुलियतको कुरै छैन बरु थपमा स्वास्थ्य सेवा कर तिरेको छ। संविधानमा मौलिक हक भागमा धारा ३५ ले स्वास्थ्य सम्वन्धी हक दिएको छ तर उपचार गर्दा कर तिर्नु पर्दछ। धारा ३१मा शिक्षाको हक दिएको भनिएको छ तर पाठशालामा तिरेको शुल्कमा थप शिक्षा कर तिर्न नागरिक विवश छ। सम्पत्तिको हक भनिएको छ तर जीवनभर आधापेट खाएर बल्लबल्ल बनाएको घर नगरपालिका डोजर चलाएर भत्काउछन्।
जनताको निमित्त राजश्वबाट चुनदाम पनि खर्च गर्न लामो प्रकृया छ तर सांसदको सुविधा हरेक छ, छ महिनामा बढाएर रजाई गर्न कुनै रोकटोक छैन। किनभने डाडुपुन्यू हातमा लिएर बस्ने उनै हुन। जनताले सलाईनपानी चडाउदा पनि तिरेको करबाट लाखौ करोडौ उपचार खर्च आफ्ना नेताहरुलाई दिन्छ संसद। शिक्षा लिदा पेटकाटेर बुझाएको शिक्षाकरले नेता पुत्रपुत्री विदेश अध्ययन भ्रमणमा पठाउछन् सांसदहरु। के यी अझै जनताका प्रतिनिधि हुन त?
राजा महेन्द्रले कविता लेखे 'तिम्रै हो नागरिक हक, लेउ काँधमा काँधै गरी'। उच्चतम प्रजातन्त्रमा पुग्ने भनेको लक्ष यहि नै हो, नागरिकहरुले आफ्नो हकको प्रयोग आफैले गरुन। उनले आफ्नो कामले जनतालाई नेता र दलभन्दा ठूलो बनाएर देखाए। नागरिकको आफ्नो हक प्रयोगको निमित्त अधिकृत वारेसनामा लिने एकमात्र सर्वधिकार राख्ने दावीगर्ने दलहरुलाई प्रतिवन्ध भने लगाए। आफ्नो प्रत्यक्ष शासनका ११ बर्ष १ महिना १६ दिनको लेखाजोखा गर्ने हो भने जनताले आफ्नो प्रतिनिधि चुन्ने कर्तव्यबाट कहिले मुक्ति पाएन। त्यस्ता प्रतिनिधिहरुले जनताको नाममा जे पनि गर्ने छुट पनि पाएनन्।
जनआवाज र जनचासो भन्दा बाहिर गएर काम गर्न साँच्चै नै कठिन थियो। यहि कारण हो कि त्यो प्रणालीमा काम गरिसकेका पञ्च भनिने प्रतिनिधिहरु पञ्चायतको नाम सुन्न पनि रुचाउदैनन। दलको बलले बलियो हुन पाउने प्रणालीमा जनआवाज नसुनिएको गुनासोले आफुलाई कम पिरेको अनुभव गर्दछन्। दललाई नै प्रजातन्त्र मान्नेहरुले त त्यसलाई कालरात्री भन्नै पर्दछ र भन्छन्, किनभने त्यो प्रणालीमा आफ्नो नेताले दिनलाई रात वा रातलाई दिन भने पनि त्यसलाई जनताको विवेकमा छिराउन मेहेनत गर्ने कार्यकर्ताको उपस्थिति वर्जित थियो।
नेहरुले पहिलोचोटी राजा त्रिभुवनको मुखबाट नेपालीलाई दिलाई दिएको संविधानसभाले दुईखेप लगाएर भए पनि नेपाललाई धर्मनिरपेक्ष, संघीय गणतन्त्रमा डोर्याएको छ। पञ्चायती संविधानले दिएको मौलिकहकको लामो व्याख्या त भएको नै छ, साथमा सार्वभौम सत्ता संविधानमा व्यवस्था भए बमोजिम प्रयोग गर्ने शर्तमा जनतामा आएको छ। यस कुराको उल्लेख यहाँ प्रासंगिक हुन्छ वा हुन्न तर संविधानभरी यसको प्रयोगको व्यवस्था भने उल्लेख छैन। नागरिक आफ्नो हक प्रयोगको निमित्त अरुलाई नै अधिकृत वारेसनामा दिएर ढुक्कले बस्न स्वतन्त्र छन्।
प्रमुख प्रश्न नै अव यहि भएको छ, के जनताले यसरी आफ्नो हक, जिम्मेवारी ढुक्कसंग अरुलाई सुम्पेर बस्नु ठिक हो त? यसको उत्तर सबै किसिमका अगुवाबाट आउने गर्दछ 'हो, यो ठिक हो, ठिक मात्र होईन संसारभरी चलेको पद्धति हो। लोकतन्त्रको आत्मा हो, अधिकार जनताले दलहरु मार्फत प्रयोग गर्ने हो। भन्नको निमित्त भनिन्छ, नेतृत्व सर्वसाधारण जनताबाट नै जन्मेको हो। तर व्यवहारमा त्यस्तो देखा पर्दैन। गरिव किसानको कोखवाट जन्मेको भए पनि नेता आफै गरिव किसान हैन। अकल्पनिय, चमत्कारिक माध्यमले त्यो गरिव किसानको सन्तान सबै किसिमले सम्पन्न भईसकेको हुुन्छ।
विगतका केहि दशकदेखी यसरी नागरिकले आफ्नो अधिकार आफैले प्रयोग नगर्दा, आफ्नो भागको काम आफै नगर्दा धेरै गुमाएका छन्। गाउ वस्ती नै शुन्य पारेर पशुवत मेहेनत गर्न पराई मुलुकमा लर्को लाग्न वाध्य भएका छन। आफ्नो स्वावलम्वनका आधार नष्ट भै सकेको छ। विगतमा महिनौ बाहिरका सामान नआउदा पनि धान्न सकेको जीवन वर्तमानमा एक महिना पनि धान्न कठिन भएको छ। प्राप्तीको नाममा एक उज्वल भविष्यको सपना पाएका छन, आश्वासनका भकारी पाएका छन्। युगमा एकपल्ट आउने दिनले ल्याएको यो अवस्था पाएका छन्।
अनेकौ पटक मौका पाएका, मौका पाएर धोका दिएका, आफ्नो स्वार्थ्यपुर्ति गर्न सफल तर जनताको भलो गर्न असफलहरु वारंवार अनेकौ नाममा आउने र जनताले तिनैलाई पत्याउने क्रम जारी छ। हिजो गलती भो अब हुँदैन भन्ने, थेगो नै भएकाहरु बाहेक अरु विकल्प छैन भन्नेहरुको कुरो पत्याएर वस्न उपयुक्त छैन। यदि त्यसो गर्ने हो भने मुलुक छिटै मृत्यु कुर्ने स्थानमा परिणत हुनेछ। यस्तो स्थान जहाँ आफ्नो उत्पादक समय वाहिर खर्चेर रस निकालेको खोष्टा सरह भएकाहरु मात्र हुनेछन।
अव जनताले यी हाम्रा प्रतिनिधि हैनन भन्नै पर्ने भएको छ। यस काममा कोही नेतृत्व आउने छैन, केही ज्याला आउने छैन। जनताले आफै भित्रबाट नेतृत्व तैयार गर्नु पर्दछ, आफ्नै पेट काटेर आफैलाई ज्याला दिनु पर्दछ। आज केही गुमाएर भए पनि जनताले आफ्नो काम आफै गर्ने हो भने भोलीका दिन सुनौला हुनेछन। यो सुनौला दिन ल्याउन कोही देवदुत आउने छैन, कोही महामानव आउने छैन। वारंवार मौका पाउदा पनि त्यो दिन ल्याउन असफलहरुलाई फेरी मौका दिनुको कुनै अर्थ छैन। यो शक्ति, यो क्षमता जनता आफै भित्र छ। आवश्यकता केवल त्यसलाई चिनेर जगाउने मात्र हो।